



रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफूहरु निर्वाचित भएर आएको पाँच वर्षको अवाधिमा विभिन्न चुनौतिकाबीच पनि धेरै काम गरेको बताएका छन् । बुधरवार सम्पन्न दशौँ नगरसभा पश्चात पत्रकारहरुसँग कुरा गर्दै नगर प्रमुख बस्नेतले आफूहरु निर्वाचित भएर आएको पाँच वर्षको अवधिमा सयौँ चुनौतीकाबीच पनि नागरिकले महसुस गर्ने गरी धेरै काम गरेको बताएका हुन् ।




नगर प्रमुख बस्नेतले दशौँ नगरसभा सम्ममा आइपुग्दा सार्वजनिक सेवा प्रवहा देखि भौतिक पूर्वाधार निर्माण सम्मका काममा धेरै उपलब्धी हाँसिल गरेको बताए ।
नागरिकलाई छिटो सेवा दिन सार्वजनिक सेवा प्रविधिमैत्री
नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई छिटो र प्रविधि मैत्री बनाउनको लागि अनलाइन घटनादर्ता, राजश्व संकलन, सामाजिक सुरक्षा भत्ताको अभिलेख अद्यावधिक गर्ने जस्ता कार्यलाई व्यवस्थति बनाएर सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी एवं जन सहभागितामूलक बनाउने प्रयास गरिएको नगर प्रमुख रमेश कुमार बस्नेतले बताए । त्यस्तै वित्तीय जवाफदेहिता, पारदर्शिता, प्रभावकारिता, मितव्ययिता, नियमितता तथा कार्यदक्षतालाई समेत सहयोग पुग्नेगरी पराम्परागत रुपमा म्यानुअल लेखाङ्कन तथा अभिलेखन व्यवस्थापनलाई विस्थापित गरी स्थानीय संचितकोष व्यवस्थापन प्रणाली अनलाईन सफ्टवेयर सञ्चालनमा ल्याई एकीकृत आय–व्यय तथा अन्य वित्तीय प्रतिवेदन गर्न थालिएको बस्नेतले बताए ।
आफ्नै प्रशासनिक भवनबाट सेवा सुचारु
आफूहरु निर्वाचित भएर आउँदा भाडाको घरबाट सेवा सुरु गरेको नगरलाई अहिले नगरको आफ्नै अत्याधुनिक प्रशासनिक भवनबाट सेवा सुरु गर्न थालिएको बस्नेतले बताए । वडा कार्यालय नभएका वडाहरुमध्ये ३ वटा वडाको भवन निर्माण कार्य सम्पन्न गरिएको र बाँकी वडा कार्यालयहरु पनि आगामी आर्थिक वर्ष २०७९÷८० संघीय समपुरक अनुदानबाट निर्माण गर्ने गरी स्रोत सुनिश्चित गरिएको बस्नेतले जानकारी गराए ।
६५ किलोमिटर सडक कालोपत्रे, नीजि आवसको काम अन्तिम चरणमा
नगर प्रमुख रमेश कुमार बस्नेतले हालसम्म नगर भित्र संघ, प्रदेश र नगरपालिका समेतको लगानीमा ६४.९७६ किलोमिटर सडक कालोपत्रे गरिएको र ३५.९४३ किलोमिटर सडक ग्राभेल तथा सोलिङ्ग गरिएको बताए । बाह्रै महिना सञ्चालनमा आउन नसकेका वडा कार्यालय जोड्ने सडक निर्माण र स्तरउन्नोति गर्न नगर भित्रका मुख्य सडकहरु मध्ये मन्थली सुनारपानी सालु, भुत्याखोला टेकनपुर कठजोर ठाटी सडक, चिसापानी गेलु सिक्राल सडक, चिसापानी पुरानाँगाउँ सडक, चिसापानी चनखु सडक, देविटार फुलासी सडक, आकासेपुल भटौली सडक, मन्थली भलुवाजोर सडक र मन्थली सानी मदौ राहालटार सालु सडक कालोपत्रे गर्ने कार्य शुरु भई क्रमागत योजनाको रुपमा स्थापित गरिएको नगर प्रमुख बस्नेतले जानकारी गराए ।
नगर भित्रका सुखाग्रस्त वडाहरुका रुपमा रहेका वडालाई समेत ध्यानमा राखी वडा भित्र रहेका स–साना मुहानहरुको संरक्षण र सम्वर्धन गर्दै संघीय सरकार र प्रदेस सरकारको समन्वय र सहकार्यमा तामाकोशीको पानीलाई लिफिट्ङ प्रणलीबाट खानेपानीको व्यवस्था गर्न वडा नं २, ४, ५, ६, ७, ११, १२ र १३ मा खानेपानी आयोजनाहरुको कार्य प्रारम्भ गरिएको उनको भनाई रहेको छ ।
भूकम्प पश्चात निजी आवास पुनः निर्माण लाभ ग्राही सूचीमा नाम समावेश भइ अनुदान सम्झौता गरेका ९५ प्रतिशत लाभग्राहीहरुको भवन निर्माण कार्य सम्पन्न भइसकेको बस्नेतले बताए ।
दुध र मासुमा आत्मनिर्भर
पाँच लाख सम्म पूँजी भएका उद्योगहरु नगरपालिकाबाटै दर्ता गर्ने, नगरपालिका क्षेत्रभित्र काम गर्ने सहकारी संस्थाहरुलाई सूचिकृत गराई अभिलेख ब्यवस्थित गर्ने र स्थान, उद्देश्य र कारोवार समान भएका सहकारी संस्थाहरुको एकीकरण गर्ने कार्यको सुरुवात गरी तीन खम्वे अर्थ नीति अनुरुप निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै युवा व्यवसाहीको व्यवसायलाई प्रवर्द्धन गर्न युवा उद्धम कार्यक्रम सञ्चालनमा ल्याइएको नगर प्रमुख रमेश कुमार बस्नेतले बताए । त्यस्तै पशुपालनमा नश्ल सुधार (कृत्रिम गर्भाधाण) को कार्यक्रम र पशु आहारामा प्रयोग हुने उन्नत जातका विउ, वेर्ना, सेट्स र दुध उत्पादनमा आधारित अनुदान वितरण गर्नुका साथै दुध र मासुमा आत्म निर्भर हुने वातावरण निर्माण गरिएको पनि नगर प्रमुखले बताए ।
निःशुल्क शिक्षालाई प्राथमिकता
आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउने उद्धेश्यका साथ शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिएको र आगमी शैक्षिक सत्रमा विद्यालय उमेरका बालवालिकाहरु विद्यालय बाहिर नरहेको सुनिश्चितता घोषणाको तयारी भइरहेको नगर प्रमुखले बताए । उनले हाल कक्षा १–८ मा ५–१२ उमेर समूहका बालबालिकाहरुमध्ये ९५% भन्दा बढी बालबालिकाहरु विद्यालय भर्ना भएकाले आधारभूत तह (१–८) को शिक्षालाई पूर्ण निःशुल्क बनाइएको धारणा राखे । त्यस्तै ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ भन्ने अभियान अनुरुप विद्यार्थी संख्या न्यून भएका विद्यालयहरुलाई समायोजन एवं कक्षा घटुवा गरी विद्यार्थी संख्या र सञ्चालित कक्षाको आधारमा हरेक वर्ष दरबन्दी मिलानको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको बताए । त्यसैगरी मन्थली नगरभित्र अवस्थित मन्थली माध्यमिक विद्यालय मन्थलीमा सञ्चालित विज्ञान धारमा कक्षा ११ र १२ मा अध्ययन गर्ने नगरबासी ३२ जना बालबालिकाहरुलाई निःशुल्क अध्ययन गर्न गराउन सहयोग गरिएको बताए ।
स्वास्थ्यलाई पहिलो प्राथमिकता, अस्पताल सञ्चालनको तयारी
मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको मन्थली अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण सम्पन्न गरिसकिएको र त्यसलाई संचालनको लागि प्रक्रिया अगाडि बढाइसकिएको बताए । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी नियन्त्रण, रोकथाम र व्यवस्थापनको सन्दर्भमा कोभिड प्रभावित १ सय ५८ जनालाई उपचार गरिएको बताउँदै हालसम्म १८ वर्ष भन्दा माथि उमेर समूह मध्ये १६ हजार ८ सय ३५ जनाले पूर्ण मात्रा खोप लगाइसकिएको बताए । त्यसतै १२ वर्षदेखि १७ वर्ष उमेरसम्म मध्ये ४ हजार ७३ जनालाई खोप लगाइसकिएको पनि नगर प्रमुख रमेश कुमार बस्नेतले बताए ।
त्यस्तै नगरपालिका भित्रका सम्पूर्ण नागरिकहरुको रोगको समय मै पहिचान गराई समय मै उपचार गरी गम्भिर रोगबाट बच्न सहज होस भन्ने उद्देश्यले ‘स्वस्थ मृगौला स्वस्थ मन्थली’ अभियानका रुपमा निःशुल्क मृगौला परीक्षणको गरिएको र हाल सम्म करिव १७ हजार नागरिकको मृगौला परीक्षण गरिएको बताए । बाल विवाह, लैगिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी नगरलाई बाल विबाह मुक्त नगरको रुपमा स्थापित गर्ने वातवरण निर्माण गर्दै हाल हिंसा पीडितको तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि अल्पकालीन सेवा केन्द्रको स्थापना गरिएको नगर प्रमुख बस्नेतले बताए ।
प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरणलाई पनि प्राथमिकता
नगर प्रमुख बस्नेतले नगर भित्र हुन सक्ने प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण र पुनरोत्थान तथा पुनस्थापनाका कार्यमा जोड दिइ नगर भित्र रहेका दमकल, एम्वुलेन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारु अवस्थामा राखिएको र हाल त्यस्ता घटना न्यूनिकरणमा सहयोग पुगेको बताए । त्यस्तै वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुसगँको समन्वय र सहकार्यमा वृक्षारोपण, संरक्षण र सम्वर्द्धनका कार्यक्रमहरु सञ्चालन गरी वातावरण मैत्री नगर निर्माणमा जोड लागी परेको पनि उनले बताए ।
गाउँका झगडा न्यायिक समितिमा मिल्न थाले
गाउँमा विभिन्न कारणबाट उत्पन्न हुने समस्या समधानको लागि पनि नगरले दुबै पक्षलाई जिताउँदै गाउँका झगडा न्यायिक समिति मार्फत मिलाउन थालेको रमेश कुमार बस्नेतले बताए । हाल सम्म न्यायिक समितिमा प्राप्त हुन आएका उजुरीहरुको समयमै सुनुवाई गरिएको गरी पीडितलाई न्याय दिने काम भइरहेको बस्नेतले बताए । न्यायिक कार्यमा सहजता ल्याउन वडा स्तरमा रहेका मेलमिलाप केन्द्रहरुलाई सुदृढीकरण र सहजकर्ताहरुको क्षमता विकास गरी क्रियाशील राखिएको पनि बस्नेतले बताए ।
मन्थली नगरलाई व्यवस्थित बनाउन थप २० कार्यहरु गरिने
पाँच वर्षको अन्तिममा आइपुग्दा आफूहरुले गरेको कामको बारेमा संक्षिप्तमा जानकारी गराएको नगर प्रमुख रमेश कुमार बस्नेतले आम नगरिकले अपेक्षा गरेअनुसार सबै विकास हुन नसके पनि आफूहरुले निर्वाचनताका गरेका बाचालाई पूरा गर्न आगामी दिनमा पनि धेरै काम गर्ने लक्ष्य राखिएको नगर प्रमुखले बताएका छन् । उनले आगमी दिनमा नगरलाई व्यवस्थित बनाउन गर्नु पर्ने महत्वपूर्ण कार्यहरु संक्षिप्त रुपमा यसरी प्रस्तुत गरेका छन् ।
– नगरको आवधिक योजनाले निर्दिष्ट गरेको लक्ष्य एंव उद्देश्य प्राप्ति तर्फ उन्मुख भई विषयगत योजनाहरु निर्माण र वार्षिक नीति तथा कार्यक्रम निर्माणमा जोड ।
– कर्मचारीहरुलाई जिम्मेवार र जवाफदेही वनाउन नगरको सँगठन तथा व्यवस्थापन सर्वेक्षणवाट निर्धारण भएको कार्य विवरणमा आधारित भई जिम्मेवारी प्रदान ।
– नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृत र महाशाखा प्रमुख एव शाखा प्रमुखहरु, सस्था प्रमुखहरुका वीचमा नतिजामा आधारित कार्य सम्पादन सम्झौता जोड ।
– नगर कार्यपालिकाको कार्यालय र वडा तहमा रहेका वडा कार्यालय, स्वास्थ्य सस्थाहरु र विद्यालयहरुसँग नेट वर्किङ्ग गरी Digital Monitoring मा जोड ।
– वडा कार्यालयहरुमा राजश्व सङ्कलन र व्यक्तिगत घटना दर्ता अनलाइन प्रणाली मार्फत सेवा सुदृढीकरणमा जोड ।
– नगरको विपद जोखिम नक्शाङ्कन र भू उपयोग नक्शा निर्माण ।
– नगर यातायात गुरुयोजना निर्माण ।
– भवन संहिता निर्माण ।
– फोहोर मैला प्रशोधन केन्द्रको स्थापना ।
– नगर भित्र उद्योग ग्रामहरुको स्थापना ।
– शान्ति पार्क लगायतका पार्क तथा उद्यानहरुको स्थापना ।
– बस पार्कको अत्याधुनिक व्यवस्थापन ।
– नगर केन्द्र भित्र वाईपास सडक र चक्रपथको निर्माण ।
– धुलो रहित सडक व्यवस्थापन ।
– वातावरणमैत्री नगरपालिका स्थापनामा सरोकारवालाहरुको सहभागिता अभिवृद्धि
– प्रत्येक टोल एक आहाल र एक सामुदायिक वन एक आहाल निर्माण गरी सुख्खापन न्यूनीकरणमा जोड ।
– सार्वजनिक र पर्ति जग्गाहरुको व्यवस्थित लगत र साधँ सीमाना कायममा जोड ।
– गरी खाने प्राविधिक शिक्षा( कृषि र पशु विज्ञान) माध्यमिक तहमा विस्तार र भेगीय एवं क्षेत्रगतरुपमा खेल मैदानहरु निर्माण ।
– कार्यक्रम सञ्चालनमा समन्वय र सहकार्यमा जोड ।
– कार्यक्रमहरुको अनुगमन र मूल्याङ्कनमा जोड ।
प्रहार खबर साप्ताहिकमा २०७८ माघ २ गते आइतबार प्रकाशित





आफ्नो प्रतिकृया दिनुहोस्