
रामेछाप- रामेछापको रामेछाप नगरपालिका–५ रामपुरमा शुक्रबारदेखि जारी अन्तरवडा खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रामेछाप नगरपालिका–५ रामपुर ए र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ प्रवेश गरेका छन् ।




शनिबार सम्पन्न सेमिफाइनल खेलमा रामपुर ए ले चम्पादेवी गाउँपालिका–१ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । त्यसैगरी चम्पादेवी गाउँपालिका–२ ले रामेछाप नगरपालिका–४ हिमगंगालाई हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको छ ।
फाइनलमा प्रवेश गरेका रामपुर ए र चम्पादेवी गाउँपालिका–२ बीच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुने खेल संयोजक टंकराज श्रेष्ठले जानकारी दिए । त्यस्तै, तृतीय स्थानका लागि चम्पादेवी गाउँपालिका–१ र रामेछाप नगरपालिका–४ हिमगंगाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः ८० हजार, ५० हजार, ३० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारसँगै विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी, प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ६ जना खेलाडीलाई एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म नगद पुरस्कारसहित मेडल प्रदान गरिनेछ ।
रामेछाप र ओखलढुंगाका विभिन्न स्थानबाट १३ टिमको सहभागिता रहेको प्रतियोगिता रामेछाप नगरपालिका–५ रामपुरको आर्थिक सहयोगमा सुनकोशी सामुदायिक सिकाइ केन्द्र रामपुरले आयोजना गरेको हो ।
वडाको खेलकुद क्षेत्रको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रामेछाप नगरपालिका–५ रामपुरका वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले बताए ।
प्रतियोगिताको उद्घाटन रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले गरेका थिए ।

















