




रामेछाप- प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले पछिल्लो समय निर्माण क्षेत्रमा देखिएका समस्या समाधानको लागि सरकारसँग माग गरिरहेको बताएका छन् । रामेछाप जिल्ला निर्माण व्यवसायी संघको १४औँ वार्षिक साधारण सभामा बोल्दै प्रतिनिधि सभा सदस्य तामाङले सार्वजनिक खरिद सम्बद्ध ऐन तथा नियम संशोधन गर्दा देखिएका समस्या देखि देशमा आएको आर्थिक सङ्कटका कारण निर्माण क्षेत्रमा परेको असरलाई समाधान गर्न सरकारसँग माग गरिरहेको बताएका हुन् । देशमा आएको आर्थिक संकट र अन्य विविध समस्याका कारण निर्माण क्षेत्रमा देखिएको समस्या समाधान र तत्काल ठेक्का तोड्दा राज्यलाई ठुलो नोक्सानी हुन सक्ने कुराको जानकारी गराउँदै सम्बन्धित मन्त्रालय, अर्थमन्त्री, प्रधानमन्त्री, मुख्य सचिव, सभामुख लगायतलाई अनुरोध गरेको तामाङले बताए ।



उनले निर्माण व्यवसायीको वर्गीकरणको आधारमा छट्ट छुट्टै आधार तयार गरेर अगाडि बढ्ने गरी ऐन कानुन निर्माणको लागि संसदमा कुरा उठाउने तयारीमा रहेको बताए । दुई भन्दा बढी कम्पनीको जेभीमा हुने कामलाई एकै वर्गको कम्पनीलाई मात्रै जेभी गर्न मिल्ने गरी कुरा उठाउन आवश्यक रहेको धारणा राखे ।
रामेछाप काँग्रेसको सभापति समेत रहेका तामाङले जिल्लाका निर्माण व्यवसायीहरू पार्टीगत आस्थालाई छोडेर व्यवसायीको समस्यामा केन्द्रित भएर समाधान तर्फ लाग्नु पर्नेमा जोड दिए । उनले जिल्लाका निर्माण व्यवसायी एक भए मात्र निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने तर्क राखे ।
जिल्लाको विकास निर्माणमा आफू निर्वाचित भएपछि धेरै काम गरेको दाबी गर्दै प्रतिनिधि सभा सदस्य तामाङले आफ्नो कार्यकालमा नमुना काम गरेर देखाउने प्रतिबद्धता जनाउँदै जिल्लाका विभिन्न समस्या समाधानमा निर्माण व्यवसायी पनि एक हुनु पर्नेमा जोड दिए । उनले विगतको पाँच वर्षमा हुन नसकेका ठूला आयोजनाका कामहरू आफ्नो पालामा सुरु भएको दाबी गर्दै आगामी पाँच वर्षमा धेरै जसो कामहरू पूरा गर्ने प्रतिबद्धता जनाए ।
रामेछाप निर्माण व्यवसायी सङ्घका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षता तथा नेपाल निर्णाम व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रका पदाधिकारी, बागमती प्रदेशका अध्यक्ष, लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशब महत, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।






आफ्नो प्रतिकृया दिनुहोस्