रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्षको सुरु देखि सम्ममा वडाबाट भएका विकास निर्माणको अवस्था, वडाबाट प्रवाह भएका सेवा प्रवाहको गुणस्तरीयता र वडा नं ७ मा नगरबाट संचालनमा रहेका विभिन्न योजनाहरूको बारेमा सार्वजनिक सुनुवाइ मार्फत स्थानीय नागरिकको सहभागितामा सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को हाल सम्ममा वडा तथा नगरबाट वडा भित्र संचालनमा रहेका विकास निर्माणका योजना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आइतबार वडा कार्यालयको प्राङ्गणमा सुकाजोरबासीको सहभागितामा उनीहरूबाट आएका प्रश्नको उत्तर दिँदै सुझाव लिएर वडालाई थप सुशासनमैत्री बनाउँदै अगाडि बढ्ने उद्देश्य सहित सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडामा चालु आर्थिक वर्षको सुरु देखि हाल सम्ममा प्रवाह भएका सेवा तथा संचालनमा रहेका विकास निर्माणको अवस्थाको बारेमा रामेछाप नगरपालिका वडा नं ७ का सहायक कम्प्युटर अपरेटर भागवत श्रेष्ठले जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाइमा गुनासो, प्रश्न र सुझाव राख्न आएका वडावासीले वडा तथा नगरबाट सुकाजोरमा संचालनमा रहेका विकास निर्माणमा भएको ढिलासुस्तीलाई चाँडो सम्पन्न गर्न अनुरोध गर्दै कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास लगायतका काममा नागरिकसँग थप समन्वय गरेर काम गर्न सुझाव दिएका थिए । उनीहरूले केही वर्ष अघि देखि निर्माण सुरु भएर हाल पनि निर्माणाधीन अवस्थामा रहेको कभड हललाई चाँडो सक्न, सेलेघाट–साँघुटार सडकलाई गुणस्तरीय निर्माणमा ध्यान दिई चाँडो निर्माण सक्न सम्बन्धित निकायलाई खबरदारी गर्न, गाउँमा बाँझो जमिनमा परिणत भएका जमिनलाई कृषिमा परिणत गर्ने योजना अगाडि बढाउन लगायतका सुझाव दिएका थिए ।
सुकाजोरमा नगरबाट भएका काम र सेवा प्रवाहको बारेमा राखेका विभिन्न जिज्ञासा तथा प्रश्नको बारेमा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने उत्तर दिँदै वडा नं ७ को विकासलाई नागरिकहरूले दिएका सुझावलाई आत्मसात् गर्दै सिंगो नगरको टिमले पुरा गर्ने धारणा व्यक्त गरे । नगर प्रमुख न्यौपानेले नगरको समग्र विकासको मुख्य आधार कृषि भएकाले सुकाजोर पनि कृषिको राम्रो सम्भावना बोकेको वडा रहेकाले सुकाजोरबासीले नगरले कृषि विकासको लागि अगाडि सारेका योजना कार्यान्वयनमा साथ दिनु पर्नेमा जोड दिए । उनले नगरपालिकाको आन्तरिक आम्दानी कमी भएको कारण धेरै ठुला आयोजनाहरू अगाडि बढाउन नसकिएको बताउँदै त्यसको लागि प्रदेश र संघीय सरकारबाट बजेट ल्याएर विकासे आयोजनाहरू अगाडि बढाउने भनाई राखे ।
कार्यक्रममा सहभागीले वडाबाट संचालनमा रहेका योजना तथा सेवा प्रवाहमा केन्द्रित भएर राखेका प्रश्न तथा जिज्ञासाको बारेमा रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले आफ्नो भनाई राख्दै नागरिकले उठाएका प्रश्न र विभिन्न जिज्ञासालाई आगामी दिनमा पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । वडा विकासको लागि आफू एउटा प्रतिनिधि मात्रै भएकाले सबै नागरिकले साथ दिनु पर्नेमा जोड दिएका छन् । उनले समृद्ध वडा बनाउनको लागि स्थानीय नागरिकहरूसँग हातेमालो गर्न आफू तयार रहेको धारणा राख्दै त्यो अभियानमा सबैले साथ दिनु पर्ने भनाइ राखे । उनले गएको वर्ष देखि नै वडाले नै सुरु गरेको नागरिकहरूको स्वास्थ्य बीमा गरिदिने, अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा दिने, किसानको माग अनुसार निःशुल्क रासायनिक मल वितरण लगायतका कामलाई यो वर्ष पनि निरन्तरता दिएको बताए ।
सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित रहेर वडावासीले उठाएका प्रश्न र जिज्ञासाको बारेमा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले नगरमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा केही समस्या भएको र आगामी दिनमा त्यस्ता समस्या समाधानमा ध्यान दिने धारणा राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, नेपाली काँग्रेस रामेछाप नगरपालिकाका नगर सभापति कमल विक्रम कार्की, वडा स्तरीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले वडालाई थप सुशासनमैत्री बनाउन जनप्रतिनिधि र कर्मचारी सँगै आम नागरिकको पनि त्यतिकै जिम्मेवारी हुने भएकाले सबैले समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
रामेछाप नगरपालिका ७ नं वडा कार्यालय सुकाजोरको आयोजनामा भएको कार्यक्रमको सहजीकरण प्रहार मिडिया प्रा.लिले गरेको थियो ।
यस्तो छ वडाको चालु आवको हाल सम्मको प्रगति विवरण
रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरको चालु आ.व.२०८०/०८१ को हाल सम्म सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता एवं सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम ।
प्रगति बिवरण
मिति २०८० पौष १५ गते आईतबार
श्रद्धेय वडा अध्यक्ष, रामेछाप नगरपालिकाका प्रवक्ता एवं कार्यक्रमका अध्यक्षज्यू, रामेछाप नगरपालिकाका प्रमुख एवं यस कार्यक्रमका प्रमुख अतिथिज्यू
रामेछाप नगरपालिकाका उप प्रमुखज्यू
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू लगाएत रामेछाप
नगरपालिकाका सम्पूर्ण शाखाका शाखा प्रमुख ज्यूहरु
वडास्तरीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु,
नेपाल पत्रकार महासंघका अध्यक्षज्यू लगायत संचारकर्मी महानुभावहरु,
नगरकार्यपालिकाका सदस्यज्यू, वडा सदस्यज्यूहरु,
रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यू लगायत विभिन्न संघ संस्था, विद्यालय, सुरक्षा निकाय, स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, वडा बाल सञ्जालका अध्यक्षज्यू एवं उपस्थित वडावासी दाजुभाई तथा दिदि बहिनीहरु,
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु,
सार्वजनिक सुनुवाईमा वडाका जिम्मेवार जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्य संस्था, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, संघसंस्था, महिला सञ्जाल, वडा वडा बाल सञ्जाल तथा आमनागरिकहरुको सहभागितामा संचालन गर्न लागिएको कार्यक्रम हो । वडाको क्षेत्र भित्र संचालन गरिने हरेक गतिविधिहरुमा स्थानीय नागरिकहरुको सक्रिय सहभागिता आवश्यक हुन्छ । स्थानीय नागरिकहरुलाई सार्वजनिक सेवाको बारेमा सूचनाको ठुलो महत्व हुन्छ तसर्थ वडामा रहेको सूचनाले सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणमा नागरिकहरुको पँहुच बृद्धिको लागि महत्वपूर्ण भूमिका राख्दछ । सेवा प्रदायक निकाय तथा सेवाग्राहीहरुवीच विकास निर्माण र सार्वजनिक सेवाको वारेमा अपनत्वको भावना विकास गराई सार्वजनिक सेवामा सरिक गराउनु पर्ने आवश्यकता रहन्छ । बस्ती स्तरमा संचालन हुने सार्वजनिक सेवा तथा वस्तुलाई सही प्रयोग गर्नुका साथै पारदर्शिता एवं जवाफदेहितालाई सुदृढ गर्न समेत सार्वजनिक सुनुवाई कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । नागरिकलाई सार्वजनिक निकायले गरेका गतिविधिहरुको वारेमा सूचना माग्ने, पाउने र अवलोकन गर्ने अधिकार सूचनाको हक सम्वन्धी ऐन, २०६४ र सूचनाको हक सम्वन्धी नियमावली, २०६५ ले गरेको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ तथा स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकन कार्यविधि, २०७७ मा पनि सार्वजनिक निकायले आफूले संचालन गरेका हरेक गतिविधिहरुको वारेमा नागरिकहरुलाई सु–सूचित गराउन सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था रहेको छ । यीनै कानूनी प्रावधान समेतका आधारमा विगत वर्षहरु देखि नै वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्ष २०८०/०८१ को हाल सम्म यस वडा कार्यालयबाट संचालन भए गरेका विकास आयोजना तथा सेवा प्रवाहको प्रभावकारीता एवं सेवा प्रवाहको अवस्थाका सम्बन्धमा आज आयोजित यस सार्वजनिक सुनुवाई कार्यक्रममा समग्र प्रगति विवरण प्रस्तुत गर्ने अनुमति
चाहन्छु ।
चालु आर्थिक वर्षमा नगरपालिकाबाट क्रमागत रुपमा टेण्डर भई औद्योगिक ग्राम, हिलेपानी चाम्बोट च्यास्कु कोलोन्जोर सडक कालो पत्रेको ठेक्का आव्हान भएको छ भने सबै विद्मालय तथा स्वास्थ्य संस्थाहरुमा आवश्यकता अनुसार भवन, घेरावारका लागि आवश्यक पहल तथा व्यवस्थापन गरिएको छ ।
संघीय सरकार र नगरपालिकाको साझेदारीतामा समपुरक कोष मार्फत वडा कार्यालय प्राङ्गणमा करिब रु. ५ करोडको लागतमा कबर्ड हल निर्माण कार्य सम्पन्न भएको छ भने खेल मैदान निर्माणको कार्य बजेट अभावका कारण समयमा सम्पन्न हुन सकेको छैन ।
सडक बोर्ड नेपाल र नगरपालिकाको साझेदारीमा हस्पिटलचोक–मुडाजोर– विर्ता, पालेवन–सिम्ले सडक स्तरोन्नती कार्य सम्पन्न भएको छ ।
संघीय सरकारबाट विर्ता ग्वाल्टार जोड्ने मोटरेवल पुल निर्माणको लागि बजेट विनियोजन भएकोले पुल निर्माण सुनिश्चित भएको छ ।
संघीय कार्यक्रमबाट औधोगिक ग्राम निर्माण कार्य ठेक्का मार्फत संचालन भई रहेको छ भने अन्य साना वडा स्तरीय योजनाहरू उपभोक्ता समिति मार्फत संचालन भइ रहेका छन् ।
ब्यवसाय गर्न चाहने नागरीकहरुलाइ व्यवसाय दर्ताको सिफारीस गर्ने काम हुने गरेका छन् ।
विकास निर्माणको कार्यहरु टोल विकास संस्था मार्फत गरी विकास निर्माणको दिगोपना गर्न टोल विकास संस्था दर्ता गर्ने कार्यलाइ प्रोत्साहन गरिएको छ ।
नगपालिकाको समन्वयमा लघुउद्यमी / युवा /आदीवासी/जनजाती/ लोपोन्मुख तथा दलितहरुका लागि प्रविधि हस्तान्तरणको कार्य गरीरहेको छ ।
चालु आ.व.को राजस्व संकलन रु. ३ लाख ३३ हजार ९५९ भई गत आ.व.को कुल ६ लाख ३२ हजार ९ सय ३२ भएकोमा गत वर्षको तुलनामा हाल सम्म ५३ प्रतिशत राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्षको हाल सम्मको प्रगती
वडाको स्वीकृत संगठन संरचना बमोजिम प्रदान गरिने सेवाको प्रकृति, कार्यबोझ र सेवाग्राहीको चापलाई मध्यनजर गरी सेवाग्राही मैत्री सेवा प्रवाह हुने गरी विभिन्न शाखा, उपशाखा र इकाइहरु गठन गरी उपलब्ध जनशक्तिको बाँडफाँड र कार्य जिम्मेवारी तोकी संचालन गरिने व्यवस्था मिलाईएको छ ।
सेवाग्राहीको सुविधाको लागि सूचना प्रकाशन, गुनासो सुन्ने व्यवस्था, नागरिक सहायता कक्ष, कानूनी सहायता कक्ष, स्तनपान कक्षको समेत व्यवस्था मिलाईएको छ ।
प्रदान गरिने सेवाको किसिम, सेवा लिन आवश्यक पर्ने प्रमाणहरु, जिम्मेवार कर्मचारी, शुल्क, दस्तुर लाग्ने भए सो को दर समेत खुल्ने गरी वडा कार्यालयमा नागरिक वडापत्र राखिएको र सेवा प्रवाह मापदण्ड समेत प्रकाशन गरिएको छ ।
सेवा प्रवाहलाई सरल र व्यवस्थित बनाउन आवश्यक कानून र कार्यविधिलाइ प्राप्त निर्देशन बमोजिम लागू गरिएको छ ।
नगरपालिका सँग समन्वय गरी जनप्रतिनिधि, वडा सचिव र सहायक कर्मचारीहरुलाई क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी गराईएको छ ।
वडा कार्यालयबाट कम्प्युटर विलिङ्ग सिष्टमको प्रयोग गरी राजस्व संकलन, व्यक्तिगत घटना दर्ता अनलाईन मार्फत गरिदै आएको छ ।
निर्णय गर्नु पर्ने विषयमा तत्काल निर्णय गरी छिटो छरितो सेवा प्रवाह गर्ने गरिएको छ । प्रत्येक महिना कम्तिमा १ पटक र आवश्यकताका आधारमा जुनसुकै समयमा पनि वडा समितीको वैठक बस्ने गरिएको छ ।
निरन्तर रुपमा सेवाग्राहीको गुनासो सुन्ने, जनसम्पर्क गर्ने व्यवस्थाका साथै शाखालाई व्यवस्थित रुपमा सञ्चालन गरिएको छ । समय समयमा सेवाग्राहीको सन्तुष्टी मापन गरी प्राप्त सुझाव र पृष्ठपोषण बमोजिम सेवा प्रवाहमा सुधार ल्याउने प्रयास गरिएको छ ।
कोभिड १९ विरुद्धको फाइजर खोप पहिलो–दोस्रो तथा तेस्रो मात्रा लगाइएको छ ।
महिला सँग उपमेयर कार्यक्रम मार्फत सुत्केरी महिलाहरूलाई हाइजिन किट तथा पौष्टिक आहार सहितको सुत्केरी कोसेली वितरण भएको छ ।
स्वास्थ्य संस्थाहरुबाट प्रशुति सेवा लिने महिलाहरु, सबै जेष्ठ नागरिकहरु, विपन्न वर्गहरु, दलित, अशक्त, असाहाय नागरिकहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गरिदै आएको छ ।
सबै नागरिकहरुको निःशुल्क स्वास्थ्य विमा गर्ने कार्य निरन्तर गरिदै आईरहेको छ ।
जोनोटिक तथा महामारी रोग नियन्त्रण ( रेविज / पि.पि.आर/खोरेत/स्वाईन फिवर) खोप कार्यक्रम नगरपालिकाको समन्वयमा गरिदै आएकोछ ।
यस वडा क्षेत्र भित्र संचालित विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा विद्यालय व्यवस्थापनका लागि प्र. अ. तथा विद्यालयको माग र चाहना बमोजिम कार्यक्रम गरिदै आएको छ भने खेलकुद विकासका लागि कवर्ड हल खेल मैदान निर्माणाधिन तथा विभिन्न खेल प्रतियोगिताहरु संचालन गरिदै आएको छ ।
राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीतामा सहभागीताकालागि वडाको एक मात्र माध्यामिक विद्यालय भालुखोपलाई आर्थिक सहायता उपलब्ध गराईएकोछ भने शैक्षिक सुधारकालागि नमुना विद्यालयको शैक्षिक अवलोकन भ्रमणको कार्यक्रम राखीएको छ ।
स्थानीय मदिरा ब्राण्डिङ तथा बजारीकरणका लागि आवश्यक कार्यहरु गर्नकालागि रु.७ लाख ५० हजार बजेट विनियोजन भएको छ र खुर्पाने वाईन उद्योग स्थापनाकालागि लगानीकर्ताहरु मार्फत संचालन गर्न सुचना आव्हानको कार्य गरिएको छ ।
वडा स्तरीय कार्यक्रम मार्फत निःशुल्क एवं लागत साझेदारीमा रासायनिक मल, बीउ, विषादी, औजार उपकरणहरु वितरण गरिने कार्यक्रम रहेको छ ।
रामेछाप जिल्ला अदालतसँगको समन्वयमा न्यायिक कानुनी सहायता कार्यहरु तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएकोछ ।
वडाका ईच्छुक व्यक्तिहरुलाई आधारभुत मेलमिलापकर्ता तालिम दिएर विवाद समाधानका कार्यहरु गरिदै आएको छ ।
टोल बस्तीबाट आएका विवादहरु आपसी छलफलका माध्यामबाट समाधान गरिदै आएकोमा यस वर्ष २ वटा विवाद समाधान गरिएको छ ।
वडाका आर्थिक रुपले विपन्न नागरीकहरुलाई आर्थिक रुपले स्वास्थ्य उपचारमा कठिनाई भई वडा कार्यालयमा निवेदन दिन आएका नागरीकहरुलाई आर्थिक सहायता उपलब्ध गराई दिनकालागि नगरपालिकामा २५ जना भन्दा बढिलाई सिफारीस गरिएको छ ।
नेपाल सरकारले विपन्न नागरीक औषधि उपचार सहयोग (रु. १ लाख सम्म) तथा तिन किसीमका दिर्घ रोगहरु ( क्यान्सर, मृगौला डायलायसिस/प्रत्यारोपण र स्पाईन ईन्जुरी) लाई मासिक रु.५ हजार उपलब्ध गराउन सिफारीस गरिएको छ भने यस प्रकारको सेवा ७ जनाले लिनु भएकोछ ।
जग्गाको कित्ता काट आंशिक रुपमा सुचारु भएकोमा यसलाई पूर्ण रुपमा सुचारु गर्न नगरपालिकाको भुउपयोग क्षेत्र वर्गिकरणका कार्यलागि प्रयास भई रहेकोछ ।
भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहजीकरण गर्न वडा स्तरीय सहजीकरण समितिको गठन भई २ जना भूमीहिन सुकुम्बासी र ३१ जना अव्यवस्थित बसोबासीहरुको लगत संकलन भई अनलाईन प्रविष्टिको कार्य सम्पन्न भएको छ ।
रामेछाप नगरपालिका वडा नं. ७ को आर्थिक वर्ष २०८०/८१ मा चालु तर्फ रु. ९ लाख र पुँजीगत तर्फ रु. ६३ लाख ७५ हजार ४ सय ७१ गरी जम्मा रु. ७२ लाख ७५ हजार ४ सय ७१ रुपैंया बजेट विनियोजन रहेको छ ।
वडाका कृषकहरुबाट कृषिजन्य तरकारी तथा फलफुल सहुलियत दरमा बजार केन्द्र सम्म ढुवानीकालागि नगरपालिकासँगको समन्वयमा कृषि एम्बुलेन्सको सेवा प्रवाहको कार्य गरिनेछ ।
माटो परिक्षण शिविर मार्फत माटो परिक्षण गरेर माटोको लागि आवश्यक पर्ने खाद्य तत्वको प्रयोग गर्न सिफारिस गरिएको छ ।
वडाका कृषि सम्बन्धी सेवा प्रवाहका लागि ७८६ जना किसान सूचीकरण गरी परिचय पत्र वितरण गरिएको छ ।
जुनार औषा किरा नियन्त्रण, फौजी किरा नियन्त्रणको लागि ५० प्रतिशत अनुदानमा विषादी वितरणको हुने गरी कृषकहरुलाई प्रोत्साहन कार्य गर्दै आएकोछ ।
सामाजिक रुपान्तरणकालागि बाल मैत्रि स्थानीय शासन अभियान २०८१ चैत्र मसान्त सम्म वालमैत्री वडा घोषणाकोलागि निर्धारित सूचक अनुसारका विभिन्न क्रियाकलापहरु चरणवद्ध रुपमा अघि बढीरहेको छ ।
दिवसीय कार्यक्रमहरु वालदिवस, लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियान र अन्तराष्ट्रिय महिला श्रमिक दिवसमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिदै आएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत नागरीकहरुबाट सडक स्तरोन्नती, सडकमा सोलिङ्ग गरी ढलान एवं बस्ती तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा विभिन्न कार्यहरु गरिदै आएको छ । यस कार्य अन्तरगत ११८ मिटर लम्बाई ४ मिटर चौडाईको सडक ढलान टावरडाडामा लागत साझेदारीतामा सम्पन्न गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता बैंक मार्फत सेवाग्राहिको बस्ती एवं घर–घरमा वितरण गरिदै आएको छ । यस वडा कार्यालयबाट हाल १११० जनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।
नेपाल दुरसञ्चार प्राधिकरणसंगको समन्वयमा यस वडा कार्यालय सम्म रे लिइरहेका छन् । निजि सेवाप्रदायक कम्पनीहरुबाट विद्यालयहरु तथा स्वास्थ्य संस्थाहरुमा अप्टिकल फाईबर सहितको इन्टरनेट जडान गरिएको छ ।
अन्त्यमा,
वडा कार्यालयले सञ्चालन गर्ने समग्र विकास निर्माणका कार्य लगायत सेवा प्रवाहको अवस्थामा अझ वढि प्रभावकारीता ल्याउन आगामी दिनमा सुधार गर्नु पर्ने विषयहरुमा आम वडावासी नागरिकहरुबाट अमुल्य एवं रचनात्मक सल्लाह सुझावको अपेक्षा सहित “ शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार, समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार” भन्ने रामेछाप नगरपालिकाकोले लिएको संकल्पलाई यथार्थमा रुपान्तरण गर्ने अभियानमा समस्त वडावासीहरु हातेमालो गर्दै एक साथ अघि वढौ र वडा नं. ७ का साथ साथै रामेछाप नगरपालिकालाई समृद्धितर्फ लैजान सकौ ।
धन्यवाद ।
आफ्नो प्रतिकृया दिनुहोस्