रामेछाप- नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र मार्फत वितरण भएको विद्युत दुई महिना देखि अवरुद्ध हुँदा स्थानीय उपभोक्ताहरु मारमा परेका छन् । दुई महिना अघि सम्म केही मात्रामा विद्युत अवरुद्ध हुने गरेको भएपनि दुई महिना देखि निरन्तर रुपमा दैनिक घन्टौ सम्म विद्युत अवरुद्ध हुँदा स्थानीय उपभोक्ताहरु मारमा परेका हुन् । प्राधिकरणको लावरवाहीले सामान्य समस्या तत्काल समधान नहुँदा विद्युत आउँने र जाने कारणले रामेछाप वितरण केन्द्रबाट सेवा लिने ३५ हजार ग्राहकहरु अध्याँरोमा मात्रै बस्नु परेको छैन् विद्युतबाट चल्ने उपकरणहरु समेत नष्ट भएर ठूलो आर्थिक भार भोग्नु परेको छ । ढल्केबर र लामोसाँघुबाट प्राविधिक समस्या भएर पटक–पटक विद्युत अवरुद्ध भएको जवाफ दिँदै आएको प्राधिकरणले यो समस्या कहिले समधान हुन्छ भन्ने कुरा आफ्ना ग्राहकहरुलाई भन्न सकेको छैन् । जसको कारण हजारौ ग्राहकहरु अझै लामो समय सम्म मारमा पर्ने देखिएको छ ।
हिउँदाको समयमा समेत नियमित रुपमा आउँने विद्युत पानीको मात्रा प्रयाप्त हुने जेठ र असार महिनामा अघोषित रुपमा लोडसेडिङ हुँदा रामेछाप वितरण केन्द्रबाट विद्युत सेवा लिने हजारौ ग्राहकहरु दुई महिना देखि अध्याँरोमा बस्न बाध्य भएका छन् । सानातिना समस्या देखि ठूला समस्या आउँदा पनि प्राधिकरणले चाँडै समधान नगर्दा दैनिक रुपमा अघोषित लोडसेडिङ भोग्नु परेको उपभोक्ताहरुले आरोप लगाउने गरेका छन् । दैनिक पटक–पटक विद्युत अवरुद्ध हुँदा अध्याँरोमा बस्नु पर्ने बाध्यतासँगै हजारौ पर्ने विद्युतिय उपकरणहरु जलेर नष्ट भइ आर्थिक भार समेत आफूहरुलाई पर्ने गरेको उपभोक्ताहरुको आरोप छ ।
प्राधिकरणको विगतको गल्तीले अहिले पनि समस्या
मिलीजुली विजुली पसल मन्थलीका प्रोपाइटर नारायण बस्नेतले भने– ‘लामो समय देखि नियमित बत्ती जाँदा हामीले धेरै दुःख पाएका छौँ । राती बत्ती जाँदा अध्याँरोमा बस्नु पर्ने, विद्युतबाट गर्नु पर्ने काम पनि नहुने समस्या भोग्नु परेको छ । त्यस्तै दिउँसो बत्ती जाँदा हामीले केही काम गर्न सकेका छैनौ । मैले मेरो पसलमा विक्रीका लागि राखेका विद्युतिय सामग्री विक्री गर्न समेत समस्या हुने गरेको छ । घण्टामै १०÷१५ पटक बत्ती आउने जाने गर्दा मैले पसलमा प्रयोग गरेका विद्युतिय उपकरण समेत जल्ने लगायतका समस्या आउने गरेका छन् । एक घण्टा बत्ती गएर दश मिनेट आउँदा विद्युतिय उपकरणहरुमा खासै समस्या नआउने भएपनि सेकेन्ड भरमा बत्ती आउने जाने हुँदा त्यसले विद्युतिय उपकरणहरुलाई सत प्रतिशत क्षति गर्छ । जसले हामी जस्ता व्यवसायी मात्रै हैन विद्युतिय उपकरण प्रयो गर्ने हजारौ ग्राहकहरुले समेत त्यसको क्षति भोग्नु परेको छ ।’
त्यस्तै नारायण बस्नेतले प्राधिकरणले ढल्केबर र चरिकोटलाई दोषी देखाएर मन्थली सबस्टेसनमा भएको समस्यालाई ढाकछोप गर्दै हजारौ ग्राहकलाई ढाँटेको आरोप लगाउँदै भने– ‘रामेछाप प्राधिकरणमा तत्कालिन कार्यालय प्रमुख चन्द्रविर खड्का हुँदा स्थानीय लोडसेडिङ गरेर पनि विद्युत आपुर्तीलाई सहज बनाउनु भएको थियो । आठौं विद्युत परियोजना मार्फत सम्पन्न मन्थलीको सबस्टेसनमा कमजोर र कमसल गुणस्तरको उपकरण जडना भएकाले मेरो कार्यकाल भरी सबस्टेसन चार्ज गर्न असमर्थ छु भनी अडान लिदाँ कार्यालय प्रमुख खड्कालाई रातारात सरुवा गरेर नन्दलाल सुवेदीलाई कार्यालय प्रमुख ल्याई सबस्टेसन चार्ज गरेर विद्युत सुचारु गरियो त्यसैको कारणले अहिले समस्या आएको हो । उपभोक्ताको हितमा काम गर्ने कार्यालय प्रमुख खड्काले आफ्नो अडानलाई नछोड्दा सरुवा भएको कुरालाई रामेछापका राजनीतिक दल, नागरिक समाज, पत्रकार, विद्युत उपभोक्ता, कर्मचारी लगायत कसैले पनि किन सरुवा गरिएको र सबस्टेशनमा के प्राविधिक कमजोरी थियो भनेर चासो नराखेकाले त्यतिबेला देखिकै समस्याले अहिले सम्म निरन्तरता पाएको हो । जसको कारण अहिले पनि मन्थली सबस्टेशनमा भएको उपकरणले नै ४० प्रतिशत काम नगरेको कारण अहिले समस्या आउने गरेको हो । त्यो समस्या समधान नहुँदा सम्म हामीले यो समस्या सधैंभरी भोग्नु पर्छ ।’
अस्पताललाई समस्या, विरामीलाई सास्ती
त्यस्तै अहिले विद्युत अवरुद्धकै कारण कोरोना लगायतका विभिन्न कारणले विरामी भएर अस्पताल पुगेका विरामी समेत मारमा परेका छन् । जिल्लामा संचालित अस्पतालहरुमा विद्युतबाट चल्ने उपकरण चलाउन नसक्दा विरामी मारमा पर्ने गएको एक मेडिकल संचालकले बताए । उनका अनुसार विद्युत नहुँदा चिसोमा राख्नु पर्ने औषधिहरु खेर जाने गरेको र विरामीलाई आवश्यक परेको बेला दिन सकिएको छैन् । त्यस्तै कोरोनाका लागि जिल्लामा ल्याइएको खोपलाई भण्डारण गर्न समेत समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी जिल्लामा विद्युत अवरुद्ध भएकै कारण कतिपय विरामीलाई उपचार गर्न समस्या आएपछि काठमाण्डौ लगायतका ठाउँमाहरुमा विरामी रेफर गर्नु पर्ने बध्यता पनि अस्पतालहरुलाई रहेको स्वास्थ्य संस्थाहरुले बताएका छन् । जिल्लामा विद्युत नभएकै कारण उपचार गर्न समस्या भएपछि विरामीहरुलाई पनि काठमाण्डौ लगायतका ठाउँमा जानु पर्ने बाध्यता भएको छ । जसले अहिले काठमाण्डौ लगायतका ठाउँमा भनेकै समयमा अस्पताल नपाउँदा सास्ती भोग्नु परेको जिल्लाबाट उपचारको लागि अर्को ठाउँ जानेहरुले गुनासो गरेका छन् ।
दर्जान बढी संचार माध्यम पनि अवरुद्ध
विद्युत अवरुद्ध हुँदा जिल्लाबाट संचालित दर्जान भन्दा बढी संचार माध्यम पनि अवरुद्ध हुने गरेका छन् । अहिले सदरमुकाम मन्थलीमा रहेका चार ओटा रेडियो, चार ओटा पत्रिका र अनलाइनहरु समेत बेला–बेलामा अवरुद्ध हुने गरेको संचालकहरुले बताएका छन् । दैनिक घण्टौ सम्म विद्युत आउने जाने क्रम जारी रहँदा मिनेट–मिनेटमा समाचार अपडेट गर्नु पर्ने अनलाइनलाई भनेकै समयमा अपडेट गर्न नसिकएको प्रहार मिडिया प्रा.लिका निर्देशक रामचन्द्र विकले बताए । साप्ताहिक रुपमा प्रकाशन गर्नु पर्ने पत्रिका समेत प्रेसले संचालन नुहँदा समयमै निकाल्न नसकिएको उनको तर्क छ । त्यस्तै जिल्लाको सदरमुकाम बाहिरबाट संचालनमा रहेका मिडियालाई पनि उस्तै समस्या रहेको निर्देशक विकले बताए ।
कसैको कुरा सुन्दैन प्राधिकरण, कार्यालय घेराउ गर्ने चेतावनी
महिनौ देखि घण्टौ सम्म विद्युत अवरुद्ध हुन थाले पछि राजनीतिककर्मी, अधिकारकर्मी, राजनीतिक दलका भात्रृ संगठन लगायतका निकायहरुले व्यक्तिगत र संस्थागत रुपमा विद्युतलाई नियमित गराउन अनुरोध गरे पनि हाल सम्म कुनै सुधार देखिएको छैन् । केही दिन अघिमात्रै नागरिक समजका अगुवा, विद्यार्थी संगठन लगायतले विद्युतलाई नियमित गराउन ध्यानकार्षण पत्र बुझाएपनि पटक पटक हुने विद्युत अवरुद्धमा कुनै सुधार नदेखिएको विद्यार्थी नेता सरोज श्रेष्ठले बताए । यसअघि टेलिफोन लगायत विभिन्न माध्यमबाट विद्युतमा आएको समस्या समधान गर्न प्राधिकरणलाई अनुरोध गरिएको तर, विद्युत अवरुद्ध हुने क्रम त्यस्तै भएपछि नेपाली काँग्रेस रामेछापका पार्टी सचिव लेख बहादुर कार्कीले आइतबार विद्युत सुधारको लागि आम उपभोक्तालाई जम्म भएर कार्यालय सम्म जान सामाजिक संजाल (फेसबुक) मार्फत अनुरोध गरेका छन् । आइतबार विहान कार्यालय परिसरमा पुगेर विद्युत अवरुद्ध हुने कारण र दीगो समधानको लागि खबरदारी हुने बताइएको छ ।
ढल्केबरमा ट्रान्सफर्मर विग्रेर विद्युत अवरुद्ध भयोः प्राधिकरण
मन्थली सबस्टेसनमा विद्युत आयत गरिने ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मर जलेको कारण रामेछापमा त्यसको असर परेको रामेछाप प्राधिकरणको भनाई रहेको छ । ढल्केबरमा रहेको ट्रान्सफर्मर जलेपछि त्यहाँबाट विद्युत ल्याउन नसकिएको र त्यसको विकल्पमा दोलखाको लामोसाँघुबाट ल्याएको विद्युतमा बेला–बेलामा समस्या आएको कारण अहिले बेला–बेलामा विद्युत अवरुद्ध हुने गरेको नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख कृष्णहरी दाहालले बताए । दैनिक रुपमा पटक–पटक विद्युत अवरुद्ध हुँदा आम उपभोक्तालाई धेरै समस्या हुने कुरा आफूले पनि मसुस गरेको बताउँदै प्रमुख दाहालले प्राधिरकणकै लापरवाहीले त्यस्तो समस्या नाएको प्रस्ट पारे । मुख्या समस्या नै ढल्केबरमा भएकाले अहिले विद्युत आउने जाने समस्या समधान हुन अझै दुई महिना लाग्ने उनको भनाई रहेको छ । उता दोलखाको लामोसाँघु सवस्टेसनबा ल्याइएको विद्युतलाई थप सुधार गर्न कार्यालय लागि परेको कार्यालय प्रमुख दाहालले बताए ।
प्रहार खबर साप्ताहिकमा साउन १० गते आइतबार प्रकाशित
आफ्नो प्रतिकृया दिनुहोस्