

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ तामाङको अध्यक्षतामा ३७ सदस्यीय नगर कमिटी चयन भएको उज्यालो नेपाल पार्टीले बताएको छ ।



नवनिर्वाचित कमिटीको उपाध्यक्षमा चिना तामाङ, महिला उपाध्यक्षमा सरिता माझी, सचिवमा पासाङ लामा र सह–सचिवमा बाबूराम मोक्तान चयन भएका छन् । भेलाले नगर कमिटीका अन्य सदस्यहरूलाई समेत सर्वसम्मत रूपमा चयन गरेको जनाइएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चिना लामाले संयोजन गरेकी थिइन् । कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू रामकृष्ण लामा, जिल्ला अध्यक्ष अन्जन लामा, होमराज खपाङ्गी मगर, दीपबहादुर लामा, बागमती प्रदेश संयोजक प्रबिणकुमार बल तथा केन्द्रीय युवा विभाग प्रमुख राज मैनालीलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
भेलामा सहभागी नेताहरूले पार्टीको संगठन विस्तारलाई प्रभावकारी बनाउँदै स्थानीय तहमा जनताका सवाललाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले पार्टीको नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन नगर तथा वडा तहका संगठनलाई थप सक्रिय र मजबुत बनाउनुपर्ने बताएका थिए ।
मन्थली नगर कमिटी गठनसँगै उज्यालो नेपाल पार्टीले रामेछापमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ । नवगठित कमिटीले आगामी दिनमा नगरका विभिन्न वडामा संगठन विस्तार तथा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

















