रामेछाप– प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले मुलुकका लागि दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक थलोमा राजनीति हुनु नहुने बताएका छन् । रामेछाप काँग्रेस सभापति समेत रहेका तामाङले आइतबार रामेछाप नगरपालिका वडा नं २ स्थित देउरालीमा कालीदेवी माविको भवन उद्घाटनमा आफ्नो भनाई राख्ने क्रममा मुलुकका लागि दक्ष जनशक्ति उत्पादन गर्ने थलोमा राजनीति हुनु नहुने बताउँदै शिक्षकले अध्ययन अध्यापनको काममा ध्यान दिनु पर्ने बताएका हुन् ।
जिल्लामा जुनसुकै स्थानमा पुगेर पढाउनका लागि शिक्षक तयार हुनु पर्ने भन्दै तामाङले गुणस्तरीय शिक्षाका लागि शिक्षक घर पायक भन्दा पनि अन्यत्र लैजानु पर्ने तर सुविधा थप्नु पर्नेमा जोड दिए । उनले आधुनिक भवन सँगै शैक्षिक गुणस्तर कायम हुनुपर्नेमा जोड दिए ।
जिल्लाको विकासमा आफू निर्वाचित भएपछि धेरै बजेट तथा कार्यक्रम ल्याएको भन्दै सेलेघाट साँघुटार सडक चाँडो भन्दा चाँडो सक्नका लागि आफ्नो तर्फबाट निरन्तर दबाब भइरहेको बताए । उनले अन्य विकास निर्माणमा पनि स्थानीयवासीको माग भयो भने त्यसलाई पुरा गर्ने प्रतिबद्धता जनाए ।
त्यसै गरी बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले सामुदायिक विद्यालयमा लगातार विद्यार्थी घटिरहेकोमा चिन्ता व्यक्त गर्दै सरकारी लगानीको अनुपातमा शिक्षामा उपलब्धि हासिल हुन नसकेकोमा चिन्ता व्यक्त गरे । जिल्लाका केही सामुदायिक विद्यालयले राम्रो नतिजा ल्याएको तर अधिकांशको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताए ।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले नगर भित्र रहेका सामुदायिक विद्यालयको सुधारका लागि नगरले सकेको सहयोग गर्ने बताए । म विद्यालयको यो कुरा गरिदिनुस् भनेर आउनेलाई त्यसै फर्काउँदिन न्यौपानेले भने – ‘त्यसका लागि स्थानीय अभिभावक देखि विद्यालय प्रशासनले भन्नुपर्छ ।’ उनले लगनशील शिक्षक, चेतनशील अभिभावक र उत्सुक विद्यार्थी हुन सक्यो भने शिक्षामा गुणस्तर हुने र भोलीका दिनमा प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी तयार हुने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार बुढाथोकीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य हिमाल ढुङ्गेल, नेकपा माओवादी केन्द्रका हेमन्त प्रधान , नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य शान्ता सापकोटा, नेपाल पत्रकार महासङ्घ रामेछापका पूर्व अध्यक्ष टीकाप्रसाद भट्ट, रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद पण्डित, शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराई लगायतले भवन निर्माण सगैँ विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विद्यालयका प्रअ ऋषि खडकाले विद्यालयको प्रतिवेदन पेस गरेका थिए ।
नवनिर्मित भवनको उद्घाटन प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले ताम्र पत्र अनावरण गरी उद्घाटन गरेका हुन । २०७२ सालको विनाशकारी भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि एसियाली विकास बैङ्कको ऋण सहयोगमा उक्त विद्यालयको भवन पुनर्निर्माण भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत पुनर्निर्माण भएको भवनमा शौचालय, फर्निचर र घेरा बार लगायतको सुविधा उपलब्ध छ । भवन निर्माण र साबिकको पुरानो भवन प्रबलीकरण गर्न करिब ७ करोड ३५ लाख ८६ हजार खर्चमा खानी शर्मा जेभिले निर्माण गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्