



रामेछाप– अविरल वर्षका कारण घर पुरिएर विस्तापित भएका रामेछाप नगरपालिका वड नं १ गोठगाउँका दुई घरपरिवालाई राहत सहयोग गरिएको छ । मंगलबार राती घरमाथीबाट खसेको पहिरोले घर पुरिएर विस्तापित हुन पुगेका गोठगाउँका भिम प्रसाद सापकोटा र ददिराम सापकोटाको परिवारलाई नेपाली काँग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले खाद्यान्न सहितको राहत सहयोग गरेका हुन् ।




सापकोटा परिवार बस्दै आएको घर पहिरोले पुरिदा घरभित्र भएको अन्नपात देखि कपडा समेत पुरिएको हुँदा उनिहरुलाई तत्काल बस्न र खानाको लागि समेत समस्या भएपछि सचिव कार्कीले काँग्रेस नेता केशव महत, तरुण दलका उपाध्यक्ष बासुदेव फुयाल र आफू सहितको व्यक्तिगत सहयोगमा विस्थापित दुई घरपरिवारका लागि ८ बोरा चामल, ४ लिटर तेल, ४ केजी चिनी, दुई केजी चियापती, साबुन लागयतको सामाग्री सहयोग गरेका छन् । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रामेछापले पहिरो पीडित परिवारका लागि पाल, भाँडा, कम्बल, कपडा, बाल्टिन लगायतका सामाग्री सहयोग गरेको छ । गोठगाउँकै स्थानीय समेत रहेका कार्कीले पीडित परिवारको लागि खानेपानीको लागि एक क्वाइल पाइप पनि उपलब्ध गराएका छन् ।
काँग्रेस सचिव कार्की र नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठले पीडितको घरमै पुगेर रहात सामाग्री दिएका हुन् ।

पहिरोले सापकोटा परिवार बस्दै आएको घर पूर्ण रुपमा क्षेति पु¥याउँदा उहाँहरुलाई बस्न र खानको समेत समस्या हुने भएकाले केही समयको लागि भएपनि सहयोग होस भनेर रहात सामाग्री दिएको सचिव कार्कीले बताए । अहिले पहिरो झरेको ठाउँबाट फेरि पहिरो झर्न सक्ने भएकाले पहिरो नियन्त्रणको लागि भूगर्भविद्हरुसँगको समन्वयमा समधानको उपाय खोज्नु पर्ने र त्यसको लागि आफू लागि पर्ने पनि सचिव कार्कीले बताएका छन् ।
रातको समयमा पहिरोले घर पुरेपछि भिम प्रसाद सापकोटाको परिवारले घरको झ्यालबाट हाम फालेर ज्यान जोगएका थिए । पहिरोको कारण एउटा घर पुर्ण रुपमा पुरिएको छ भने दुई घरमा पनि क्षेति पुगेको छ ।
पहिरो झरेको ठाउँमा चिरा–चिरा परेको र फेरि पनि पहिरो झर्न सक्ने भएकाले त्यहाँ रहेका अन्य १० देखि १५ घर अझै जोखिममा रहेको वडाध्यक्ष नर बहादुर थापा क्षेत्रीले बताए ।
गाउँ विकासका लागि बनाइएको सडककै कारण पहिरोले घर पुरेर आफ्नो उठिबास भएको बताउँदै पीडित भिम प्रसाद सापकोटाले पहिरो नियन्त्रणको लागि स्थानीय सरकारको चाँडो ध्यान जानु पर्ने बताए ।






आफ्नो प्रतिकृया दिनुहोस्