
रामेछाप- सुनापति गाउँपालिका वडा नं. ५ मा रहेको बाल माध्यमिक विद्यालयले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोह सम्पन्न गरेको छ । विद्यालयको पाँच दशक लामो शैक्षिक यात्रालाई उत्सवका रूपमा मनाउँदै शिक्षा क्षेत्रको उपलब्धि, चुनौती र भावी लक्ष्यबारे छलफलसहित कार्यक्रम सम्पन्न गरिएको हो ।




सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको प्रमुख आतिथ्यतामा तथा गाउँपालिका उपाध्यक्ष गीता विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष चित्र बहादुर मानन्धर, शिक्षा शाखा प्रमुख कमल वम, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, बुद्धिजीवी, शिक्षाप्रेमी, अभिभावक, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बाल माविको ५० वर्षे यात्रा ग्रामीण भेगमा शिक्षा विस्तारका लागि गरिएको निरन्तर संघर्ष र सामूहिक प्रयासको प्रतिफल भएको बताए । उनले भने, “सामुदायिक विद्यालय समाजको मेरुदण्ड हो । बाल माविले उत्पादन गरेका जनशक्तिले समाज र राष्ट्रलाई योगदान दिइरहेका छन् । विद्यालयको शैक्षिक सुधार, पूर्वाधार विकास र शिक्षालाई प्रविधिमैत्री बनाउन गाउँपालिकाको पूर्ण साथ रहनेछ ।”

त्यस्तै गाउँपालिका उपाध्यक्ष गीता विष्टले सामुदायिक विद्यालयलाई सुदृढ नगरी शिक्षा क्षेत्रमा अपेक्षित सुधार सम्भव नहुने बताइन् । उनले भनिन्, “बाल माविले स्थानीय तहमा गुणस्तरीय मानव स्रोत उत्पादन गर्दै आएको छ। अबको शिक्षा जीवनोपयोगी, सीपमूलक र समावेशी हुनुपर्छ, यसका लागि स्थानीय सरकार निरन्तर लागिरहनेछ ।”
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले वर्तमान शिक्षालाई प्रयोगात्मक, प्रविधिमैत्री र व्यवसायिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताए। उनले विद्यालय, स्थानीय सरकार र समुदायबीचको सहकार्य अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।
विद्यालय स्थापनादेखि हालसम्म विभिन्न तरिकाबाट योगदान पुर्याउने व्यक्तित्वहरूलाई स्वर्ण जयन्तीका अवसरमा सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा विद्यालयलाई जग्गा उपलब्ध गराउने जग्गादाता पुताली तामाङ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व प्रधानाध्यापकहरू, संस्थापक सदस्यहरू, छिमेकी विद्यालयहरू, बिएलइ र एसइइ परीक्षामा उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरू, स्थायी सेवामा प्रवेश गरेका पूर्व विद्यार्थीहरू, खरिदारदेखि अधिकृत तहसम्म सेवा गरेका पूर्व विद्यार्थीहरू, विभिन्न सहयोगी दाताहरू तथा विद्यालयका विद्यार्थीदेखि राष्ट्रिय कलाकारसम्मलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको शैक्षिक विकासका लागि डहूँ माध्यमिक विद्यालयका प्रधानाध्यापक दल बहादुर बलले व्यक्तिगत तर्फबाट ५० हजार ५ सय ५५, करुणामय मानव सेवा विकास समाजले ४७ हजार २०० आर्थिक सहयोग प्रदान गरेका छन् । साथै काठमाडौं निवासी देबेन्द्र मानन्धरले २०८२ साउनदेखि माघसम्म मासिक २५ हजारका दरले जम्मा १ लाख ७५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको विद्यालयले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु लामाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चक्र मानन्धरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय सहित सयौँको सङ्ख्यामा सहभागिता रहेको विद्यालयका सहायक प्रधानाध्यापक एवं सूचना अधिकारी माइकल लामाले जानकारी दिए ।































