

रामेछाप- लिखुतामाकोशी गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा २ सय बढीले सेवा लिएका छन् । लिखुतामाकोशी गाउँपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नं ६ खिम्तीमा संचालन भएको शिविरमा २ सय ७ जनाले सेवा लिएका हुन् । प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीमा बुधवार संचालन गरिएको शिविरमा विशेषज्ञ टोलीले आँखा जाँच गर्ने क्रममा १६ जनाको आँखाको शल्यक्रिया गर्नु पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । अन्य १ सय ९१ जनालाई आँखामा देखिएको विभिन्न समस्या समाधानको लागि चिकित्सकले परामर्श दिनुको साथै आवश्यक औषधि समेत उपलब्ध गराइएको अध्यक्ष महतले बताए ।



गाउँपालिकाका आम नागरिकको आँखा बचाउ अभियानमा गाउँपालिका लागेको बताउँदै अध्यक्ष महतले भने– ‘संसार देख्ने आँखा जस्तो संवेदनशील अङ्गलाई हामीले स्वस्थ नराख्ने हो भने पृथ्वीमा भएका कुनै बस्तुलाई हामीले देख्न सक्दैनौँ र हाम्रो जीवन चलाउन पनि समस्या हुन्छ । त्यस कारण पनि विभिन्न स्वास्थ्य संस्थाहरूको प्राविधिक सहयोगमा गाउँपालिकाले अघिल्लो वर्ष देखि नै निःशुल्क आँखा शिविर संचालन गरेर लिखुतामाकोशी गाउँपालिकावासीको आँखा बचाउने अभियानमा लागेका हौँ । यसलाई निरन्तरता दिन्छौँ । बाँकी रहेका वडाहरूमा पनि आवश्यकताको आधारमा थप शिविर संचालन गर्ने तयारीमा हामी लागेका छौँ । आफू निर्वाचित भएर आएपछि गाउँपालिकाको केन्द्रमा आँखा बचाउ अभियान अन्तरगत आँखा केन्द्र स्थापना गरेर अभियान सुरु गरिएको हो । यसमा सबैले साथ दिन जरुरी छ ।’
शिविरमा आएका बिरामी मध्ये शल्यक्रिया गर्नु पर्ने बिरामीको शल्यक्रिया कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको अध्यक्ष महतले बताए । गाउँपालिकाको केन्द्रमा रहेको आँखा केन्द्रमा आएर आफ्नो आँखाको परिक्षण गर्न खाँखाका बिरामीहरूलाई अध्यक्ष महतले आग्रह गरेका छन् ।
शिविरमा सहभागी भएर सेवा लिएका सेवाग्राहीले आँखाको अस्पताल सम्म जान नसक्ने आफूहरू जस्ता बिरामीको आँखाको जाँच गर्ने व्यवस्था आफ्नै गाउँमा मिलाउने गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यवाद दिँदै नदेख्ने आँखालाई देख्ने बनाउने र आँखा बचाउ अभियान राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

यस अघि पनि गाउँपालिकाले नै आयोजना गरेको निःशुल्क आँखा शिविरमा ९ जना बढीले सेवा लिएका थिए भने ४१ जनाको शल्यक्रिया गरिएको थियो ।




आफ्नो प्रतिकृया दिनुहोस्