

रामेछाप- नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन् । बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले अहिलेको परिस्थितिमा नेपाली काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको र त्यो मंसिर भित्रै हुनु पर्ने बताएका हुन् । उनले भने,‘अहिले हामी एउटा यस्तो अवस्थामा आइपुगेका छौँ, जुन अवस्थामा पार्टीको नेतृत्व परिवर्तन अनिवार्य जस्तै बनेको छ । यदि नेतृत्व परिवर्तन गरेनौ भने हामी निकै अफ्ठेरो अवस्थामा जानु पर्ने परिस्थिति सिर्जना भएको छ । त्यसैले पनि पार्टीको नेतृत्व परिवर्तन अनिवार्य र काँग्रेसको विधान अनुसार मंसिर २१ गते भित्रै त्यो नेतृत्व परिवर्तन हुन जरुरी छ । त्यसको लागि पार्टीका माथिल्लो निकाय केन्द्री तहदेखि तल्लो तह वडा तहसम्मको नेतृत्व परिवर्तन हुनु पर्छ ।’



नेपाली काँग्रेसको विधान र भावी नेतृत्व चयनको विषयमा आफ्नो कुरा राख्दै पार्टी केन्द्रीय सदस्य समेत रहेको पौडेलले भने,‘नेपाली काँग्रेसको विधान अनुसार एक व्यक्ति दुई पटक मात्रै पार्टी सभापति हुने व्यवस्था छ । त्यो व्यवस्था अनुसार अहिलेको सभापति ज्यूले फेरि सभापति बन्न पाउनु हुन्न । त्यसको विकल्पमा उहाँ भन्दा बाहेकेका व्यक्ति सभापति बन्ने हो । अहिलेको पार्टी समिति बनेको मंसिर २१ गते ४ वर्ष पुरा हुन्छ र काँग्रेसको विधान अनुसार त्यो २१ गते भित्रै नयाँ नेतृत्व चयन हुने व्यवस्था भएकाले आगामी मंसिर २१ गते भित्रै नियमित प्रक्रियाबाट नेतृत्व परिवर्तन सहित पार्टीको महाधिवेशन हुनुपर्छ । नेतृत्व परिवर्तनको कुरा केन्द्रको मात्रै हैन, वडा तहसम्मको पनि नेतृत्व परिवर्तन हुन जरुरी छ । त्यसको लागि सबै तह लाग्न पर्ने हुन्छ ।’
नेता पौडेलले पार्टीको नेतृत्व परिवर्तन गर्ने कुरामा पार्टीमा लामो योगदान गरेका र निरन्तर पार्टीमा देखिएकालाई नेतृत्वमा ल्याउने भन्दा पनि जेनजीले उठाएका मुद्दा र विगतदेखि रहेको राष्ट्रिय समस्या समाधान गर्न सक्ने सक्षम मान्छेले भावी पार्टीको नेतृत्व गर्ने गरी काँग्रेस अगाडि बढ्नु पर्ने अवस्था रहेको र सोही अनुसार आगामी नेतृत्व चयन हुने दाबी प्रस्तुत गरे । पार्टीको नयाँ नेतृत्व परिवर्तन सँगै काँग्रेसको नीति परिवर्तन सम्मको कुरा अहिलेको आवश्यकता भएकाले पार्टीको नियमित महाधिवेशन मार्फत मात्रै सबै कुरा सम्भव हुने भएकाले अहिले विशेष महाधिवेशन भन्दा पनि नियमित महाधिवेशन गर्न सबै लाग्नु पर्नेमा उनको जोड रहेको छ ।
उनले आगामी महाविधवेशनलाई लक्षित गर्दै पार्टीको महाधिवेशनबाटै अहिलेका सभापतिलाई सम्मान साथ बिदाइ गर्नु पर्ने, अहिलेको अवस्थामा जेनजीलाई पनि पार्टीको क्रियाशील सदस्य बनाउने गरी डिजिटल माध्यमबाट वितरण गर्नु पर्ने, दशैं भित्रै पार्टीको केन्द्रीय समितिको बैठकले मंसिर २१ भित्रै नियमित प्रक्रिया अनुसार महाधिवेशन गर्नेगरि मिति तोक्नु पर्ने र यदि नियमित महाधिवेशन नहुने हो भने विशेष अधिवेशन गरेरै भए पनि पार्टीको नीति र नेतृत्व परिवर्तन हुने पर्ने भनाइ राखे ।
पत्रकारहरूसँग कुरा राख्नु अघि नेता पौडेललाई नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, काँग्रेस नेता कृष्ण महत, नेपाली काँग्रेस रामेछाप प्रदेश (क) क्षेत्रीय सभापति निरोज खड्का, काँग्रेस नेता एवं लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य उत्तम कार्की, नेपाली काँग्रेस रामेछापका काँग्रेसका नेता, नेविसंघका पदाधिकारी, विभिन्न भातृ संघसंगठनका नेता लगायतले अहिलेको अवस्थालाई बुझेर केन्द्रीय नेतृत्व परिवर्तनमा गरेर काँग्रेसलाई जनताको पार्टी बनाउने गरी लाग्न सुझाव दिएका थिए ।
पत्रकार भेटघाटमा नेपाल प्रेस युनियन रामेछापको अध्यक्ष ज्ञानु श्रेष्ठ लगायतले काँग्रेसको आगामी कार्यदिशा लगायतका विषयमा प्रश्नहरू राखेका थिए ।


















