रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा पाँच शैयाको अस्पताल संचालनमा आएको छ । गाउँपालिकाको वडा नं ५ पकरबासमा विहिबार गाउँपालिका अध्यक्ष प्रेम तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले अस्पतालको उद्घाटन गर्दै अस्पताल संचालनमा आएको बताएका छन् ।
पकरबास स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी पाँच शैयाको अस्थायी अस्पताल संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष प्रेम तामाङले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेको र सोही निर्णय अनुसार गाउँपालिकामा पहिलो पटक अस्पताल संचालनमा ल्याइएको अध्यक्ष तामाङले बताउनुभयो ।
अध्यक्ष तामाङले भन्नुभयो– ‘अस्पताल संचालनमा आएसँगै गाउँपालिकाका नागरिकलाई केही स्वास्थ्य समस्या आउने वित्तक्कै एम्बुलेन्समा राखेर बाहिर लानु पर्ने समस्या टरेको छ । अहिले कोभिड–१९ लक्षित गरी संचालनमा ल्याइएको भएपनि पालिकाका सबै नागरिकले अस्पतालबाट आधरभूत स्वास्थ्य सेवा पाउनेछन् । तत्कालका लागि पाँच शैयाको अस्पताल संचालनमा ल्याइएको भएपनि केही समयपछि निर्माणाधिन १५ शैयाको भवनमा यहि अस्पताललाई अपगे्रट गरेर १५ शैयाको अस्पताल बनाउँछौँ । त्यसपछि यहाँका नागरिकले सहज तरिकाले स्वास्थ्य उपचार सेवा पाउँछन् ।’
अध्यक्ष तामाङका अनुसार अहिले संचालनमा आएको अस्पतालबाट प्रवाह हुने सेवाबाट गाउँपालिकाका ३१ हजार नागरिकले स्वास्थ्य सेवा लिने छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्