रामेछाप– रामेछापको सुनापति गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ७ जना घाइते भएका छन् । सुनापति गाउँपालिका–२ रजमनटारबाट काठमाडौँ तर्फ गइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस सुनापति गाउँपालिकाको वडा नं ३ भलायखर्कमा बुधवार दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका हुन् । घाइते हुनेहरूमा सुनापति गाउँपालिका वडा नं २ का मच्याङ तामाङ र साँइली तामाङ, वडा नं ३ का पेम्बा तामाङ र शुक्रमाया वि.क., वडा नं ४ का धन बहादुर तामाङ, वडा नं ५ का मिन बहादुर थापामगर र जमुना विसुंखे रहेका छन् ।
घाइते सात मध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते भएका सबै जनालाई उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सडकमा गुडिरहेको यात्रुवाहक बस आफै अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो ।
दुर्घटनामा परेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । रजमनटारबाट काठमाडौँ गएको बसमा २० जना सवार रहेको प्रहरीले बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्