रामेछाप– रामेछाप नगरपालिकाको उपप्रमुख सृजना खड्काले लिङ्गको आधरमा गरिदै आएको विभेद अन्त्य गर्ने जिम्मा महिलाको मात्रै नभएको बताउनुभएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको समापन कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले पछिल्ला वर्षहरुमा लैंगिक हिंसाको विरुद्धमा हुने कार्यक्रम महिलाको मात्रै हो भन्ने दृष्टिले हेरिदा लैंगिक हिंसाका घटना पूर्ण रुपमा अन्त्य हुन नसकेको बताउनुभएको हो ।
पछिल्लो समयमा लैंगिक हिंसा अन्त्यका लागि गरिने कार्यक्रमहरु महिलाका मात्रै हुन्, उनिहरु मात्रै सहभागि हुनुपर्छ भन्ने मानसिकता सबैको हुन थालेको छ, उपप्रमुख खड्काले भन्नुभयो, ‘यस्तो सोचले गर्दा समाजमा हुने हिंसाका घटना पूर्ण रुपमा अन्त्य हुन सकेका छैनन् । महिला, पुरुष र तेस्रो लिंगी समेत मिलेर लैंगिक हिंसा अन्त्यको लागि लाग्नु पर्ने समयमा महिला मात्रै विभेदमा परेका छन, उनिहरुले मात्रै यो कार्यमा सभागिता जनाउनु पर्छ भन्ने सोच शिक्षित वर्गका मानिसमा नै देखिन थालेको छ । यसले हामीले कल्पना गरेको पूर्ण रुपमा हिंसा मूक्त समाज पाउन सक्दैनौं ।’
उपप्रमुख खड्काले थप्नुभयो, ‘समाजमा जसले हिंसाको घटना घटाइरहेका छन्, उनिहरुनै जिम्मेवार नभए सम्म लैंगिक हिंसाका घटना पूर्ण रुपमा अन्त्य हुदैनन् । हिंसा अन्त्यको लागि अहिले नेपालमा बनेका कानून मात्रै राम्रोसँग कार्यन्वयन गराउन सके हिंसामुक्ता समाज हुन्छ । त्यसको लागि सबै एक जुट हुन जरुरी छ ।’
लिंङ्गको आधरमा हुँदै आएका घटनामा महिला बढी पीडित हुने भएकाले लैंगिक हिंसा अन्त्यको लागि भविष्यमा महिला आन्दोननै चलाउनु पर्ने स्थिति देखिएको पनि उपप्रमुख खड्काको भनाई रहेको छ ।
धेरै कुरा जानेका समाजका अगुवाहरु र नेतृत्व लिएर बसेका व्यक्तिहरुले नै हिंसा अन्त्य गर्ने अभियानमा साथ नदिदा लैंगिक हिंसाका पीडा हाम्रो पछिल्लो पुस्ताले समेत भोग्नु पर्ने स्थिति आउन सक्नेमा पनि उहाँले चिन्त व्यक्त गर्नुभयो ।
समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा रामेछाप नगरपालिकाको समन्वयमा विहिबार रामेछापमा भएको कार्यक्रममा पछिल्लो समय समाजमा हिंसाका घटनाहरु बढ्नुका कारणहरु र त्यसको न्यूनीकरणको उपाय सहितको सन्देशमूलक गीत तथा सडक नाटक प्रस्तुत गरिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस.…
आफ्नो प्रतिकृया दिनुहोस्