रामेछाप– राइजिङ स्टार यूथ क्लबले दसैँ तिहारको अवसर पारेर जिल्ला खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । मन्थली नगरपालिका वडा नं ३ ठुली मदौमा रहेको राइजिङ स्टार यूथ क्लब र मन्थली नगरपालिका वडा नं ३ को संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
दसैँ, तिहार तथा छठको शुभकामना आदान प्रदानसँगै कार्तिक १ गते देखि ३ गते सम्म प्रतियोगिता आयोजना गरिने क्लबका उपाध्यक्ष सन्तोष खत्रीले बताए । उपाध्यक्ष खत्रीका अनुसार जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्ला भरीका खेलाडीहरू सहभागी हुन पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले ७१ हजार १ सय ११ रुपैयाँ, द्वितिय हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ, तृतीह हुने टिमले ३१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना हुने टिमले ११ हजार १ सय ११ रुपैयाँ पाउने छन् । प्रथम, द्वितिय र तृतीय हुने टिमलाई नगद पुरस्कारको साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै सान्त्वना हुने टिमलाई भने प्रमाण मात्रै प्रदान गरिने पनि आयोजकले बताएको छ ।
तीन दिन सम्म संचालन हुने खेल ‘लिग कम नकआउट’ प्रणाली अनुसार खेलाइने बताइएको छ । खेल राइजिङ स्टार यूथ क्लबको आफ्नै खेल मैदान मन्थली नगरपालिका–३ ठुलीमदौमा खेलाइने आयोजक क्लबले बताएको छ ।
खेलमा रामेछाप जिल्लाको खेलाडी मात्रै सहभागी हुने पाउने आयोजकले जनाएको छ । खेल अवधिभर खेलाडीहरूले खाना र बस्नको लागि आफैले व्यवस्था गर्नु पर्ने उपाध्यक्ष खत्रीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्