देशमा अहिले युवाहरू विदेशिए, गाउँ खालि भयो, विदेश पलायन भए , देशमा जनशक्ति छैन, गाउँमा बुढाबुढी मात्र छन् ! सामाजिक सञ्जालमा, भाषणमा गफमा यस्तै चर्चा भएको सुनिन्छ । स्वभाविक रूपमा मानिस परिवर्तनशिल, सृजनशील प्राणी हो । उ एक ठाउँमा बस्न सीमित क्षेत्र, सीमित कमाइमा रम्न चाहँदैन । त्यसैले खान लाउन मुस्किल परेपछि २०३५÷४० सालबाटै शहर तथा तराई तर्फ बसाई सराइ जाने परम्परा बसेकै हो । नेपालमा तीन दशक पहिले सम्म सामन्तवादी संस्कारले जेलेको अवस्था थियो । सबै वर्गमा स्वास्थ्य शिक्षाको पहुँच थिएन र तेस्रो मुलुक जाने पहुँच पनि थिएन । विकास के हो जीवनस्तरमा पविर्तन कसरी आउँछ भन्ने कुरा औसत नेपालीले सोच्न सक्ने अवस्था थिएन । त्यही भएर सोझा मानिस गुजारामुखी खेती गरी गाउँमा नै बसे । गाउँमा टिक्नै नसक्ने केही मानिस काठमाडौँ सहर र भारतका दिल्ली, कोलकत्ता, पटना, सिलगुडी, आसाम, जयपुर आदि स्थानमा गई जागिर खाने र केही पैसा घर पठाउने गर्दथे । त्यस अवधिमा जनसंख्या वृद्धि दर धरै थियो । औसत मानिसको घरमा धेरै जहान हुन्थ्यो ती सबैलाई बिहान बेलुका खान पुर्याउन धौ धौ पर्थ्यो । शिक्षा स्वास्थ्य जस्ता कुरा त सपना मात्र थियो । त्यसैले जनताले आफ्नो आय स्तर बढाउन बसी रहेको ठाउँ, समाज छाड्नु र नयाँ ठाउँमा समायोजन हुनु त्यत्ति अनौठो कुरा होइन । विशेष गरी युवा वर्गले घर छाडी अन्य ठाउँमा गई मेहनत गर्ने,अध्ययन गर्ने, आफ्नो क्यारियर विकास गर्ने र जागिर खाने वा उद्यम सुरु गर्ने त परम्परा नै बसेको छ । यो समाज विकास क्रम अनुसार विश्वव्यापी मान्यता नै बनिसकेको छ ।
तत्कालीन सरकारले २०३७ साल तिर संयुक्तराष्ट्र संघकोे दोस्रो फेजमा परिवार नियोजनको नीति नेपालमा लागु गर्यो । खान पुर्याउन धौ धौ भएको बेला यो परिवार नियोजनको कार्यक्रमले जनसंख्या नियन्त्रण, जन्मान्तर, दुई मात्र सन्तान जस्ता कुरामा जोड दिई मातृ–शिशुको स्वास्थ्यमा सुधार र जनसंख्या नियन्त्रणमा केही सघाउ पुग्यो । एकातर्फ जनसंख्या नियन्त्रण भयो भने अर्का तर्फ २०४६÷४७ को राजनीतिक परिवर्तन पछि विदेश जाने क्रम बढ्न थाल्यो । यता जनसंख्या नियन्त्रणको नीतिलाई पुनरावलोकन गरी जनसंख्या वृद्धि गर्ने नीति ल्याउनु पर्नेमा कसैले ध्यान दिएन । रोजगारी र अध्ययनको नाममा विदेश जानेको संख्या बढ्दै गयो भने २०५२ बाट सुरु भएको सशस्त्र द्धन्दको कारण केही मानिस गाउँ छाडि शहरमा बस्ने काम खोज्ने, घरजग्गामा लगानी गर्ने गर्न थाले । कसैले काम नपाएर गाउँ छाडे भने कसैले अरूलाई सित्तै काम लाउन नपाएकोले आफूले गर्न नसकेर छोडे । कसैले पानीका मूल सुकेर खानेपानीको दुखले गाउँ छाडे । यसरी पछाडि फर्केर हेर्दा गाउँ छाड्ने देश विदेशका शहर भित्रने क्रम नयाँ होइन । क्रमै सँग भएको र स्वाभाविक रूपमा भएको देखिन्छ । हाम्रो जस्तो अल्पविकसित मुलुकमा अवसरका लागि गाउँ ठाउँ छाड्ने, देश छाड्ने कुरा कुनै अनौठो पनि होइन अन्य मुलुकहरूका नागरिक पनि सदियौँ देखि अवसरका लागि आफ्नो देश छाडेको पाइन्छ । भनिन्छ नि नयाँ कुरा सिक्न, प्रगति गर्न र कमाउन घर छाड्नै पर्छ । आखिर विदेशमा जति बसे पनि जीवनको उत्तरार्धमा त धेरै मानिस गाउँमा नै फर्केको पाइन्छ ।
२०६२/६३ को दोस्रो जन आन्दोलन पछि लोकतन्त्रको स्थापना सँगै देशमा शान्ति सुव्यवस्था छाएपछि गाउँमा बस्न सक्ने वातावरण भयो , गाउँ–गाउँमा बाटो, स्कुल, बिजुली , स्वास्थ्य सेवा, खानेपानी जस्ता पुर्वाधारको विकास हुन थाल्यो । मानिसले उपभोग्य सामाग्री सुलभ रूपमा गाउँमा नै पाउन थाले तर गाउँमा बस्ने जनशक्ति कमी भएको महसुस हुन थाल्यो ।
कुनै पनि देश विकासमा जनशक्तिको ठुलो भूमिका रहको हुन्छ । जनशक्तिको वृद्धि विकास गर्न अब सरकारले म्याद गुज्री सकेको परिवार नियोजनको नीति लाई अपडेट गरी परिवार र जनसंख्या व्यवस्थापनको नयाँ नीति बनाउनु पर्दछ । दुई सन्तानको सट्टामा पाँच, छ सन्तानको अवधारणा ल्याउने, दुई भन्दा बढी जन्माउने जोडीहरूलाई सामाजिक रूपमा सम्मान गर्ने, उत्प्रेरणा स्वरूप एकमुष्ट पालनपोषण खर्च दिने, शिक्षा – स्वास्थ्य निःशुल्क उपलब्ध गराउने जस्ता उत्प्रेरणात्मक कार्यक्रम को नीति ल्याउनु पर्दछ । यस सँगै युवा युवतीको विवाह उमेर हद घटाई केटाको १८ वर्ष र केटीको १६ वर्ष कायम गर्ने , एकल महिला तथा पुरुषलाई पुनः विवाहको लागि प्रोत्साहन गर्ने, जेलमा भएका कैदीलाई श्रीमान् श्रीमतीसँग मासिक एक दुई पटक सँगै बस्न दिने जस्ता नीति बनाउन यथाशीघ्र सुरु गर्नु पर्दछ । यसका साथै भ्यासेक्टोमी, नरप्लाण्ट जस्ता प्रविधिलाई निरुत्साहित गर्दै सो अपनाउने व्यक्तिलाई सजायको व्यवस्था गर्ने, एवर्सनलाई गम्भीर अपराधको रूपमा कडा भन्दा कडा सजायको व्यवस्था गरेमा जनसंख्या वृद्धिमा सहयोग पुग्छ । यसरी जनसंख्या वृद्धि हुँदै गएमा केही वर्ष पछि विदेश जति गए पनि, शहर जति पसे पनि गाउँघर खालि हुँदैन । हाल एक सन्तान मात्र हुन्छ, उ पनि पढ्न विदेश गए पछि बाबु आमाले एक्लो महसुस गरेको हो तर छ सन्तान भएमा विदेशै गए पनि शहर पसे पनि कोही न कोही सन्तान बाबु आमा सँग रहेको हुन्छ । अझै पनि केही बिग्रिसकेको छैन गाउँ–गाउँमा बाटो, स्कुल, बिजुली , स्वास्थ्य सेवा, खानेपानी जस्ता पूर्वाधारको केही विकास भएको छ । सबै सुविधा भएको ठाउँमा एकीकृत बस्ती बसाल्ने र सेवाहरू थप गर्ने हो भने । राम्रा खेती योग्य जमिन केही मुठ्ठी भरका मानिसको हातमा थियो त्यस्ता मानिसले गाउँ छाडे पछि हिजो खेती गर्न राम्रो जग्गा नपाएकाहरूले खेती गर्छन् । सडक ,बिजुलीले थप व्यापार र उद्यमको अवसर सिर्जना हुन्छ । संघिय संरचनाले गर्दा पालिका सदरमुकामहरूले पनि अवसरहरू सिर्जना भएको छ । त्यसैले ग्रामीण अर्थतन्त्र विकास गर्न जनसंख्या वृद्धि अत्यावश्यक छ ।
(लेखकः भानुभक्ता श्रेष्ठ रामेछापका सफल उद्योगी हुन् )
आफ्नो प्रतिकृया दिनुहोस्