रामेछाप- रामेछापको उत्तरी क्षत्रमा अवस्थित पर्यटकीय स्थल ताँबेडाँडाको पर्यटन प्रवर्द्धन गर्न ‘बुलेट बाइक यात्रा’ हुने भएको छ । सङ्घीय राजधानी काठमाण्डौबाट सुरु हुने बुलेट बाइक यात्रा बिपी राजमार्ग–रामेछापको सदरमुकाम मन्थली हुँदै उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको संगम स्थलमा रहेको पर्यटकीय स्थल ताँबेडाडामा पुग्ने छ । नयाँ वर्ष २०८१ सालको पहिलो दिन अर्थात् वैशाख १ गते झन्डै तीन दर्जन बुलेट बाइकमा ताँबे डाँडा पुग्ने यात्रुहरूको टोलीले ताँबेडाँडामा पर्यटकहरू भित्र्याउनलाई एउटा सकारात्मक सन्देश दिने बताइएको छ ।
२०८० साल चैत्र ३० गते काठमाण्डौको तीनकुनेबाट सुरु भएको बाइक यात्रा बिपी राजमार्ग, रामेछापको सदरमुकाम मन्थली हुँदै गोकुलगंगा गाउँपालिकाको वडा नं ३ रस्नालुमा पुगेर बास बस्ने र २०८१ साल वैशाख १ गते ताँबेडाँडा पुग्ने कार्य तालिका रहेको बाइक यात्रा टोलीका सदस्य मोहन बस्नेतले बताए । ‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ नेपाल बुलेट हाउसले आयोजना गर्न लागेको ‘बुलेट बाइक यात्रा’ को हाल तयारी भइरहेको बस्नेतले बताए ।
रामेछापका विभिन्न पर्यटकीय स्थलहरू मध्ये उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको संगस्थलमा रहेको ताँबेडाँडाको प्रचार प्रसार नहुँदा त्यस क्षेत्र ओझेलमा परेको र पर्यटकीय क्षत्रको राम्रो सम्भावना बोकेको ताँबे क्षत्रलाई थप चिनाउने उद्देश्यले ‘बुलेट बाइक यात्रा’ मार्फत प्रचार प्रसार गर्न लागिएको गोकुलगंगाका स्थानीय समेत रहेका मोहन बस्नेतले बताए । बस्नेतले ताँमेडाँडाबाट देखिने दृश्यको बारेमा बताउँदै भने– ‘शैलुङ, कालिन्चोक, खरिढुंगा, चरिकोट, दोलखा बजार, मैनापोखरी, जिरीको मनोरम दृृष्यसँगै गौरीशङ्कर, गणेश, जुगल, गौरिपर्वत, नुम्बुर, रोल्वालिङ हिमशृंखला, ग्याचुङ काङ, पुमोरी र अन्नपूर्ण हिमालको लर्कन समेत त्यस ठाउँबाट देखिने भएकाले नयाँ वर्षमा एउटा घुम्ने उपयुक्त ठाउँ ताँबेडाँडा रहेको छ । त्यसैले हामीले करिव ३ दर्जन बुलेट बाइकमा ७० जना भन्दा बढी पर्यटक पु¥याउने योजना बनाएका हौँ ।’
बुलेट बाइकमा ताँबेडाँडामा पुगेका यात्रुहरूले वैशाख १ गते ताँबेमा नै पिक्निक कार्यक्रमको समेत आयोजना गरेको बुलेट बाइक यात्रा टोलीले बताएको छ । हाल सम्म २० ओटा बाइक तयार भइसकेको र बाँकी बाइकहरूलाई पनि सहभागी गराउने गरी तयारी भइरहेको यात्रा टोलीका सदस्य मोहन बस्नेतको भनाई रहेको छ ।
ताँबेडाँडामा दिन बिताएर ‘बुलेट बाइक यात्रा’ को टोली दोलखाको जिरीमा हुने महोत्सवमा समेत सहभागी हुने कार्य तालिका रहेको बताइएको छ ।
पर्यटकीय क्षेत्रको राम्रो सम्भावना बोकेको ताँबेडाँडाको प्रचार प्रसारमा एउटा निजी क्षत्रले गर्न लागेको ‘बुलेट बाइक यात्रा’ ले थप सहयोग पुग्ने अपेक्षा रहेको उमाकुण्ड गाउँपालिका वडा नं ६ का स्थानीय हिरा श्रेष्ठले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्