

कुल शिवभक्ति
सडकमा यात्रा गर्दा कतिपय दृश्यले यात्राको थकान बिर्साइदिन्छन् । आँखालाई शीतलता, मनलाई आनन्द र हृदयलाई प्रकृतिसँग नजिक भएको अनुभूति गराउने यस्तै अनुपम स्थल हो, रामेछापको खाँडादेवी गाउँपालिका–४, पकरबासस्थित माडी फाँट । खुर्कोट-मन्थली सडकखण्डबाट देखिने हरियाली, पहाडको काखमा फैलिएको खेतीयोग्य जमिन, तामाकोसी नदीको प्रवाह र लहलहाउँदा बालीले यस क्षेत्रलाई प्राकृतिक सौन्दर्यको अनुपम नमुना बनाएका छन् ।



नेपालमा ‘माडी’ भन्नेबित्तिकै धेरैलाई चितवन र पाल्पाका माडी क्षेत्रको सम्झना आउँछ । तर, रामेछापमा पनि आफ्नै विशिष्ट पहिचान बोकेको सुन्दर माडी फाँट छ । करिब ४ हजार २०० रोपनी क्षेत्रफलमा फैलिएको यस फाँटमा लगभग ३७२ घरधुरी किसानको जीविकोपार्जन कृषि पेसासँग जोडिएको छ । त्यसैले यो फाँट प्राकृतिक आकर्षणको केन्द्र मात्र नभई स्थानीय अर्थतन्त्र र ग्रामीण जीवनको महत्त्वपूर्ण आधारसमेत हो ।
खुर्कोटबाट मन्थलीतर्फ यात्रा गर्दा सडकबाटै देखिने माडी फाँटको दृश्यले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । एकातिर अग्ला पहाडका शृङ्खला, अर्कातिर कलकल बगिरहेको तामाकोसी र बीचमा फैलिएका हरिया खेतबारीले प्रकृतिले कोरेको सुन्दर चित्रको झल्को दिन्छन् । बताससँगै लहराउने बाली, खेतका गरामा फैलिएको हरियाली र नदीको मनमोहक परिवेशले यात्रुलाई केही बेर रोकिएर दृश्य नियाल्न मन लाग्ने बनाउँछन् ।
माडी फाँटको प्रमुख विशेषता कृषि हो । यहाँ धानभन्दा मकैको उत्पादन बढी हुने गर्छ भने धान पनि प्रमुख बालीमध्ये एक हो । मकैका हरिया बोटले खेतबारी ढाकिँदा फाँट हरियो गलैँचाजस्तै देखिन्छ । धान रोपाइँको मौसममा खेतहरू हरियालीले भरिन्छन् भने धान पाक्ने बेला पहेँलपुर बाला हावाको तालमा झुल्छन् । सुनौला धानका बालाले सजिएको फाँट हेर्दा प्रकृतिले सुनको गलैँचा बिछ्याएझैँ लाग्छ । यी बाली किसानको पसिना, परिश्रम र समृद्ध भविष्यका आशाका प्रतीक हुन् ।
माडी फाँटको प्राकृतिक तथा धार्मिक महत्त्व भटौली खोला अर्थात् दुर्गा नदी र खाँडादेवी मन्दिरसँग जोडिएको छ । स्थानीय धार्मिक आस्था र जनविश्वासमा महत्त्व राख्ने यस जलधाराले यहाँको प्राकृतिक वातावरण र कृषि गतिविधिमा समेत भूमिका खेलेको छ । नदीको स्वच्छता, प्राकृतिक बहाव र आसपासको वातावरण जोगाउनु स्थानीय सम्पदा संरक्षणको महत्त्वपूर्ण पक्ष हो ।
यद्यपि, माडी फाँटको कृषि विकासमा सिँचाइ अझै चुनौतीका रूपमा रहेको छ । भटौली खोला अर्थात् दुर्गा नदीको पानीले मात्रै करिब ४ हजार २०० रोपनी खेतमा पर्याप्त सिँचाइ पुर्याउन सकेको छैन । यस समस्यालाई कम गर्न तामाकोसीको पानी लिफ्ट प्रविधिमार्फत खेतसम्म पुर्याउने तथा डिप बोरिङबाट पानी उपलब्ध गराउने प्रयास गरिएको छ । हाल करिब चारदेखि पाँचवटा लिफ्ट सिँचाइ प्रणाली सञ्चालनमा रहेको जानकारी छ । यी प्रयासबाट करिब ८० प्रतिशतसम्म सिँचाइ सुविधा पुगेको भए पनि सबै खेतमा आवश्यक मात्रामा पानी उपलब्ध हुन सकेको छैन । सिँचाइ प्रणालीको नियमित मर्मतसम्भार, पानीको न्यायोचित वितरण र भरपर्दो जलस्रोतको व्यवस्थापन गर्न सकिए मकै, धानलगायत बालीको उत्पादन बढाउन सकिन्छ । यसले किसानको आम्दानी वृद्धि गर्नुका साथै स्थानीय खाद्य सुरक्षा र आर्थिक समृद्धिमा समेत योगदान पुर्याउनेछ ।
कृषि र प्राकृतिक सौन्दर्यसँगै माडी फाँटमा धार्मिक तथा ग्रामीण पर्यटनको सम्भावना पनि उत्तिकै छ । तामाकोसी नदीको मनमोहक दृश्य, खाँडादेवी मन्दिरसँग जोडिएको धार्मिक आस्था र परम्परागत ग्रामीण जीवनशैलीले यस क्षेत्रलाई थप आकर्षक बनाएका छन् । सुरक्षित दृश्यावलोकन स्थल निर्माण, सरसफाइ, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र व्यवस्थित प्रचारप्रसार गर्न सके माडी फाँट रामेछापको आकर्षक गन्तव्य बन्न सक्छ । तर विकास र पर्यटनको चाहनासँगै प्राकृतिक सम्पदाको संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । नदीमा फोहोर फाल्ने, अनियन्त्रित उत्खनन गर्ने र खेतीयोग्य जमिन मास्ने गतिविधि रोक्दै नदीको प्राकृतिक बहाव तथा आसपासको वातावरण जोगाउन आवश्यक छ ।
नदी किनारमा अवस्थित माडी फाँटको उर्वर भूमि र यहाँका बस्तीलाई सम्भावित बाढी तथा कटानको जोखिमबाट सुरक्षित राख्नु पनि आजको महत्त्वपूर्ण आवश्यकता हो । भदौ १० गते रसुवामा आएको बाढी र असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट उत्पन्न विनाशको जोखिमले हामीलाई प्राकृतिक विपद्प्रति सचेत रहन सिकाउँछ । यस्ता घटनाबाट पाठ सिक्दै तामाकोसी नदीको सम्भावित बाढी र कटानबाट माडी फाँटलाई जोगाउन समयमै योजनाबद्ध प्रयास थाल्नुपर्छ । जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन, आवश्यक तटबन्ध निर्माण, नदी किनारको संरक्षण र विपद् पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्छ । स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार र समुदायबीच सहकार्य गरी दीर्घकालीन संरक्षण योजना अघि बढाउनु आवश्यक छ । चितवन र पाल्पाका माडी क्षेत्रको चर्चा भइरहँदा रामेछापको माडी फाँटलाई पनि जिल्लाको प्राकृतिक, धार्मिक तथा कृषि पहिचानका रूपमा स्थापित गर्नुपर्छ । ४ हजार २०० रोपनी उर्वर भूमि, ३७२ घरधुरी किसानको श्रम, मकै र धानका लहलहाउँदा बाली तथा तामाकोसीको मनमोहक परिवेश यस क्षेत्रका अमूल्य सम्पत्ति हुन् । यी सम्पत्तिको संरक्षण गर्नु स्थानीय समुदायको मात्र नभई राज्य र सम्बन्धित सबै निकायको साझा दायित्व हो ।
खुर्कोट–मन्थली सडकबाट देखिने माडी फाँटले हामीलाई सम्झाउँछ, सुन्दरता खोज्न सधैँ टाढा पुग्नुपर्दैन; कहिलेकाहीँ आफ्नै आँगनमा प्रकृतिले अमूल्य उपहार सजाएर राखेकी हुन्छिन् । पर्याप्त सिँचाइ, कृषि विकास, पर्यटन प्रवर्द्धन र नदीजन्य विपद्बाट संरक्षणका काम समयमै गर्न सकिए यो फाँट समृद्धिको सुन्दर उदाहरण बन्न सक्छ । तामाकोसीको बाढीले माडी फाँटको उर्वर भूमि, किसानको पसिना र पुस्तौँदेखिको पहिचानलाई तहसनहस बनाउने अवस्था आउन नदिन आजैदेखि ठोस कदम चालौँ । विपद् आएपछि पछुताउनुभन्दा विपद् आउनुअघि नै सजग बनौँ । माडी फाँट जोगाऔँ, किसानको भविष्य सुरक्षित गरौँ र भावी पुस्ताका लागि प्रकृतिको यो अनुपम उपहार संरक्षण गरौँ ।
(लेखक शिवभक्ति रामेछापको मन्थली-२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक हुन् ।)


















