रामेछाप– जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । लिखुतामाकोशी गाउँपालिकाको १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष केशव महतले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन, कृषकहरूलाई आत्मनिर्भर र व्यावसायिक बनाउने जस्ता कार्यक्रम समेटिएका छन् । त्यस्तै गाउँपालिकामा उत्पादन हुने टिमुर, आँप, कटहर, किवी, सुन्तला, कागती, कफी, जुनार, अमला, अम्रिसो, एभोकाडो उत्पादनलाई प्रोत्साहन कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ ।
नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरी पशुपालन व्यवसायमा आकर्षित गरिने, लघु तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरूलाई सरल ढङ्गबाट सहुलियत दरमा ऋण उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थाहरूसँग समन्वय र सहकार्य गरिने, व्यवसाय सुरु गरेका र गर्न चाहने उद्यमी व्यक्ति, फर्म वा समूहले आयमूलक र रोजगारीमूलक काम वा व्यवसाय सुरु गरेमा त्यस्ता व्यवसायमा न्यूनतम ब्याजदरमा लगानी गर्ने कार्यमा राष्ट्रिय वाणिज्य बैङ्कसँग सहकार्य गरिने, विद्यालय समायोजन पश्चात् विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै माध्यमिक तह सञ्चालित विद्यालयमा स्कुल बसको व्यवस्थापनका लागि विशेष पहल गरिने, गाउँपालिकालाई आवश्यक पर्ने दक्ष जनशक्तिको अभावलाई न्यूनीकरण गर्न प्रति वर्ष एस.इ.इ.मा उत्कृष्ट नतिजा ल्याउने यस गाउँपालिकाभित्रका १० जना जेहेनदार मेधावी छात्र छात्राहरूलाई १००% छात्रवृत्तिमा सरकारी विद्यालयमा प्राविधिक धार तर्फ र शिक्षा सङ्कायमा गणित, विज्ञान र अङ्ग्रेजी विषयको अध्ययन गर्ने व्यवस्था मिलाइने, अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम हरेक महिना सञ्चालन गरी घरघरमा गएर जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिने, सुत्केरी र नवशिशुहरूलाई सुरक्षित स्वास्थ्य सुनिश्चित गर्न उपाध्यक्षको गर्भवती सुत्केरी कोसेली कार्यक्रमलाई निरन्तरता दिने, प्रत्येक वडामा गर्भवती आमाहरूलाई भिडियो एक्स-रे सेवा सञ्चालन गरिने, खानेपानीको समस्यालाई समाधान गर्न एक घर एक धारा कार्यक्रमलाई प्राथमिकताका आधारमा निरन्तरता दिने जस्ता कार्यक्रमहरुलाई गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
नीति तथा कार्यक्रम तोकिएकै समयमा ल्याएको लिखुतामाकोशी गाउँपालिकाले बजेड भने ल्याएको छैन् । सोमबार आउन नसकेको बजेटलाई पनि असार भित्रै ल्याउने गरी तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले बताए ।
नीति तथा कार्यक्रम
लिखु तामाकोशी गाउँनपालिकाको तेह्रौं गाँउ सभामा प्रस्तुत
उपाध्यक्षज्यू,
आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम
प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू, निवर्तमान जनप्रतिधिज्यूहरु, विभिन्न राजनीतिक दलबाट यस नीति तथा कार्यक्रममा पाल्नु भएका दलका प्रतिनिधिज्यूहरु, सञ्चारकर्मी मित्रहरु, सुरक्षाकर्मी साथीहरु, राष्ट्रसेवक कर्मचारी साथिहरु, उपस्थित बुद्धिजीवी, जेष्ठ नागरिक, नागरिक समाजका अगुवा लगायत सवैमा अभिवादन व्यक्त गर्दछु ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल स्थापना पश्चात स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएर आउनु पूर्व हामीले जनताको माझमा व्यक्त गरेका विभिन्न प्रतिवद्धताहरु पूरा गर्नु पर्ने दायित्व सिर्जजना भएको छ । यहाँका हरेक अप्ठ्याराहरुसँग हामी दैनिक रुपमा साक्षात्कार नै छौं । जनताको आवश्यकता तथा आकाङ्क्षा एकैसाथ पूरा गर्नको लागि सिमित स्रोत साधनले चाहेर पनि हामीलाई एकै पटक सम्पन्न गर्न साथ दिदैन । त्यसैले हामीले विद्यमान कानुनी व्यवस्थालाई टेकेर जनताको मुख्य समस्या र आवश्यकतालाई प्राथमिकताका साथ समाधान गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौ ।
नेपाली जनताले विभिन्न समयमा गरेका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष मार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापनार्थ गरेको त्याग र बलिदानहरुलाई स्मरण गर्दै सो क्रममा आफ्नो जीवन आहुति दिनु हुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरुप्रति सम्मान र हार्दिक श्रद्धाजली अर्पण गर्दछु ।
प्राकृतिक प्रकोप तथा महामारीले सिर्जना गरेको मानवीय, आर्थिक र मनोवैज्ञानिक त्रास सहितको सङ्कटपूर्ण घडीमा उक्त महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा ज्यान गुमाउनु भएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी लगायत नेपाली दाजुभाइ, दिदीबहिनीप्रति हार्दिक श्रद्धाञ्जलीव्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुका साथै उपचाररत सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु
लिखु तामाकोशी गाउँपालिकाका सचेत मतदाताले दिएको अभिमत अनुरुप सहमति, सहकार्य र सहभागिताको भावनालाई आत्मसाथ गर्दै आर्थिक सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, आर्थिक अनुशासन र सुशासन प्रवर्द्धनका कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राख्दै कृषि, पर्यटन तथा रोजगारीको माध्यमबाट सुन्दर र समुन्नत लिखु तामाकोशी गाउँपालिकाको पहिचान स्थापित गर्नु पर्नेछ । जनतालाई सुशासनको प्रत्याभूति दिँदै जनताको घरघरमा सिंहदरबार पुऱ्याउन लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर यो गाउँपालिका अधिकार सम्पन्न स्थानीय सरकारको रुपमा स्थापित गर्ने छौँ भन्ने कुरामा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।
विगतमा भएका राजनैतिक सङ्घर्षको अवस्थामा पनि जनताका माग र आवश्यकता तथा अपेक्षाको उचित सम्बोधन गर्दै स्थायी सरकारको रुपमा कार्य गरी अनवरत रुपमा सेवा प्रदान गर्नु भएका राष्ट्रसेवक कर्मचारीप्रति सम्मान गर्दै आउने दिनमा उहाँहरुको मनोबललाई उच्च राख्दै अझै प्रभावकारी ढङ्गले सेवा प्रदान गर्न कर्मचारी वर्गलाई उत्प्रेरित गर्ने नीति लिइएको छ ।
नेपालको संविधान, सङ्घ एवम् प्रदेश सरकारका आवधिक योजनाले परिलक्षित गरेका विषयहरु, दिगो विकासको लक्ष्य राजनैतिक दलहरुको चुनावी घोषणापत्र सङ्घीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम राजनैतिक दल र अन्य सरोकारवालाहरुबाट प्राप्त सुझावहरु समेतको आधारमा यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । नेपालको संविधानले नेपाली जनताको सार्वभौमिकतालाई संवैधानिक, कानुनी र व्यावहारिक रुपमा स्थापित गरिसकेको परिप्रेक्षमा संविधान प्रदत्त हक, अधिकारहरु तथा राज्य र स्थानीय सरकारबाट प्रदान गरिने सेवा सुविधाहरु गाउँपालिकाका सबै जनता समक्ष पुऱ्याउनु हाम्रो प्रमुख दायित्व हो । तथ्य, तर्क र कानुनका आधारमा जायज कुराहरुको सम्बोधन गर्ने परिपाटीलाई निरन्तरता दिनुका साथै लोकप्रियताका लागि मात्र नभई जनताका लागि आवश्यकताका आधारमा कार्य गर्न प्रतिबद्धता जनाउन चाहन्छु ।
नेपालको संविधानले निर्दिष्ट गरेको नागरिक हक अधिकारको रक्षा गरी आर्थिक विकासको माध्यमबाट गाउँपालिकालाई सबल र समृद्ध बनाउन आवधिक योजना निर्माण गरी अल्पकालिन र दीर्घकालिन सोच र लक्ष्यका साथ स्थानीय सरकारलाई क्रियाशील बनाउने साथै सम्पूर्ण महिला, दलित, जनजाति, अपाङ्ग, आदिवासी, अल्पसंख्यक लगायत पिछडिएको वर्गको सहभागितालाई विकासको मुल प्रवाहमा समावेश गराउन स्थानीय सरकारलाई क्रियाशील बनाउने नीति लिइएको छ ।
नेपालको संविधान ऐन, कानुन, मन्त्रालयहरुबाट प्राप्त परिपत्र, दिग्दर्शन र विभिन्न विषयगत समितिको बजेट सिलिङको आधारमा सहभागितामूलक तवरले आयोजना र कार्यक्रम छनौट गरी नीति कार्यक्रम र बजेट तर्जुमा गरेका छौं । साथै आर्थिक वर्ष २०८१/०८२ मा संविधानले प्रदान गरेको क्षेत्राधिकारभित्र रही स्थानीय स्तरमा बाँकी रहेका महत्वपूर्ण ऐन, नियम, कार्यविधि तथा निर्देशिका तयार गरी सोही बमोजिम कार्य अगाडि बढाउनु पर्ने आवश्यकता रहेको छ ।
समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको दीर्घकालिन सोचलाई सार्थक बनाउन हामी लिखु तामाकोशी गाउँपालिकाका जनप्रतिनिधि र गाउँबासीले पनि योगदान पुन्याउन जरुरी छ । यसैमा आधारित रहेर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यो गरिमामय गाउँसभाबाट पारित गराई कार्यन्वयन गर्न गाउँसभाका सबै सदस्यहरुको सक्रिय र सहयोगी भुमिका रहने कुरामा म आशावादी छु ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा गाउँपालिकाले निम्न आधारहरु लिएको छ ।
नेपालको संविधान (राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू)
स्थानीय सरकार सञ्चालन ऐन, २०७४
सोह्रौं योजनाको दीर्घकालीन सोंच, लक्ष्य, उद्देश्य, नीति तथा रणनीतिहरु
नेपाल सरकार तथा प्रदेश सरकारको आ.व. २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम
लिखु तामाकोशी गाउँपालिकाको बजेट तर्जुमा दिगदर्शन, २०८०
गाउँपालिकाका ऐन, नियम, कार्यविधि र निर्देशिकाहरु
दिगो विकासका लक्ष्य २०१६-२०३०
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन
लिखु तामाकोशी गाउँपालकाका सबै विषयगत समिति, शाखा, सबै वडा कार्यालयहरु
सरोकारवाला, निकायहरुबाट प्राप्त सुझाबहरु तथा निर्णयहरु
गाउँ कार्यगाउँपालिका तथा गाउँसभाका विगतका निर्णयहरु
सभाका सदस्यज्यूहरु,
अब म गाउँपाकिकाले तय गरेका नीतिहरु प्रस्तुत गर्न चाहन्छु ।
राजस्व परिचालन
विगतका वर्षहरुमा राजस्व र आन्तारिक आयको अवस्था नतिजामूलक नदेखिएको हुनाले चालु आर्थिक वर्षमा आन्तारिक राजस्व सङ्कलन र राजस्वको दर र दायरा विस्तार गर्ने नीति अगाडि बढाइनेछ ।
आर्थिक वर्ष २०८१/०८२ मा राजस्व र आन्तरिक आय वृद्धिका लागि राजस्व परामर्श समितिको सिफारिस समेतलाई दृष्टिगत गरी निम्नानुसारको नीति अबलम्बन गर्ने प्रस्ताव अघि सारेको छु:-
१.राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न छुट्टै कर्मचारीको व्यवस्था गरी शाखा विस्तार गरिनेछ
२.राजस्वका दरहरुलाई उपयुक्त विन्दुमा राखी दायरा विस्तारमा जोड दिइनेछ।
३. हालसम्म गाउँपालिकाको करको दायरामा नआएको ढुङ्खा, गिट्टी, वालुवा, स्लेट, ढुङगा, खरी लगायत खनिज जन्य वस्तुको निकासी लाई करको दायरामा ल्याइनेछ ।
४. गाउँपालिकाको लगानीमा निर्माण भएका पूर्वाधार तथा सडकहरुमा सेवा शुल्क लगाई आय सङ्कलन गरिनेछ ।
५. गाउँपालिका भित्र व्यवसाय सञ्चालन गरीरहेका तर गाउँपालिकामा दर्ता/नवीकरण नगरेका व्यवसायीलाई दर्ता/नविकरण गर्न ताकेता गरिनेछ । गाउँपालिका केन्द्र भन्दा बाहिर रहेका बजार क्षेत्रमा सञ्चालित व्यवसायलाई करको दायरामा ल्याई दर्ता/नवीकरण शिविर सञ्चालन गरिनेछ । जस्तै: ढाडे बजार, सिरिसे बजार, खिम्ती बजार इत्यादि ।
६.भूमि तथा सम्पत्ति करलाई अझ वैज्ञानिक बनाउँदै लगिनेछ । सबै वडामा इन्टरनेट सेवा विस्तार गरी यस्ता किसिमका करहरु अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याएको राजस्व व्यवस्थापन सूचना प्रणाली (Revenue Management Information System – RMIS) प्रयोगमा ल्याई कार्यन्वयनमा लाने नीति लिइनेछ ।
७. सञ्चित कोषबाट हुने तलब भत्ता लगायतका सबै सरकारी भुक्तानीहरु इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (Eelectronic Fund Transfer-EFT) मार्फत बैङ्क खाताबाट मात्रै गरिनेछ ।
८. सङ्कलन गरिएको राजस्वलाई बजेट सिलिङ प्रदानको आधार बनाई राजस्व सङ्कलन गर्ने वडालाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।
९. गाउँपालिकालाई तिर्नु बुझाउनु पर्ने सम्पूर्ण कर, राजस्व बेरुजु शुल्क बुझाउनको लागि विशेष पहल गरिनेछ ।
१०. राजस्व चुहावट नियन्त्रणमा विशेष सजगता अपनाइनेछ । करको दायरामा आउने नआउने समयमा कर तिर्ने नतिर्ने बीच फरक अनुभुति दिन कर छुट, दण्ड तथा पुरस्कार सम्मान जस्ता कार्यहरु गरिनेछ । उक्त नीतिहरु लागू गर्दा करदाताहरुलाई करको थप व्यय भार नपर्ने तर्फ पर्याप्त अध्ययन विश्लेषण गरी तय गरिएको व्यहोरा समेत यस सभामा अवगत गराउन चाहन्छु
आर्थिक विकास
कृषि
१. एक वडा एक उत्पादन कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने नीति अबलम्बन गरी कृषकहरुलाई आत्मनिर्भर र व्यावसायिक बनाउन प्रयत्न गरिनेछ ।
२. यस गाउँपालिकाका खेतीयोग्य जमिनमा आगामी ५ वर्षभित्र सिंचाइ सुविधा उपलब्ध गराउन नदी खोला तथा खोल्साहरुबाट भएको भूक्षय तथा अन्य विभिन्न किसिमका बुट्यानलाई नियन्त्रण गर्नका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरिएको नीतिलाई निरन्तरता दिइनेछ ।
३. यस गाउँपालिकाभित्र स्थापना भएका उद्योग वा अन्यत्र स्थापना भई यस गाउँपालिकामा कार्यक्षेत्र बनाई कार्य गरिरहेका उद्यमको प्रवर्द्धन गरी रोजगार सिर्जना गर्ने र उत्पादनलाई बजारीकरण गर्ने प्रक्रिया अघि बढाउने र विभिन्न व्यवसाय गरिरहेका व्यवासायीलाई प्रोत्साहन गर्न नियमित अनुगमन गरी कर राजस्व लगायत विभिन्न विषयमा अभिमुखीकरण गरिनेछ ।
४. कृषि पेशालाई व्यावसायिक र यान्त्रीकरण गर्दै आधुनिक कृषि प्रणालीको विकास मार्फत एक वडा एक उत्पादन कार्यक्रमलाई अभियानका रुपमा पकेट, ब्लक, जोन हुँदै सुपर जोनका रुपमा विकास गरी बजारीकरणको व्यवस्था मिलाइनेछ ।
५. खाद्यान्न, फलफुल एवम् तरकारी बालीमा लाग्ने रोग कीराबाट हुने क्षति न्यूनीकरण गर्न जैविक तथा विषादिको प्रयोगमा किसानहरुलाई थप ज्ञान र सीप प्रदान गर्दै लगिनेछ ।
६. टिमुर, आँप, कटहर, किवी, सुन्तला, कागती, कफी, जुनार, अमला, अम्रिसो, एभोकाडो उत्पादनलाई प्रोत्साहन गरिनेछ ।
७. खेतबारीको माटो सुधारका लागि घुम्ती-माटो परीक्षण शिविर कार्यक्रम सञ्चालन गरिनेछ । साथै माटोको अवस्था अनुरुपको प्राङ्गारिक पदार्थ, कृषि चुन तथा भकारो सुधार कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८. सुख्खाग्रस्त भू-भागलाई सिंचाइ प्राणालीसँग जोड्दै, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि थोपा सिंचाई र लिफ्टिङ सिचाइलाई प्राथामिकता दिइनेछ
९. गाउँपालिकाको कृषि क्षेत्रको सुदृढीकरणका लागि अन्य सरकारी, गैरसरकारी र विज्ञहरुसँग सहकार्य गरिनेछ ।
१०. मौरीपालन व्यवससायलाई प्रवर्द्धन गर्ने नीति अनुरुप गत आर्थिक वर्षमा कार्यान्वयन गरिएको मौरी प्रवर्द्धन कार्यक्रम यस आर्थिक वर्षमा हबका रुपमा अझै विस्तार गरिनेछ ।
पशु सेवा र विकास
१. नश्ल सुधारका लागि उन्नत जातको गाई, भैंसी, राँगो, सुँगुर लगायतका पशुपालनमा जोड दिइनेछ ।
२. वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरी पशुपालन व्यवसासयमा आकर्षित गरिनेछ ।
३. कृत्रिम गर्भाधानको माध्यमबाट दुध, मासु, उत्पादनमा बृद्धि गरिनेछ । गाउँपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन प्राथमिकताका साथ आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
४. जुनोटिक रोग तथा परजिवी नियन्त्रण शिविर, घरपालुवा तथा छाडा कुकुरहरु नियन्त्रणका लागि बन्ध्याकरण र रेबिज खोप शिविर तथा पशु रोग र महामारी सम्वन्धी विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
५. गाई, भैंसी, बाख्रा, कुखरा, बङ्गुर लगायतका पशुपालन एवं पशु आहाराको पकेट क्षेत्र स्थापना गर्न अन्य निकायसँग समेत सहकार्य गरिनेछ ।
६. व्यक्तिगत फार्म, समूह, सहकारी मार्फत पशुपन्छी पालन, गोठ/खोर र भकारो सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।
उद्योग, वाणिज्य तथा वित्तीय क्षेत्र
१. लघु तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरुलाई सरल ढङ्गबाट सहुलियत दरमा ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
२. व्यवसाय सुरु गरेका र गर्न चाहने उद्यमी व्यक्ति, फर्म वा समूहले आयमूलक र रोजगारीमूलक काम वा व्यवसाय सुरु गरेमा त्यस्ता व्यवसायमा न्युनतम ब्याजदरमा लगानी गर्ने कार्यमा राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिनेछ ।
३.लिखु तामाकोशी गाउँपालिकाको आर्थिक विकासलाई योगदान पु-याउने उद्देश्यले गाउँपालिकाभित्र सञ्चालित लघु उद्यम व्यवसायलाई प्रोत्साहन गरिनेछ ।
४. खानी र खनिज पदार्थको अधिकतम उपयोग गरी रोजगारी सिर्जना र राजस्व अभिवृद्धिमा जोड दिइनेछ ।
सहकारी
१. सहकारीको मूल्य र सिद्धान्तलाई अनुसरण गराउन सबै सहकारीलाई अभिप्रेरित गरी सहकारी तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
२. कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण एवं कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी संस्थाको संलग्नता र सहभागितालाई प्रथामिकता दिइनेछ ।
३. सहकारी संस्थाहरुको आन्तरिक नियन्त्रण पद्धति र लेखा परीक्षणलाई थप व्यवस्थित गरी नियमन कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
४. कृषि सहकारीलाई थप क्षमतायुक्त बनाउँदै उत्पादनशील गतिविधिमा संलग्न गराउन साझेदारीमा अध्ययन अवलोकनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
५.यस अघि दर्ता भएका तर गाउँपालिकामा अद्यावधिक हुन नआएका सहकारीहरुको वास्तविक अवस्था पहिचान गरी समायोजन एवं अद्यावधिक हुन प्रोत्साहित गरिनेछ । रुग्ण सहकारीलाई खारेजीको प्रकृयामा लगिनेछ ।
६. हाल देशभरि देखिएको सहकारी सम्बन्धी अव्यवस्थित गतिविधिलाई नियन्त्रण गरी यस गाउँपालिकामा क्रियाशील सहकारीहरुमा बचत गर्ने बचतकर्ताहरुको बचत रकमलाई सुरक्षित गर्ने, सहकारी संस्थाहरुको गतिविधिको अनुगमन गर्ने, वार्षिक लेखा परीक्षण प्रतिवेदन मगाई अद्यावधिक गर्ने, सम्पूर्ण सहकारीहरुलाई अनिवार्य सूचीकृत गर्ने र अटेर गर्ने सहकारीलाई कानुनी कारबाही प्रक्रियामा लगिनेछ ।
श्रम तथा रोजगारी प्रवर्द्धन
१. “श्रमको सम्मान राष्ट्रको अभियान” मूल नाराका साथ स्थानीय तहमा दर्ता भएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्नका लागि कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरी श्रममूलक आयोजना मार्फत समुदायको विकाससँगै सामाजिक संरक्षणको प्रत्याभुति गराइनेछ ।
२. श्रम सम्बन्धलाई प्राथमिकता दिँदै सार्वजनिक पूर्वाधार निर्माण, कृषि, व्यवसायिक उद्योग, वित्तीय क्षेत्रबाट रोजगारी सिर्जना गरिनेछ । यसलाई कार्यान्वयन गर्न गाउँपालिकाबाट पनि बजेट व्यवस्था गरिनेछ ।
३. रोजगार सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक बजेट बिनियोजन गरी थप प्रभावकारी बनाइनेछ ।
४. कामको सम्मान, रोजगार तथा उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षण सहितको श्रम व्यवस्थापन गाउँपालिकाको नीति हुनेछ ।
५. श्रम स्वीकृति स्थानीय तहबाटै गर्ने भन्ने सङ्घीय सरकारको निर्णयानुसार यस गाउँपालिकाले पनि श्रम स्वीकृति दिने प्रक्रियालाई स्थानीय तहबाटै सुव्यवस्थित रुपमा गरिएको कार्यान्वयन प्रक्रियालाई निरन्तरता दिइनेछ ।
६. आयोजनाहरुको निर्माण कार्यमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार नागरिकलाई प्राथमिकता दिई न्यूनतम एक सय दिनको रोजगारी सुनिश्चित गर्दै समयमै सूचिकृत हुन प्रोत्साहित गरिनेछ ।
७. वडाबाट सञ्चालन हुने योजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमसँग समन्वय गरी कार्यान्वयन गर्दै लगिनेछ ।
८. यस गाउँपालिकाबाट सिर्जना गरिने रोजगारीका अवसहरु प्रधानमन्त्री रोजगार कार्यक्रम, उपभोक्ता समिति लगायत अन्य कार्यक्रमलाई बढीभन्दा बढी रोजगारमुखी बनाउने र टोल विकास समिति अनिवार्य गठन गरी विकास निर्माणमा स्थानीयलाई अनिवार्य सहभागी गराई रोजगारीका अवसरहरु सिर्जना गर्ने तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको सीप र क्षमताको सम्मान गर्दै स्वदेशमै व्यवसाय गर्न उत्प्रेरित गरिनेछ ।
सामजिक विकास शिक्षा, युवा तथा खेलकुद
१. शैक्षिक गुणस्तर सुधारका लागि भौगोलिक विकटता, उपलब्ध स्रोत साधन तथा जनशक्तिलाई मध्यनजर गर्दै गाउँपालिकाको उपयुक्त स्थानमा आवासीय विद्यालयको अभ्यास प्रारम्भ गरिनेछ । साथै विद्यालय समायोजन पश्चात् विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै माध्यामिक तह सञ्चालित विद्यालयमा स्कुल बसको व्यवस्थापनका लागि विशेष पहल गरिनेछ ।
२. गाउँपालिकालाई आवश्यक पर्ने दक्ष जनशक्तिको अभावलाई न्यूनीकरण गर्न प्रति वर्ष एस.इ.इ.मा उत्कृष्ट नतिजा ल्याउने यस गाउँपालिकाभित्रका १० जना जेहेनदार मेधावी छात्र छात्राहरुलाई १००% छात्रवृत्तिमा सरकारी विद्यालयमा प्राविधिक धार तर्फ र शिक्षा सङ्कायमा गणित, विज्ञान र अङ्ग्रेजी विषयको अध्ययन गर्ने व्यवस्था मिलाइनेछ ।
३.एक वडा एक इ-लाइब्रेरी कार्यक्रमलाई कार्यान्वयन गर्न सात वटै वडामा सामुदायिक सिकाइ केन्द्र स्थापना गरी सम्बन्धित वडाको पायक पर्ने स्थानमा सुविधा सम्पन्न विद्युतीय पुस्तकालयको निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।
४. सीप सिकौँ आत्मनिर्भर बनौं भन्ने नाराका साथ कक्षा १२ सञ्चालनमा भएका विद्यालयहरूमा शिक्षासँग सीप भन्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइनेछ ।
५. स्थानीय स्तरमा बाल प्रतिभा पहिचान तथा प्रस्फुटन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
६. बागमती प्रदेश सरकारको एक विद्यालय एक उद्यान कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन विशेष रणनीति अवलम्बन गरिनेछ ।
७. हरेक माद्यमिक विद्यालयको खेलकुद विकासका लागि प्रति विद्यालय वार्षिक रू ५०,०००/- (अक्षरुपी पचास हजार) बजेट विनियोजित गरिएको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८. . शिक्षा क्षेत्रमा देखिएका विविध समस्याहरुको प्रभावकारी समाधानका लागि शैक्षिक सरोकारवालाहरुसँग आवश्यक परामर्श गरी प्राप्त सुझावहरुको आधारमा गाँउशिक्षा योजना निर्माण गरी शैक्षिक कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनेछ ।
९. बालबालिकालाई विद्यालय पठाऔं अभियान सञ्चालन गरी आधारभूत तहमा विद्यालय उमेर ५ देखि १२ वर्ष उमेर समुहका सम्पूर्ण बालबालिकाहरु विद्यालयमा ल्याउने, टिकाउने र सिकाउने वातावरण सिर्जना गरी भर्ना सुनिश्चित गरिनेछ ।
१०. शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रविधिमैत्री र शैक्षिक सामग्री सहितको शिक्षण सिकाइ क्रियाकलापमा जोड दिई उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्ने गराउने शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई प्रोत्साहन एवम् पुरस्कृत गरिनेछ
I
११. विद्यालयहरूको भौतिक अवस्था सुधार गरी शैक्षिक सुधारका कार्यक्रम ल्याइनेछ
१२. उँपालिकाबाट दिइएका अनुदानहरू कम्प्युटर स्वंयमसेवक शिक्षक, बाल सहकर्ता र कार्यालय सहयोगीहरुको अनुदानलाई निरन्तरता दिइने छ ।
१३. विद्यार्थी संख्या र भौगोलिक अवस्थाको आधारमा विद्यालय समायोजन, विद्यार्थी संख्या र भौगोलिक अवस्थाको आधारमा कम्तीमा १० जना बालबालिकाको संख्या पुग्ने ठाउँहरूमा वालबिकास केन्द्र स्थापना गरी सञ्चालन गरिने छ
१४. कक्षा घटाउने र विद्यालयगत दरबन्दी निर्धारण गरी सबै माध्यामिक तह (कक्षा ९-१०) तथा आधारभूत तहका (कक्षा ६-८) विद्यालयमा अङ्ग्रेजी, गणित तथा विज्ञान विषयका न्यूनतम शिक्षक दरवन्दीको सुनिश्चित गरिनेछ।
१५. जेहेन्दार विपन्न विद्यार्थीहरूको प्राविधिक शिक्षा तथा उच्च शिक्षामा पहुँच पु-याउन छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने छ ।
१६. शिक्षक तालिमका माध्यमबाट आधारभूत तथा माध्यामिक तहका शिक्षकहरूको कार्य सम्पादनमा निखारता ल्याई उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गराईने छ ।
१७. स्थानीय विषयवस्तु अनुसारको शिक्षा प्रदान गर्न आधारभूत तह (कक्षा १-८) स्थानीय भाषा पाठ्यक्रम निर्माण गरिने छ ।
१८. विद्यालय अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने छ ।
१९. विद्यालय शिक्षण सिकाईलाई प्रभावकारी बनाउन विद्यालयहरूलाई शैक्षिकसामग्री वितरण गरिने छ ।
२०. प्रत्येक विद्यार्थीहरूलाई व्यवहारिक सिप विकास गर्न दैनिक जीवनमा नभइनहुने हुने सीपहरू सिकाईने तथा स्थानीय शैक्षिक सामाग्री निर्माणमा जोड दिने जस्ता कार्यक्रम ल्याइनेछ ।
२१. अतिरिक्त सिकाइलाई जोड दिदै कक्षा ८, १० र १२ मा कोचिङ कक्षा मार्फत सिकाई उपलब्धी हासिल गराइनेछ ।
२२. अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालय सिकाइलाई थप प्रभावकारी बनाइनेछ ।
२३. विद्यालयहरुलाई विभिन्न किसिमका शैक्षिक सामग्री वितरण गरिनेछ । विद्यालयसंग सम्बन्धित खेलकुद प्रतियोगिताहरू सञ्चालन एवं व्यवस्थापन गरिने छ।
२४. राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई थप व्यवस्थित रुपमा सञ्चालन गरिनेछ ।
२५. खेलाडी प्रशिक्षण कार्यक्रम सञ्चालन गरी विभिन्न प्रतियोगिताका लागि खेलाडी छनौट कार्यक्रम सञ्चालन गरिनेछ ।
२६. खेलाडी लगायत विद्यालयलाई खेल सामग्री वितरण गरिनेछ ।
२७. गाउँपालिकाको खेल क्षेत्र विकासका लागि अन्तरक्रिया, सम्मान,
२८. पुरस्कार लगायत, अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।
२९. विभिन्न सिपमूलक तालिम मार्फत युवाहरू माझ रोजगारी सृजना गरिने छ ।
३०. युवा उद्यमीहरूलाई सम्मान एवम् पुरस्कृत गरी हौसल्ला प्रदान गरिनेछ ।
३१. सामाजिक विकासको क्षेत्रमा योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूल प्रवाहीकरण गरी स्वस्थ र नैतिवान समाज निर्माण गर्न गाउँपालिकास्तरमा योग र ध्यानको स्वजागरण अभियान सञ्चालन गर्नुका साथै योग ध्यान र आरोग्य शिक्षा स्थापित गर्नुका साथै सम्पूर्ण माद्यमिक विद्यालयमा योग ध्यान कार्यक्रम सञ्चालन गरिनेछ ।
स्वास्थ्य सेवा
१. गाउँपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरुको सुदृढीकरण गरी अत्यावश्यक सूचीका औषधि सहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सुनिश्चित गरिनेछ
२. सङ्घ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा सञ्चालन गरिएको १५ शैयाको अस्पतालमा सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुको लागत साझेदारीमा दाँत र आँखाको सेवा विस्तार गरिनेछ । खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सेवा सञ्चालनमा ल्याइनेछ र स्वास्थ्य बीमाका सेवाहरुलाई सहज र सरल वनाइनेछ ।
३. अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम हरेक महिना सञ्चालन गरी घरघरमा गएर जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिनेछ ।
४. महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई जिम्मेवारी प्रति उत्साहित गराउन मासिक बैठक बापत दिइदै आएको यातायात खर्चलाई बढाई रू. ५ सयका दरले वितरण गर्दै खोप तथा गाउँघर क्लिनिक कार्यमा संलग्न भएवापत थप प्रोत्साहन भत्ता र खाजा खर्च उपलब्ध गराइनेछ ।
५. महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई स्वास्थ्य बीमाको ५०% खर्च गाउँपालिकाले दिने नीति लिइनेछ ।
६. सुत्केरी र नवशिशुहरूलाई सुरक्षित स्वास्थ्य सुनुश्चित गर्न उपाध्यक्षको गर्भवती सुत्केरी कोसेली कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
७. प्रत्येक विद्यालयका विद्यार्थीहरुको आधारभूत स्वास्थ्य परीक्षण गर्ने नीति ल्याइनेछ ।
८. गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षामा स्वास्थ्यकर्मीहरुद्वारा उच्च निगरानीमा राखी स्वास्थ्य सुविधा सहित हेरविचार गर्ने नीति लिइनेछ । साथै यससँग सम्बन्धित समुदायमा अन्तर्क्रिया र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ
९.लामो समय सेवा गरेका महिला स्वास्थ्य स्वयं सेविकालाई ससम्मान विदाइ गरिनेछ ।
१०. दुरागाउँमा सञ्चालनमा ल्याइएको साउनेपानी सामुदायिक स्वास्थ्य इकाइ व्यवस्थापन गरी सुदृढ गर्दै लगिनेछ ।
११. गाउँपालिका भरिका सबै वडाहरूमा स्वास्थ्य बीमा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
१२. सञ्चार खर्च तथा आवश्यक सामाग्री ( झोला, छाता, टर्च आदि) मार्फत स्वास्थ्यकर्मीहरु लाई प्रोत्साहन गरिनेछ ।
१३. बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीलाई नाइट भत्ता व्यवस्थापन गरी प्रोत्साहन गरिनेछ । साथै हरेक स्वास्थ्य संस्थाको रिपोर्टिङ्ग कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
१४. उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्मान तथा पुरस्कार गरिनेछ । साथै हरेक स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्थापनका सामाग्री उपलब्ध गराइनेछ ।
१५. प्रत्येक वडामा गर्भवती आमाहरुलाई भिडियो एक्सरे सेवा सञ्चालन गरिनेछ ।
१६. सैपुको तल्लो भाग फेदीबेंसीमा अस्थायी स्वास्थ्य केन्द्र खोली स्वास्थ्य सेवा प्रदान गर्न उचित बजेट व्यवस्था गरिनेछ ।
सामाजिक समावेशीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक
१. वालश्रम, बाल विवाह, दाइजो, वोक्सी, जातीय विभेद जस्ता कु-प्रथा नियन्त्रणका लागि जनचेतना तथा कानुनी सचेतना जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२. लक्षित वर्ग (दलित/जनजाति/ अपाङ्ग/महिला/ वालवालिका) लाई राज्यको मूल प्रवाहमा ल्याउन आयमूलक, सीपमूलक एवम् चेतनामूलक कार्यक्रमहरु लागत साझेदारीमा सञ्चालन गरिनेछ ।
३. जेष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न जेष्ठ नागरिक क्लब गठन र परिचालन गरिनेछ । ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा व्यवस्थापनमा लगानी साझेदारी सहभागिता सुनिश्चित गरिनेछ ।
४. बालबालिकाहरुको क्षमता विकास गर्नलाई वाल क्लब स्थापना तथा सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी लागू गरिनेछ ।
५. गाउँपालिकाभित्र बसोबास गर्ने अल्प सङ्ख्यक, विपन्न, दलित लगायत लक्षित वर्गलाई राज्यको मूल प्रवाहमा ल्याउन आयमूलक, सीपमूलक एवम् सचेतनामूलक लैङ्गिक समावेशी कार्यक्रमहरू लागत साझेदारीमा सञ्चालन गरिनेछ ।
६. जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त व्यक्तिको परिवारहरूलाई गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधा निःशुल्क गरिनेछ ।
७. सेफ हाउस कार्यक्रम संचालन गरिने छ ।
८. एकल महिला, दलित, अपाङ्ग तथा जेष्ठ नागरिक लगायतको वर्गलाई समेटी विभिन्न सीपमूलक तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
९. विभिन्न दिवस तथा पर्वहरूलाई प्रभावकारी रुपले सञ्चालन गरिनेछ ।
१०. अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमलाई थप व्यवस्थित गरिनेछ ।
खानेपानी तथा सरसफाइ
१. खानेपानीको समस्यालाई समाधान गर्न एक घर एक धारा कार्यक्रमलाई प्राथमिकताक्रमका आधारमा निरन्तरता दिइनेछ ।
२. जलवायु परिवर्तनसँगै सुक्दै गएका स्थानीय स्तरमा उपलब्ध खानेपानीका स्रोत, मूल तथा मुहानलाई संरक्षण गर्न विशेष कार्यक्रमहरू ल्याइनेछ ।
३. बाक्लो मानव बस्ती तथा बजारक्षेत्र, सडकको ढल र फोहोरमैलाको उचित व्यवस्थापनका लागि अन्य सङ्घ संस्थाको समन्वयमा दिगो विकासको योजना सहित सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
४. खानेपानी ब्यवस्थापन गर्न सङ्घ र प्रदेश सरकारवाट सञ्चालित क्रमागत खानेपानी योजनाहरु समयमै सम्पन्न गर्न जोड दिईने छ ।
५. हरेक वडामा रहेका खानेपानी आयोजनाहरूलाई मर्मत संभार र खानेपानी सुरक्षा योजना लागू गरी हरेक नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराइने नीति ल्याइने छ , साथै खानेपानिको गुणस्तर परीक्षण गर्ने व्यवस्था समेत मिलाईने छ ।
६. हरेक खानेपानी मुहान दर्ता उ.स. लाई सशक्तीकरण तथा मर्मत संभार कर्तामार्फत खानेपानी व्यवस्थित गरिने नीति ल्याइने छ ।
७. परम्परागत पानी पोखरी, ढुङ्गे धारा र मूलको सरक्षण गर्न कार्यक्रमहरु सञ्चालन गरी भौगोलिक र प्राकृतिक स्वरुपको समेत जगेर्ना गरिनेछ । खानेपानी पाईपहरु जमिनमुनि गाडेर मात्र प्रयोग गर्ने कार्यलाई परिपालना गर्न सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई जिम्मेवार बनाईनेछ ।
८. मुख्य वजारक्षेत्रहरुमा ढल निकासको उचित व्यवस्थापन गर्न अन्य निकायको समेत साझेदारी र समन्वयमा कार्यक्रमहरु सञ्चालन गरिनेछ । फोहोर सङ्कलनको परम्परागत शैलीलाई परिमार्जन गरी कागजजन्य, प्लाष्टिकजन्य, कुहिने र नकुहिने फोहरलाई छुट्याएर पुनः प्रयोग गरिने कार्यको सुरुवात गरिनेछ ।
९. सार्वजनिक स्थल, सडकपेटी र सडक नालामा फोहर फाल्ने तथा छतको पानी सडकमा अव्यवस्थित विसर्जन गर्ने कार्यलाई दण्डनीय बनाइनेछ ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण
१. सामाजिक सुरक्षा भत्ता नँया दर्ता तथा नवीकरण बायोमेट्रिक प्रविधिबाट गरिनेछ
२. हरेक वडामा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीहरुको विवरण फोटो सहित को ( तिन पुस्ते) अद्यावधिकगरिनेछ ।
३. सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीहरुको कार्ड अनिवार्य डिजिटल बनाइनेछ र सोही अनुसार सम्बन्धित वडा कार्यालयहरुबाट वितरण गरिनेछ।
४. सामाजिक सुरक्षा भत्ता नँया दर्ता र पुरानो लाभग्राहीहरुको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य रहेकोहुँदा हाल सम्म पनि राष्ट्रिय परिचयपत्र नबनाएकाको हकमा यस गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वडा कार्यालयलाई लक्षित गरी शिविर सञ्चालन गरिनेछ ।
५. राष्ट्रिय परिचयपत्र बनाइसकेका तर परिचयपत्र नं हराएका वा नपाएकाहरुको . हकमा यस शाखाबाट व्यवस्था गरिनेछ ।
६. घटनादर्ता डिजिटाइजेशन भएका विवरणलाई डिजिटल बुक बनाई छपाइनेछ र सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिनेछ ।
७. राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वार्षिक कार्यक्रम अनुसार वर्षको बैशाख १ गतेदेखि ७ गतेसम्म प्रत्येक वडामा व्यक्तिगत घटना दर्ता सप्ताह मनाइनेछ ।
८. कोही नछुटून् कोही नदोहोरिऊन् भन्ने उद्देश्यका साथ टोलटोल गाउँगाउँमा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरिनेछ ।
९. व्यक्तिगत घटना घटेको ३५ दिन भित्र अनिवार्य वडामा उपस्थित भई घटना दर्ता गर्न गराउन र सामाजिक सुरक्षा भत्ता दर्ता लगाएत अन्य जानकारीको सम्बन्धी समाजमा जनचेतना फैलाउनको लागि यस गाउँपालिका अन्तर्गत रहेका सम्पुर्ण सामुदायीक विद्यालयह वडा कार्यालयहरु र अन्य टोलटोलमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१०. सामाजिक सुरक्षा भत्ता प्राप्त सम्पूर्ण लाभग्राहीहरुको स्वास्थ्य बीमाको लागि आवश्यक पहल गरिनेछ । ११. व्यक्तिगत गुनासो सुनुवाईलाई थप प्रभावकारी बनाइनेछ ।
१२. प्रत्येक वडामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अनलाइन कार्य प्रभावकारी बनाउनका लागि डेस्कटप कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायतका सामग्री उपलब्ध गराइनेछ साथै राष्ट्रिय परिचय पत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालय रामेछापसँग समन्वय गरी शिविर सञ्चालन गरिनेछ ।
१३. विभागबाट प्राप्त भएका पत्रहरुलाई वडामा पत्राचार गरिनेछ ।
१४. जन्म बसाइँ सराइँ जस्ता व्यत्तिगत घटना दर्ता कार्यलाई वडाबाटै मृत्यु, विवाह, अनलाइन प्रविधिबाट प्रविष्टि गर्दै व्यत्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको अभिलेख व्यवस्थित सहज र प्रभावकारी बनाइनेछ ।
१५. गाउँपालिकाबासीलाई व्यक्तिगत घटना दर्ता प्रक्रियामा ३५ दिनभित्र अनिवार्य समावेश हुन प्रोत्साहन र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ
१६. बैङ्किङ्ग प्रणालीबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा देखा परेका समस्याहरुलाई सहकार्य र समन्वयमा समाधान गरी सहज बनाइनेछ ।
जातजाति, भाषाभाषी, संस्कृति तथा पर्यटन
१. अल्पङ्ख्यक, सीमान्तकृत, सुविधाबाट बञ्चित आदिबासी जनजाति सुनुवार, तामाङ, मगर, भुजेल लगायतको भाषा, कला, संस्कृति संरक्षण तथा सम्वर्द्धनका लागि संस्थागत विकास, सङ्ग्रहालय निर्माण आदिका लागि उचित बजेटको व्यवस्था गरिनेछ ।
२. मदीडाडा हाँसपोखरी, खराङ- खुरुङ गुफा, आइतबारे थान, भृङ्गेश्वर महादेव, क्षीताकुण्ड, त्रिपुरेश्वर गुफा, चण्डेश्वरी महादेव, हात्तीढुङ्गा, गिदानचौर, गिद्धेडाँडा, रुपकाली मन्दिर, नागदह पोखरी, सेतीवरु मन्दिर, कालीदेवी मन्दिर, इन्द्रावती मन्दिर, घ्याप्चेको पहिरो आदि धार्मिक ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको निर्माण र समुदायको पहिचानमा आधारित सांस्कृतिक कलाको विकास गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन अन्तर स्थानीय तह साझेदारी र समन्वय समेत गरिनेछ ।
३.गाउँपलिकाभित्र रहेका हरेक जातजाति, भाषाभाषी, परम्परा, लोक कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्न कार्यशाला सञ्चालन गरिनेछ ।
४. राधाकृष्ण मन्दिर, कुखुरा राजा डाँडामा भएको टुल्कु छ्योलिङ टासीगुम्बा सहित पार्क निर्माणका लागि पहल गरिनेछ ।
पूर्वाधार विकास
१. पूर्वाधारका योजना तर्जुमा तथा निर्माण गर्दा प्रचलित ऐन, कानुन, नियमावली, कार्यविधिका साथै गाउँ कार्यगाउँपालिकाको निर्णयलाई पूर्णतयाः अनुशरण तथा अबलम्वन गरिनेछ ।
२. आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम बमोजिम यस गाउँपालिकाका राष्ट्रिय स्तर तथा ७ वटै वडाका स्थानीय स्तरका सामरिक महत्वका सडक र शाखा सडकहरुको मापदण्ड कायम गरी सडक पूर्वाधार विकास मार्फत जीवन यापन सहज र सरल बनाउन स्वीकृत भएको यातायात गुरु योजना (Rural Municipality Transportation Master Plan- RMTMP) को अन्तिम प्रतविदेन बमोजिम यातायात सम्बन्धी मापदण्ड निर्माण गरी अनिवार्य रुपमा लागू गरिनेछ ।
३. यातायात गुरु योजना (Rural Municipality Transportation Master Plan- RMTMP) ले निर्दिष्ट गरेका १. हलेदे – तिल्पुङ- नागदह धोबी कोटगाउँ-सिरिसे- ढाडे सडक २. खिम्ती- शिवालय – गैरी-धोबी सडक ३. दिलौरी-सैपु वडा कार्यालय-दुरागाउँ वडा कार्यालय – सदगाउँ – खापिङ- होपिना- कोलडाँडा सडक ४. दारिमबोट-गिदानचौर-ऐरमबास-कावा-चिलाउने-केसिङ्सा-अँधेरीखोला- भीरगाउँ-कल्लेरी-पोकुबेंसी सडक ५. दिलोरी – जगमाने – बाँसे – कालोचौतारा सडक ६. धोबी – दिलौरी-सहिद स्मृति – ढाडे सकडक ७. धोबी – कावा – कुकुरकाटे भन्ज्याङ ८. धोबी-चिलाउने – खोल्मागाउँ सडक ९. पाखाबारी-कामीगाउँ सडक १०. दिलौरी-सहिद स्मृति – गैरीधारा – खाल्टे सडक ११. धोबी – दिलौरी – जगमाने- साउनेपानी-खापिङ-दुरागाउँ – कर्कले पिङ्गति-सतिघाट – लिखु सडक १२. सिरिसे- सिसन्दु-पोकुबेंसी सडक १३. पोकु दोभान- रातमाटा-मुखिया टोल-लर्खु खोला सडक १४. जारकाटे- कावा डाँडा सडकहरुलाई प्राथमिकतामा राखी निरन्तर स्तरोन्नति गर्दै कालोपत्रे गर्दै लगिनेछ । साथै सहायक सडकहरुलाई समेत बाह्रै महिना यातायात सञ्चालनमा ल्याउने प्रयास सदैव रहनेछ
४. गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाई प्राथमिकता साथ अघि बढाइनेछ र निर्माणाधीन स्वास्थ्य चौकी भवन तथा वडा कार्यालयहरूलाई प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाइनेछ ।
५. सार्वजनिक जग्गा तथा सडक क्षेत्राधिकार अतिक्रमण गर्ने प्रवृति र सडकको नयाँ ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गरिनेछ ।
६. बाँकी रहेको मुल सडक र सहायक सडकहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई आवश्यकता अनुसार निरन्तरता दिइनेछ ।
७. खोला नालाहरुमा कल्भर्ड तथा मिनि ब्रिज निर्माण गर्ने कार्यलाई प्राथमिकतामा साथ अघि बढाई निरन्तरता दिइनेछ ।
८. कच्ची नाली निर्माण गर्ने रिटेनिङ वाल जस्ता संरचना तयार गर्ने, पक्की नाला निर्माण गर्ने, ग्रावेल गर्ने खोला नाला र आवश्यक स्थानमा ढलान समेत गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
९. सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेका गौरवका तथा ठुला पूर्वाधारका आयोजनाहरुको निर्माण कार्य अघि बढाइएको कार्यलाई निरन्तरता दिइनेछ ।
१०. सार्वजनिक जग्गा तथा सडक क्षेत्राधिकार अतिक्रमण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कानुनी दायरामा ल्याइनेछ ।
११. भवन निर्माण तथा बस्ती विकासको कार्यलाई मापदण्ड अनुरूप थप व्यवस्थित गर्दै लगिनेछ ।
भू-व्यवस्था
१. सडक, बाटो, कुलो, खोला, नदी किनार लगायतका अन्य सार्वजनिक जग्गाको संरक्षण गरिनुका साथै सार्वजनिक एवं गुठी जग्गाको अतिक्रमण र कृषियोग्य जमिनको खण्डीकरणलाई निरुत्साहित गरिनेछ ।
२. नेपाल सरकारको “सम्पूर्ण जग्गाको वर्गीकरणः कृषियोग्य जग्गाको संरक्षण” भन्ने नीति अनुरुप गाउँपालिकाको भू उपयोग नीति वनाई भूमिको वर्गीकरण, संरक्षण र उपयोग गर्दै लगिनेछ ।
कानुन, न्याय र मानव अधिकार प्रवर्द्धन
१. सम्बन्धित सरोकारवालाहरूको प्रत्यक्ष संलग्नतामा ऐन कानुनहरू तयार गर्नुका साथै जारी भइसकेका ऐन, कानुन, कार्यविधिहरूको समयसापेक्ष परिमार्जन तथा संशोधन गर्दै कार्यान्वयनमा ल्याइनेछ ।
२. स्थानीय सरकारको न्यायिक सेवा प्रवाहको प्रत्याभूति गराउन प्रत्येक वडामा रहेका मेलमिलाप केन्द्रहरुको व्यवस्थापन मार्फत विशेष कार्यक्रमहरु तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
३. कानुन एवम् न्यायमा सवैको पहुँच सुनिश्चित गर्न बस्ती स्तरमा सञ्चालित कानुनी शिक्षा, सचेतना एवं अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ
I
४. न्यायमा सहज पहुँच र एक रुपताका लागि अन्तरगाउँपालिका स्तरीय न्यायिक समितिका पदाधिकारी र जिल्लाका न्यायिक अर्ध न्यायिक निकायबीच समन्वयात्मक बैठक एवं अन्तरक्रिया गरिनेछ ।
५. आवश्यकताका आधारमा फिल्ड अवलोकन र नियमित इजलाश मार्फत न्यायिक समितिमा आउने उजुरीमा सुनुवाइ गरिनेछ । महिला वालवालिका पक्ष रहेको उजुरीमा निरन्तर सुनुवाइको व्यवस्था मिलाइनेछ ।
६. न्याय निरुपण र मेलमिलाप कार्यमा संलग्न हुने कर्मचारी तथा पदाधिकारीहरुका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ । वडास्तरका मेलमिलाप केन्द्रमा कार्यरत मेलमिलापकर्ताको प्रोत्साहनका लागि श्रममा आधारित प्रोत्साहन रकमको व्यवस्था गरिनेछ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन
१. सम्भावित विपदको पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभको लागि आवश्यक औजार तथा राहत सामग्रीको तत्काल व्यवस्थापन गर्न विपद व्यवस्थापन कोषलाई वलियो वनाउदै लगिनेछ
२. विपद जोखिम क्षेत्रको पहिचान र तदनुसारका आधारमा योजना तर्जुमा र कार्यान्वयन गर्दै लगिनुका साथै विपदको कारण अवरुद्ध हुने राजमार्ग तथा वडा केन्द्र जोड्ने सडकहरुलाई तत्काल सुचारु गरिनेछ ।
३. वातावरणीय संरक्षण एवं सिंचाईको व्यवस्थापनका लागि आहाल पोखरीहरु र प्लाष्टिक पोखरीहरुको निर्माण खानेपानीका मुहानहरुको संरक्षण तथा मर्मत सम्भार गरिदै लगिनेछ
४. गाउँपालिका स्तरमा सामुदायिक वन पहिचान गरी वन तथा वातावरण संरक्षण गरिनेछ ।
५. सामुदायिक वनमा फलफुल विरुवाहरु वृक्षरोपण तथा तारवार गर्ने व्यवस्था मिलाइनेछ ।
६. वन व्यवस्थापन सम्बन्धमा वन समिति तथा समुहलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
७. जलवायु परिवर्तनका असरहरु न्यूनीकरण गर्न विविध कार्यक्रमहरु साझेदारीमा सञ्चालन गर्ने व्यवस्था गरिनेछ ।
८. जडिबुटि तथा अन्य बन पदौवारहरुको निकासीलाई प्रोत्साहन गरी आन्तरिक आम्दानीलाई मजबुत बनाइनेछ । ।
९. डढेलोको कारणले हुने क्षति र जैविक विविधतालाई सन्तुलन कायम गर्न सामुदायिक वन र अन्य वनमा सुख्खा पोखरी निर्माण गरिनेछ ।
१०. वन जङ्गलको महत्वको बारेमा वनका पदाधिकारी र समुदाय स्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
११. वन जङ्गललाई समुदायको आय आर्जनसँग जोड्ने गरी कार्यक्रम तर्जुमा गरी लागू गरिनेछ ।
१२. गाउँपालिकामा प्लास्टिजन्य पदार्थ, सिसा, सिसाको बोतल लगायतका कारणबाट हुने वातावरण प्रदुषण न्यूनीकरण गर्न सम्बन्धित पक्षसँग अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
सूचना प्रविधि तथा सञ्चार
१. नेपाल दूरसञ्चार प्राधिकरण ग्रामिण दुरसञ्चार विकास शाखाबाट सञ्चालित ग्रामीण दुरसञ्चार विकास कोष प्रयोग गरि फाईबर ईन्टरनेटको सबै वडाहरुमा व्यवस्था गरिने छ ।
२. गाउँपालिकाबाट सार्वजनिक गरिनुपर्ने आवश्यक सूचना तथा जनकारी नियमितरुपमा कार्यालयको वेभ साइट तथा आधिकारिक सामजिक संजाल पेज मार्फत दिनईने व्यवस्था गरिने छ ।
३. कार्यालयको सञ्चालनमा ल्याएको सामाजिक संजाल र सङ्घीय सरकारबाट प्रायोग आएको विभिन्न Web-base Software हरु वडा कार्यालयमा प्रयोगमा ल्याई सेवालाई चाडो छरितो बनाउने व्यवस्था गरिने छ ।
४. कार्यालयबाट प्रदान हुने सेवाहरुलाईONLINE मार्फत दिइने व्यवस्था गरिने छ ५. सूचनाको हक सम्बन्धी कानुन बमोजिम सेवाग्राहीले मागेका विवरणहरु समयमै उपलब्ध गराउइने छ ।
६. विकास निर्माण कार्यमा स्वच्छ प्रतिस्पर्धा गराउन इ बिडिङ प्रक्रियालाई निरन्तरता दिइनेछ ।
सुशासन तथा संस्थागत क्षमता विकास
“लिखु तामाकोशी गाउँपालिकाको जनसेवामुखी प्रशासन: समग्र क्षेत्रको विकास, समृद्धि र सुशासन भन्ने मूल ध्येयका साथ आर्थिक वर्ष २०८१/०८२ मा सार्वजनिक सेवा प्रवाह, सुशासन तथा क्षमता विकासका लागि निम्न नीति अवलम्बन गरिनेछ:- १. गाउँपालिकाको कार्यालय, वडा कार्यालय तथा विद्यालय क्षेत्र आसपास ५० मिटर क्षेत्रभित्र कार्यालय समय बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मदिरा तथा सूर्तिजन्य वस्तुहरु साथै बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने पत्रु खाद्य वस्तु (जङ्क फुड) लगायतका आयातित वस्तुहरुको बिक्री वितरणमा पूर्ण रोक लगाइनेछ ।
२. गाउँपालिकाको स्थापना कालदेखि घर तथा कोठा भाडामा लिई सञ्चालनमा रहेका यस गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयहरुको घर तथा कोठा भाडालाई प्रचलित कानुनको परीधिभित्र रही व्यवहारिक, वैज्ञानिक र वस्तुगत बनाउन आर्थिक वर्षको सुरुआत श्रावण महिनामै घर तथा कोठा भाडामा दिन इच्छुक घरधनीलाई १५ दिने सूचना जारी गरी घर तथा कोठा भाडा शीलबन्दी दरभाउ पत्र प्रस्ताव माग पश्चात न्यूनतम भाडा दरलाई छनौट गरी घर तथा कोठा भाडामा लिई गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयहरु सञ्चालनमा ल्याइनेछ ।
३. कार्यालय समयमा सरकारी कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरुले मादक पदार्थ सेवन गरेको प्रमाणित वा कोही कसैले प्रमाण सहित उजुरबाजुर गरेमा प्रचलित कानुन नियम अनुसार हुने गरी गाउँपालिकाले आवश्यक छानबिन गरी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस समेत गर्नेछ ।
४. कुनै पनि सरकारी कर्मचारी, शिक्षक शिक्षिका वा सार्वजनिक पद धारण गरी आफ्नो पदीय दायित्व र जिम्मेवारी पूरा गर्नु पर्ने पदाधिकारीहरुले सम्बन्धित कार्यालय प्रमुख वा जनप्रतिनिधको पूर्व स्वीकृति विना आफूखुसी कार्यालयमा अनुपस्थित भएको पाइएमा प्रथम पटकका लागि स्पष्टीकरण, दोस्रो पटक सोही व्यवहार दोहोरिएमा निजको बढुवा / स्तर वृद्धि रोक्का गर्ने र तेस्रो पटक पनि सोही व्यवहार दोहोरिएमा प्रचिलत कानुन बमोजिम सेवा सुविधा समेत कट्टा गरी कारबाही गरिनेछ ।
५. गाउँपालिका अन्तर्गतका सम्पूर्ण सङ्घ संस्था र कार्यालयमार्फत सञ्चालन हुने समग्र कार्यक्रम तथा योजनाहरुको प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न गराउन नियमित अनुगमन तथा सुपरीवेक्षण प्रक्रियालाई निरन्तरता दिन सिर्जनात्मक र सुधारात्मक अनुगमन प्रणाली अवलम्बन गर्ने नीति लिइनेछ । ६. सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन गाउँपालिकास्तरीय वार्षिक कार्य तालिका तयार गरी सोही बमोजिम कार्यक्रम कार्यान्वयन प्रक्रिया अगाडि बढाइनेछ । साथै गाउँपालिकालाई स्वस्फूर्त तीव्र गतीमा जनमैत्री सेवा प्रवाह गर्न अत्यावश्यक स्रोत साधनको व्यवस्थापनका लागि खरिद योजना तथा गुरु योजना तयार गरी यथाशीघ्र कार्यान्वयनमा ल्याइनेछ ।
७. गाउँपालिका र मातहतका सम्पूर्ण निकायहरुमा हालसम्म सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey) नभएकोले कार्यालय चुस्त दुरुस्त र संस्थागत गर्नका लागि यस आर्थिक वर्ष २०८१/०८२ मा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey) गरिनेछ ।
८. मानव संशाधन विकासका लागि गाउँपालिकाबाट प्रवाह गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारी तालिमको व्यवस्था गरिनेछ र कर्मचारी बैठक प्रगति प्रतिवेदन सहित नियमित गरिनेछ ।
९. गाउँपालिकाबाट प्रवाह भएका सेवाहरुको बारेमा नागरिक सन्तुष्टि सर्भेक्षण गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१०. सार्वजनिक खरिद प्रक्रियामा प्रतिस्पर्धा स्वच्छता, ईमान्दारिता, जवाफदेहिता,
र विश्वसनीयता प्रबर्द्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न उत्पादक बिक्रेता, आपूर्तिकर निर्माण व्यवसायी तथा से वा प्रदायकलाई बिना भेदभाव सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुने समान अवसरको सुनिश्चित गरी आम जनमानसमा सु शासनको प्रत्याभूति दिलाइनेछ ।
११. गत आ.व.को. सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न गाउँ कार्यगाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रमहरु सञ्चालन गर्नुका साथै होर्डिङ्ग बोर्ड, नागरिक वडापत्र, गुनासो पेटिका आदिको व्यवस्था गर्ने नीतिलाई आगामी आर्थिक वर्षमा पूर्ण कार्यान्वयनमा ल्याइनेछ
१२. कर्मचारीहरूको सक्षमता विकासका कार्यक्रम लगायत विषयगत समितिको समन्वयमा शाखा प्रमुखहरूको नियमित बैठक तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
१३. सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन जनप्रतिनिधिहरू र कर्मचारीहरूको सहकार्य र समन्यवमा कार्य विभाजन गरी जिम्मेवारी र जवाफदेहीताको बोध गराइनेछ ।
१४. सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी रुपमा सञ्चालन गर्न अत्यावश्यक मावनस्रोत तथा जनशक्ति प्रचलित कानूनको परिधिमा रही कार्यालयको दरबन्दी तेरिज बमोजिमको कर्मचारी व्यवस्थापन गर्नुका साथै अनावश्क सृर्जित दरवन्दीलाई निरुत्साहित गरिनेछ ।
१५. सम्पूर्ण विषयगत समितिका पदाधिकारीहरु र कर्मचारीहरुको काम कारबाहीमा दक्षता ल्याउन र प्रशासनिक ज्ञान, सीप तथा अभिवृद्धि गर्न क्षमता विकासका तालिम तथा अभिमुखीकरणका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै अन्तर स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका कामकारबाहीका विषयमा थप अनुभवहरू सङ्कलन गर्ने ध्येयले अध्ययन अवलोकन भ्रमणको व्यवस्था मिलाईनेछ ।
१६. स्थानीय सरकारको न्यायिक सेवा प्रवाहको प्रत्याभूति गराउन प्रत्येक वडामा रहेका मेलमिलाप केन्द्रहरूलाई सुव्यवस्थित गर्न विशेष कार्यक्रमहरू तय गरी- कार्यान्वयनमा ल्याइनेछ ।
१७. सार्वजनिक सेवा प्रवाहमा कर्मचारीहरुलाई उच्च मनोबलकासाथ तल्लिन गराउन उनीहरुमा भएको ज्ञान, सीप र क्षमताको उचित मुल्याङ्कन गरी निश्चित मापदण्डका आधारमा प्रोत्साहन तथा पुरस्कृत गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
१८. स्थानीय प्रशासनलाई सुशासनका मुल्य, मान्यता तथा सिद्वान्तहरुमा आधारित
भई स्वच्छ निष्पक्ष पेशागत अनुशासन प्रति प्रतिबद्ध, पारदर्शी, भष्टचारमुक्त, जनउत्तरदायी, सहभागितामुलक र प्रविधिमैत्री बनाउँदै लगिने नीतिलाई निरन्तरता दिइनेछ ।
१९. आगामी तीन वर्षभित्र बेरुजु शून्य गाउँपालिका बनाउने अभियानको सपना साकार गर्न योगदान पुर्याउने बेरुजु शुन्य शाखालाई सम्मान तथा पुरस्कृत गरिनेछ ।
गाउँसभाका सदस्यज्यूहरु,
अन्त्यमा आर्थिक वर्ष २०८१/०८२ मा हाम्रो प्राथमिकताको क्षेत्र गुणस्तरिय स्वास्थ्य र शिक्षा, जेष्ठ नागरिकको सम्मान, पूर्वाधार विकास, सामाजिक समावेशिकरण, विपद व्यवस्थापन, दक्ष जनशक्ति निर्माण, सार्वजनिक सेवा प्रवाहमा सबैको सहज पँहुच, खेलकुदको विकासका साथै वन तथा वातावरणको संरक्षण रहेको व्यहोरा अनुरोध गर्न चाहान्छु । प्रस्तुत नीति तथा कार्यक्रममा प्रस्ताव गरिएका विषयहरु कार्यान्वयन गर्न समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, गैर सरकारी सङ्घ संस्था, सम्पूर्ण सरोकारवाला निकाय र लिखु तामाकोशी गाउँपालिकाबासी आदरणीय बुबा आमा दाजुभाइ, दिदी बहिनीहरु लगायत सबैले सहयोग गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमामा प्रत्यक्ष सहयोग पुर्याउनु हुने उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, विषयगत समितिका संयोजकज्यूहरु, वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सबै सदस्यज्यूहरु एवम् गाउँसभाका सदस्यज्यूहरु, राजनीतिक दल लगायत समग्र राष्ट्र सेवक कर्मचारीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।
धन्यवाद !
केशव महत
अध्यक्ष
लिखु तामाकोशी गाउँपालिका
आफ्नो प्रतिकृया दिनुहोस्