रामेछाप– सरकारी कार्यालयमा होस या अन्य कुनै गैरसरकारी कार्यालयमा होस । श्रेणीको आधारमा ठूलो श्रेणीको कर्मचारीले सानो श्रेणीको कर्मचारीलाई हेर्ने दृष्टिकोण निकै फरक छ । अर्थात सानो दर्जामा रहेका कर्मचारीलाई ठूलो दर्जामा रहेका कर्मचारीले म भन्दा सानो हो यसले त मैले जे भन्यो त्यहि मान्नु पर्छ भन्ने गलत सोचका अभ्यासहरु विगत देखि अहिले सम्म पनि धेरै ठाउँमा भइरहेको पाइन्छ । जसको कारण तल्लो दर्जाको कर्मचारीले अहिले पनि मानसिक रुपमा विभेद खेप्नु परेको छ । अझ सुरक्षा निकायका तल्लो दर्जाका कर्मचारीहरुलाई एक तह माथीका कर्मचारीले सधै विभेद गर्छन् भन्ने आरोपहरु बाक्लै लाग्ने गरेका छन् । तर, जिल्ला प्रहरी कार्यालय रामेछाप भने त्यस्तो आरोपको साटो एउटा पारिवारिक वातावरण देख्न पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यालय प्रमुखको दरबन्दी प्रहरी नायव उपरीक्षकको छ भने उनको कमाण्डमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार, प्रहरी जवान र श्रेणी विहीन प्रहरी कार्यालय सहयोगी गरी जिल्लाभरी ४ सय ५९ जनको दरबन्दी छ । यहाँका कार्यालय प्रमुख अर्थात प्रहरी नायव उपरीक्षकले आफ्नो कार्यालमा भएका प्रत्येक कर्मचारीको जन्म दिन देखि बिदामा घर गएको समेत याद गर्छन् । यसको मतलब उनि आफ्नो कार्यालय र मातहत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले कामसँगै घरयासी वातावरण पाउन भन्ने चाहान्छन् ।
आफ्ना कर्मचारीको जन्म दिनमा प्रहरी प्रमुख नवराज ढुंगाना आफै भेटेर जन्म दिनको शुभकामना अर्थात ‘ह्याप्पी बर्थडे’ भन्छन् । त्यति मात्रै हैन् उक्त दिन कार्यालयकै तर्फबाट चक्लेट बितरण गरेर सबैसँग खुसी साटिदिन्छन् । प्रहरीहरुलाई थप खुसी बनाउन सम्बन्धित व्यक्तिको फोटो राखेर जन्म दिनको शुभकामना सहित जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज सामाजिक संजालमा समेत राखिएको हुन्छ ।
त्यस्तै प्रत्येक महिनाको एक दिन उनि कार्यालय सहोगी देखि सबै श्रेणीका प्रहरी कर्मचारीहरुलाई एकै ठाउँमा राखेर चिया खाँदै कामका कुरा हैन् पारिवारिक कुरा गर्छन् । त्यहाँ उनले प्रत्येक कर्मचारीहरुलाई अरु व्यक्तिगत समस्या देखि घर गएको नगएको मिति समेत जानकारी लिन्छन् ।
प्रहरी प्रमुख ढुंगाना भन्छन्– ‘प्रहरी कार्यालयमा पारिवारिक वातारण हुनुपर्छ भन्ने कुराको निर्देशन हामीलाई विभागबाटै आएको हुन्छ । त्यसमा पनि प्रहरीको धेरै जसो काम गर्ने तल्लो तहको कर्मचारी जवान र हवाल्दारहरुले गर्ने हो । हामीले उहाँहरुलाई प्रेरित गर्यौ भने त्यसले कामको समेत राम्रो परिणाम देखिन्छ । एउटा व्यक्ति लामो समय देखि एउटै कार्यालयमा बसेर काम गरीरहँदा उसले आफ्नो घरपरिवार विर्सने लगायतका विभिन्न समस्या आउन सक्ने कुरालाई समेत ध्यानमा राखेर सकेसम्म जवान–हवाल्दारहरुलाई आलोपालो गरेर बिदामा पठाउने गरेका छौँ । जसले गर्दा एउटा परिवारिक वातावरण तयार हुन्छ भने काम गर्ने हौसला समेत बढ्ने देखिन्छ । महिनाको एक पटक कार्यालय सहयोगी देखि कार्यालय प्रमुख म आफै एकै ठाउँ बसेर आ–आफ्ना सुखदुख साटासाट गर्छौ । त्यस्तै प्रत्येक कर्मचारीको जन्मदिनको अवसर पारेर खुसी व्यक्त गर्छौ । यसले हामी पदिय हिसाले आ–आफ्नो जिम्मेवारीमा रहेको भएपनि सबैको दिनचार्य बराबर हुन्छ । हामी सबै समान छौँ भन्ने सोचको समेत विकास हुन्छ भन्ने उद्देश्यले यस्ता कामहरु गरेका हौँ । यसले श्रेणीगत रुपमा हुने गरेको विभेदलाई समेत कम गर्दै कामप्रति पूर्ण जिम्मेवार बनाउन मद्धत पुर्याउँछ ।’
प्रहरी प्रमुख आफैले आफ्नो जन्म दिनमा शुभकामना दिदैँ थप हौसला बढाउदा काम गर्ने ठाउँमा पनि पारिवारिक वातावरण मिलेको एक प्रहरी जवानले बताए । लामो समय सम्म परिवारबाट छुटेर बस्दा पारिवारिक यादहरुले कार्यालयमा गर्नुपर्ने काममा समेत बाधा पुग्ने गरेको बताउँदै हाम्रो समस्यालाई सहजै बुझेर बेलाबेलामा घर जान पाउनु निकै राम्रो भएको ति कर्मचारीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्