रामेछाप- रामेछापबाट वैदेशिक रोजगारीमा जानेको संख्या वार्षिक रूपमै वृद्धि हुँदै गएको छ । बितेका दुई वर्षलाई तुलना गर्ने हो भने अघिल्लो वर्ष भन्दा पछिल्लो वर्ष रामेछापबाट श्रम स्वीकृति लिएर जानेको संख्या १५ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा रामेछापबाट ५ हजार ५ सय ४० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए भने पछिल्लो आर्थिक वर्ष २०७९/०८० मा २ हजार २२ जना बढी अर्थात् ७ हजार ५ सय ६२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
गएको आर्थिक वर्ष २०७९/०८० मा रामेछापबाट वैदेशिक रोजगारीमा जानेको संख्या पुरुषको बढी रहेको छ । वैदेशिक रोजगारीमा गएका ७ हजार ५ सय ६२ जनामा ६ हजार ४७ पुरुष र १ हजार ५ सय १५ जना महिला रहेका छन् । १३ ओटा जिल्ला भएको बागमती प्रदेशमा सबै भन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लाको संख्यामा रामेछाप जिल्ला ९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
यसरी वैदेशिक रोजगारीमा जानेहरू मुख्य गरी मलेसिया, कतार, दुबई, कुवेत, दक्षिण कोरिया, रोमानीय, क्रोसिया, माल्टा, साइप्रस जस्ता देशहरू रहेको हेल्भेटास नेपालको सामी (सिन्धुपाल्चोक र रामेछाप) का कार्यक्रम अधिकृत भोजराज सुनुवारले बताए ।
पाँच वर्षमा ४१ जनाले ज्यान गुमाए, १० जना अंगभंग
रामेछापबाट वैदेशिक रोजगारीमा गएका मध्ये ४१ जनाले ज्यान गुमाएका छन् । बितेको पाँच वर्षमा जिल्लाबाट विभिन्न देशमा वैदेशिक रोजगारीको लागि गएका ४१ जनाले ज्यान गुमाएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा ३ जना, ०७६/०७७ मा ४ जना, ०७७/०७८ मा १२ जना, ०७८/०७९ मा १४ जना र ०७९/०८० मा ८ जना गरी पाँच वर्षको अवधिमा ४१ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार विभागको तथ्यांक रहेको छ । त्यस्तै गएका पाँच वर्षमा रामेछापबाट विभिन्न देशमा रोजगारीको लागि गएका १० जना व्यक्तिहरू अंगभंग भएका छन् । १३ वटा जिल्ला भएको बागमती प्रदेशमा पाँच वर्षमा ६ सय ५५ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगारीले समाजमा समस्या थपिँदै
मुलुकमा भएका युवाहरू रोजगारीको लागि विदेश जाने क्रम तीव्र रूपमा वृद्धि हुँदै गएपछि केही सकारात्मक पक्षहरू देखिए पनि नेपाली समाजमा धेरै जसो समस्याहरू थपिँदै गएको सरोकारवालाहरूले बताएका छन् । नेपालमा पर्याप्त रोजगारीको अवसर नहुँदा देशका बेरोजगार युवाहरूका लागि अन्य मुलुकहरूले रोजगारी दिएर अल्पकालीन रोजगारीमा सहयोग पुर्याउँदै नेपालको कुल ग्राहस्थ उत्पादनमा सहयोग पुगेको भए पनि नेपाली समाजमा धेरै जसो समस्याहरू देखिन थालेको उनीहरूले बताए ।
वैदेशिक रोजगारीले पारिवारिक बेमेल, घरेलु हिंसा, पारिवारिक विखण्डन, आन्तरिक बसाइसराइमा वृद्धि जस्ता घटनाहरू बढेको हेल्भेटास नेपालको सामी (सिन्धुपाल्चोक र रामेछाप) का कार्यक्रम अधिकृत भोजराज सुनुवारले बताए । विगत केही वर्ष देखि वैदेशिक रोजगारीका कारण परिवारमा मनोसामाजिक समस्या, युवा शक्तिको न्यूनता, खेती योग्य जमिन बाँझो जमिनमा परिणत, भड्किलो र खर्चिलो सामाजिक जीवनले अनुत्पादक क्षेत्रमा बढी खर्च हुने, मानव बेचबिखन तथा मानव तस्करका दलालहरूको बढ्दो चलखेल जस्ता असार वैदेशिक रोजगारीले समाजमा देखिएको सुनुवारले बताए ।
राज्य सञ्चालकहरूकै कारण युवाहरू विदेश पलायन हुँदै छन्– उपप्रमुख बस्नेत
मन्थली नगरपालिकाको उपप्रमुख इश्वरी बस्नेतले गाउँघरका युवाहरूलाई विदेश नजाऊ भनेर रोक्न सक्ने स्थिति नरहेको बताएकी छिन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर मन्थली नगरपालिका अन्तरगतको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सोमबार मन्थलीमा आयोजना गरेको ‘सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारहरूको भूमिका विषयक’ अन्तरक्रियामा बोल्दै उपप्रमुख बस्नेतले अहिले देशको अवस्थाले गर्दा पनि युहरुलाई विदेश जनाबाट रोक्न सक्ने स्थिति नरहेको बताएकी हुन् । उपप्रमुख बस्नेतले भनिन– ‘अहिले विभिन्न सङ्घसंस्थाहरूमा लोन तिर्न नसकेर आत्मा दाह गर्ने, झुण्डेर मर्ने, विष सेवन गरेर मर्ने यस्ता घटना हाम्रा आँखा वरिपरि नै हामीले देखिराखेका छौँ । यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न सकेका छैनौ । किन भने हाम्रो राज्य संरचना र राज्य सञ्चालकहरू नै त्यस्तै हुनुहुन्छ । यस्ता कुरालाई गम्भीर किसिमले सोचेर युवाहरूलाई हाम्रै देशमा रोजगारी उपलब्ध गराएर देशमै रोक्नु पर्छ र त्यसको दायित्व हामी सबैको हो ।’
युवाहरूलाई देशमै रोक्नको लागि कस्ता कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा पत्रकारहरूले आफ्नो लेख मार्फत सकारात्मक सन्देश दिने खालका लेखहरू लेखेर युवालाई आकार्षित गर्नु पर्नेमा उपप्रमुख बस्नेतले जोड दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले रामेछापमा वैदेशिक रोजगारीका कारण धेरै सामाजिक रूपमा असरहरू देखिएको र वैदेशिक रोजगारीका देखिएका समस्या समाधानमा सबै लाग्नु पर्नेमा जोड दिए ।
वैदेशिक रोजगारीले निम्त्याएका समस्या समाधानमा सहयोगी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्य सहित सञ्चालनमा आएको सुरक्षित आप्रवासन कार्यक्रमले रामेछाप जिल्लामा वैदेशिक रोजगारीका कारण देखिएका विभिन्न समस्या समाधानमा सहयोग पुर्याएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसर आयोजित ‘सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारहरूको भूमिका विषयक’ अन्तरक्रियामा प्रस्तुत गरिएको तथ्यांकले विभिन्न समस्या समाधानमा सहयोग पुगेको देखिएको छ । वैदेशिक रोजगारीमा जानेलाई सूचनामा प्रदान, अन्यायमा परेकालाई न्यायिक सहयोग, सिप विकास तालिममा सहयोग, वैदेशिक रोजगारीका कारण परिवारमा देखिएको मनोसामाजिक समस्यालाई परामर्श, वित्तीय साक्षरता लगायतका क्षेत्रमा काम गरिरहेको र त्यसको परिणाम पनि राम्रो भएको सुरक्षित आप्रवासन कार्यक्रमका कार्यक्रम संयोजक दीपक केसीले बताए ।
११ वर्ष देखि निरन्तर सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट वैदेशिक रोजगारीमा जान तथा विभिन्न प्रयोजनको लागि राहदानी बनाउन आउने हजारौँ सेवाग्राहीलाई सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना तथा परामर्श प्रदान गरिएको केसीले बताए । उनका अनुसार समुदाय स्तरमा गएर वैदेशिक रोजगार र त्यसले निम्त्याएको समस्याका बारेमा अभिमुखीकरण, वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेर विभिन्न दुर्घटनामा परेका र समस्यामा परेकालाई उद्धार, तालिमका लागि तालिम प्रदायक संस्थामा पठाउने, मनोसामाजिक परामर्श दिने, वित्तीय साक्षरता जस्ता कार्यक्रमले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्याहरू न्यूनीकरण भएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा रामेछापमा एक हप्ते कार्यक्रम
अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर मन्थली नगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन कार्यक्रम मार्फत रामेछापका विभिन्न सरोकारवाला निकायहरूसँग एक हप्ते कार्यक्रमको आयोजना गरिने कार्यक्रम संयोजक दीपक केसीले बताए । उनका अनुसार सोमबार पत्रकारहरूसँग अन्तरक्रिया गरिएको छ भने मंगलवार समुदायका अगुवाहरूसँग अन्तरक्रिया, बुधवार रोजगार सेवा केन्द्रसँग सूचना आदान प्रदान बैठक, बिहीबार जिल्ला प्रशासन कार्यालयसँग समन्वय बैठक, शुक्रवार प्रहरीसँग अन्तरक्रिया र शुक्रवार नै मन्थली नगरपालिकाका शाखा प्रमुखहरूसँगको बैठक सँगै कार्यक्रम एक हप्ते कार्यक्रम समापन गरिने छ ।
एक हप्ते कार्यक्रममा वैदेशिक रोजगारीलाई कसरी सुरक्षित र मर्यादित बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायहरूसँगका व्यक्तिहरूसँग छलफल गरिने कार्यक्रम संयोजक दीपक केसीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्