रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ८२ जनाले आफ्नो स्वास्थ्य परिक्षण सहित उपचार गराएका छन् । गोकुलगंगा गाउँपालिका वडा नं २ को कार्यालय ठोसेको सहकार्यमा दोलखाको लालीगुराँस सामुदायिक अस्पतालले बुधवार सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित भएका स्थानीयले स्वास्थ्य परिक्षण सहित उपचार गराएका हुन् ।
भिडियो एक्स-रे, इसिजि, माइग्रेन लगायतका रोगसँग सम्बन्धित विशेषज्ञ सहितको चिकित्सकहरूले शिविरमा आएका स्थानीयहरूको स्वास्थ्य परिक्षण गरेर स्वास्थ्यमा समस्या भएकाहरूलाई तत्काल उपचार गर्न सुझाव सहित औषधी समेत उपलब्ध गराइएको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेका वडाध्यक्ष सुन्दर कार्कीले बताए । विभिन्न समस्याबाट पीडित भएका तर अस्पताल सम्म जान नसक्ने स्थानीयहरूका लागि निःशुल्क रूपमा राखिएको स्वास्थ्य शिविरले धेरै ठुलो सहयोग पु¥याएको वडाध्यक्ष कार्कीको भनाई रहेको छ ।
शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गराएका ठोसेका सुरेन्द्र श्रेष्ठले गाउँमै निःशुल्क स्वास्थ्य परिक्षण गराउन पाउँदा खर्चको बचत हुनुको साथै आफूलाई भएको समस्याको बारेमा जानकारी पाएको र थप उपचार गर्न सहज भएको भनाइ व्यक्त गरे । आफ्नै घरको छेउमा राखिएको स्वास्थ्य परिक्षण तथा उपचारले आफ्नो स्वास्थ्यका बारेमा ख्याल गर्नु पर्ने रहेछ भन्ने चेतना समेत स्थानीयहरूमा वृद्धि भएको उनको भनाइ रहेको छ ।
मानव स्वास्थ्यको जनचेतना कमीका कारण अहिले पनि धेरै नागरिकहरू आफ्नो शरीरमा रोग पालेर बस्न बाध्य रहेकाले त्यस्तो बाध्यकारी अवस्थाबाट छुटकारा दिलाउन आफूहरूले दुर्गम गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको लालीगुराँस सामुदायिक अस्पतालका संचालक समेत रहेका डा सुरेन्द्र तामाङले बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्