

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका छन् । बिहीबार सुनापति गाउँपालिकाको वडा नं ५ खनियापानीमा आयोजित चालू आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकले उठाएका प्रश्न, गुनासा र जिज्ञासाको उत्तर दिँदै उनले यस्तो बताएका हुन् ।



सार्वजनिक सुनुवाइमा नागरिकहरूले मुख्य गरी सडक पूर्वाधारको अवस्थाबारे चासो राखेका थिए । सुनापति गाउँपालिकाको विभिन्न सडकखण्डको बाँकी रहेको कालोपत्रे गर्ने काममा भइरहेको ढिलाइबारे स्थानीय वाङ्गेल तामाङ र भीमबहादुर तामाङले जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष तामाङले भने, “त्यो खण्डको ९ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । यसलाई प्रदेश पूर्वाधार विकास कार्यालयसँगको समन्वयमा बहुवर्षीय ठेक्का प्रक्रियामा लैजाने सुनिश्चितता भइसकेको छ । केही समयमै टेन्डर प्रक्रिया सकिएर काम अगाडि बढ्नेछ ।”
त्यस्तै, वर्षायामका कारण बिग्रिएका सहायक सडकहरूको मर्मत र सरसफाइमा पनि गाउँपालिकाले उत्तिकै ध्यान दिइरहेको उनले बताए । विशेषगरी बिरामी बोक्ने एम्बुलेन्स सेवा प्रभावित हुन नदिने गरी सडकहरू सधैँ सुचारु राख्न जनप्रतिनिधि र प्राविधिक टोली सजग रहेको जानकारी उनले दिए । उनले भने, “हामी जनप्रतिनिधिहरू सधैँ सजग छौँ, सडक सरसफाइ र मर्मतको कामलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ ।”
पालिकाकै अस्पतालमा जटिल सेवा स्वास्थ्य सेवाको विषयमा बोल्दै अध्यक्ष तामाङले सुनापतिबासीले अब सामान्य उपचारका लागि काठमाडौँ वा अन्यत्र भौँतारिनु नपर्ने दाबी गरे । “हामीले अस्पताल उद्घाटन गरेर डाक्टरसहितको जनशक्ति परिचालन गरिसकेका छौँ । एक्स–रे मेसिनका लागि ५० लाखभन्दा बढी खर्च लाग्ने देखिएपछि पालिकाको रकम जोगाउन हामीले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेका छौँ,” उनले भने, “मन्त्रालयबाट अनुगमन टोली आउँदैछ । अनुगमनपछि प्राप्त हुने १ करोड बजेटबाट अत्याधुनिक उपकरणहरू थपिनेछन् ।” अबको केही समयमै एक्स–रे सेवा पनि पालिकाबाटै उपलब्ध हुने उनले विश्वास दिलाए ।
सुशासन र पारदर्शितामा प्रतिबद्धता जनाउँदै अध्यक्ष तामाङले सुनापति गाउँपालिकामा सुशासन कायम रहेको र विकास बजेटको पारदर्शी कार्यान्वयन भइरहेको बताए । कार्यक्रममा सोधिएका प्रश्नहरूको उत्तर दिँदै उनले भने, “हामी जनप्रतिनिधिहरू र कर्मचारीहरू आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग छौँ । नागरिकका गुनासाहरूलाई हामीले सधैँ प्राथमिकतामा राखेका छौँ । त्यसैले त आज धेरै गुनासो सुन्नु परेन, किनकि हामीले काम गरेर देखाएका छौँ ।”
उनले थप स्पष्ट पार्दै भने, “हाम्रो कार्यकाल अझै डेढ वर्ष बाँकी छ । चुनावका बेला घोषणापत्रमा जे–जे लेखेका थियौँ, त्योभन्दा पनि बढी काम गरेर जनतालाई समृद्धिको अनुभूति दिलाउनेछौँ । हामी काममा विश्वास गर्छौँ, भाषणमा होइन ।”
साझा प्रयासबाट समृद्ध सुनापति कार्यक्रमको अन्त्यमा अध्यक्ष तामाङले सुनापतिलाई समृद्ध बनाउन जनप्रतिनिधि र कर्मचारी मात्र नभएर नागरिक समाज, राजनीतिक दल र सम्पूर्ण सुनापतिबासी एकजुट हुनुपर्नेमा जोड दिए । उनले विकास निर्माणका काममा बाधा पु¥याउनेभन्दा पनि सल्लाह र सुझाव दिएर सहयोग गर्न सबैलाई आग्रह गरे । “हामी सबैको एउटै लक्ष्य सुनापतिको विकास हो, यसमा सबैको साथ चाहिन्छ,” उनले भने ।
सुनापतिको पहिलो चौमासिकको खर्च १५.२९ प्रतिशत, राजश्व लक्ष्य भन्दा बढी संकलन
सुनापति गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा कुल बजेटको १५.२९ प्रतिशत खर्च गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा खर्चको विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले चालु आर्थिक वर्षको पहिलो चार महिनामा समग्र खर्च १५.२९ प्रतिशत भएको बताए । उनका अनुसार कुल खर्चमध्ये चालु तर्फ २१.९४ प्रतिशत र पुँजीगत तर्फ ३.९४ प्रतिशत खर्च भएको छ । श्रेष्ठले प्रथम चौमासिकको आय–व्यय विवरण प्रस्तुत गर्दै वास्तविक आयको तुलनामा खर्चको अनुपात कम देखिएको बताए । यद्यपि, राजस्व संकलन तथा कार्यसम्पादनको क्षेत्रमा भने गाउँपालिकाले सन्तोषजनक प्रगति गरेको उनको भनाइ छ । उनले वार्षिक लक्ष्यको ३८.३९ प्रतिशत राजस्व संकलन भइसकेको जानकारी दिँदै पहिलो चार महिनामै कुल १९ लाख १९ हजार ३२ रुपैयाँ राजस्व संकलन भएको बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्ट, वडा नं. ३ का वडाध्यक्ष कुल बहादुर थिङ, वडा नं. ४ का वडाध्यक्ष डण्डुप लामा र वडा नं. ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धर, विषयगत शाखाका प्रमुखहरू, वडा सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू र सेवा प्रदायक निकायका प्रतिनिधिहरू जवाफदेही वक्ताको रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुंगेलले सुनापति गाउँपालिकाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर नियमित सार्वजनिक सुनुवाइ गर्नु प्रशंसनीय कार्य भएको बताए । यस्ता कार्यक्रमले नागरिकलाई सशक्त र सचेत बनाउने विश्वास उनले व्यक्त गरे ।
नेपाली कम्युनिष्ट पार्टीका युवा नेता तेज थिङ, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको उक्त कार्यक्रम सुनापति गाउँपालिकाको आयोजना र प्रहार मिडिया प्रालिको सहजीकरणमा सम्पन्न भएको हो । कार्यक्रममा झण्डै दुई सय जनाको सहभागिता रहेको थियो ।



















