रामेछाप– नेपाली काँग्रेस रामेछापको १४ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व सहित जिल्ला कार्य समितिको छनौट गरेको छ । भदौ २३ गते देखि वडा अधिवेशनबाट सुरु भएको रामेछाप काँग्रेसको अधिवेशन पालिका र क्षेत्र हुँदै असोज १७ गते जिल्ला अधिवेशन भएपछि वडा तह देखि जिल्ला तह सम्ममा नयाँ नेतृत्व सहित नयाँ कार्य समिति बनेको छ ।
जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि शनिबार र आइतबार (असोज १६ र १७ गते) भएको चुनावको सबै मत परिणाम विहिबार राती आएपछि नेपाली काँग्रेस रामेछापको १४ औँ जिल्ला अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति बनेको छ । जिल्ला अधिवेशनबाट कार्यसमितिमा सभापति देखि सदस्य सम्मको पदमा धेरै जसो नयाँ अनुहार देखिएका छन् भने संघीयता आएपछि पहिलो पटक भएको अधिवेशनमा जिल्लाका सबै पालिकाबाट प्रतिनिधित्व हुने गरी जिल्ला कार्य समिति बनेको छ ।
जिल्ला अधिवेशनबाट सभापतिमा पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् । जिल्ला सभापति पदको लागि पुर्ण बहादुर तामाङ (कान्छाराम), लवश्री न्यौपाने र कृष्ण बहादुर महत बीच भएको निर्वाचनमा तामाङले ६ सय ६८ मत ल्याएर पहिलो भएका थिए । तीन प्रतिस्पर्धी मध्ये तामाङ पहिलो, न्यौपाने दोस्रो र महत तेस्रो भएपनि तामाङको पहिलो चरणमा ५१ प्रतिशत नपुगको कारण दोस्रो चरणको निर्वाचन हुने भएको थियो । तर, दोस्रो भएका सभापतिका उम्मेद्वार न्यौपानेले पार्टीभित्र सहमति र सहकार्य जोगाउनको लागि आफूले तामाङलाई समर्थन गर्ने बताएपछि पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ दोस्रो चरणको निर्वाचनमा निर्विरोध निर्वाचित भएका हुन् ।
पार्टीको उपसभापतिमा नवराज थोकर र लेख बहादुर कार्की निर्वाचित भएका छन् । उपसभापतिका ६ उम्मेद्वार मध्ये थोकरले सबै भन्दा बढी ५ सय ५७ मत ल्याएर निर्वाचित भएका हुन भने कार्कीले ५ सय ५० मत ल्याएर निर्वाचित भएका हुन् । थोकर यस अघि जिल्ला कार्यसमिति सदस्य थिए भने कार्की जिल्ला कार्यसमितिको सचिव थिए ।
त्यस्तै सचिवमा विनोद कार्की र दीपक खड्का निर्वाचित भएका छन् । सचिवका चार प्रतिस्पर्धी मध्ये कार्कीले सबै भन्दा बढी ६ सय ८८ मत ल्याएर निर्वाचित भएका हुन भने खड्काले ६ सय ४९ मत ल्याएर निर्वाचित भएका हुन् । सचिवमा निर्वाचित कार्की यस अघि रामेछाप प्रदेश सभा ‘ख’ का सभापति रहेका थिए भने खड्का पुर्व जिल्ला कार्यसमिति सदस्य रहेका थिए ।
सहसचिवमा कमल योञ्जन र ध्रुव प्रसाद चौलागाई निर्वाचित भएका छन् । सहसचिवका पाँच प्रतिस्पर्धी मध्ये योञ्जनले सबै भन्दा बढी ६ सय ३३ मत ल्याएर पहिलो र चौलागाईले ५ सय ९९ मत ल्याएर निर्वाचित भएका हुन् । सहसचिवामा निर्वाचित योञ्जन यस अघि आमन्त्रित जिल्ला कार्यसमिति सदस्य रहेका थिए भने चौलागाई नेपाल विद्यार्थी संघ रामेछापको पुर्व सभापति हुन् ।
सदस्यहरुमा मन्थली नगरपालिकाबाट सुमन्त कुमार कार्की, दिनेश कुमार खड्का र मन्दिरा घिमिरे निर्वाचित भएका छन् भने रामेछाप नगरपालिकाबाट गुञ्ज बहादुर कार्की, ढाकल बहादुर थापा र विमला कार्की निर्वाचित भएका छन् ।
त्यस्तै दोरम्बा गाउँपालिकाबाट लब बहादुर थापामगर र अन्जु रजान, सुनापति गाउँपालिकाबाट विकेश तामाङ (लामा) र सम्झना घिसिङ, लिखुतामाकोशी गाउँपालिकाबाट कमल प्रकाश सुनुवार र सुशिला बुढाथोकी, खाँडादेवी गाउँपालिकाबाट कमल कार्की र गोमा कार्की, गोकुलगंगा गाउँपालिकाबाट सिताराम कार्की र कल्पना (खड्का) कार्की, उमाकुण्ड गाउँपालिकाबाट शिव बहादुर बस्नेत र रितादेवी खड्का निर्वाचित भएका छन् ।
खस आर्य तर्फको महिला सदस्यमा सावित्रा के.सी. र सरस्वती घिमिरे निर्वाचित भएका छन् भने पुरुष सदस्य तर्फ हिमाल ढुंगेल र नवराज घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी जनजाति खुल्ला सदस्य तर्फ दोर्जे लामा, हस्त बहादुर मोक्तान, केशर बहादुर मगर र घन नारायण श्रेष्ठ (घनश्याम) निर्वाचित भएका छन् भने महिला सदस्य तर्फ सुनिता मोक्तान, यसदो श्रेष्ठ र डोमा शेर्पा निर्वाचित भएका छन् । दलित सदस्यमा संजिव वि.क. निर्वाचित भएका छन् । अल्पसंख्यक वा अपांगता अन्तरगतको सदस्यमा होम बहादुर माझी र मधेसी तर्फको सदस्यमा राम विलास महतो यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र ३२ जिल्ला कार्यसमिति सदस्य पदको लागि भएको निर्वाचनमा सभापति पदमा ३ जना, उपसभापति पदमा ६ जना, सचिव पदमा ४ जना, सहसचिव पदमा ५ जना र सदस्य पदमा ६२ जना गरी ८० जनाले उम्मेद्वारी दिएका थिए । १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले अबको पाँच वर्ष नेपाली काँग्रेस रामेछापको नेतृत्व गर्ने छ ।
निर्वाचित नयाँ कार्य समिति
आफ्नो प्रतिकृया दिनुहोस्