रामेछाप– जिल्लाको दुर्गम गाउँपालिकाको रूपमा परिचित उमाकुण्ड गाउँपालिकाले आफ्नो सेवालाई गाउँ केन्द्रित गरेर आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट झन्डै साढे नौ सय सेवाग्राहीले सेवा लिएका छन् । असोज १८ गतेदेखि सुरु भएर २४ गते सम्पन्न भएको घुम्ती शिविरबाट ९ सय ४६ जनाले आफूलाई पायक पर्ने आफ्नै वडा कार्यालयबाट सेवा लिएका हुन् ।
वडा नं १ देखि वडा नं ७ सम्म सञ्चालन भएको शिविरमा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नागरिकता २ सय १७ जनाले लिएका छन् भने ४ सय ९ जनाले राष्ट्रिय परिचय पत्रको विवरणमा आफ्नो नाम दर्ता गराएको उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताए । लामाका अनुसार गाउँपालिकाले जारी गर्ने अपाङ्गता परिचय पत्र ५४ जनाले लिएका छन् भने ४८ जना जेष्ठ नागरिकले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका छन् । शिविरमा २३ जनाले नयाँ व्यवसाय दर्ता, १ सय ९२ जनाले व्यवसाय नवीकरण र ३ जनाले व्यवसाय इजाजत लिएका छन् । चालु आर्थिक वर्षका लागि विनियोजित ३४ ओटा योजना पनि गाउँमै सम्झौता भएका छन् । नयाँ व्यवसाय दर्ता, नवीकरण लगायतबाट ४ लाख ४ सय राजस्व पनि शिविरमा उठेको प्रमुख प्रशासकीय अधिकृत लामाले बताए ।
जिल्ला प्रशासन कार्यालय रामेछाप र उमाकुण्ड गाउँपालिकाको केन्द्रबाट प्रवाह हुने सेवा सहित पालिकाको ७ ओटै वडामा पुगेको शिविरले पालिकाको केन्द्र र सदरमुकाम मन्थली सम्म जान नसक्ने अपाङ्गता भएका व्यक्ति तथा अशक्त भएका व्यक्तिलाई ठुलो राहत पुर्याएको सेवाग्राहीले बताएका छन् । पालिकाबाट प्रवाह हुने सेवा लिन पालिकाको केन्द्र सम्म धाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै अब धेरै जसो सेवा वडाबाटै प्रवाह गर्ने गरी तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत लामाले बताए ।
जेष्ठ नागरिकको परिचय पत्र पाउने बेलामा नागरिकता
उमाकुण्ड गाउँपालिकाको वडा नं ३ यासरु टोलको दापुटी शेर्पा उमेरले ५८ वर्षकी भइन् । उनको उमेर गन्दा अबको दुई वर्षमा जेष्ठ नागरिकको परिचय पत्र पाउने उमेरको मुखमा पुगेकी छिन् । अर्थात् उनी ६० वर्ष पुग्न लागिन् । तर, उनले बल्ल नेपाली नागरिकता पाएकी छिन् । १६ वर्ष उमेर पुरा भएपछि नागरिकता पाउने कानुन भए पनि दापुटीले विभिन्न कारणले गर्दा हाल सम्म नागरिकता पाएकी थिइनन् । उनले नागरिकता नपाउनुको मुख्य कारण भनेको नागरिकता बनाउनको लागि दुई÷तीन दिन लगाएर सदरमुकाम धाउनु पर्ने बाध्यता र आफ्नै घरायसी समस्या नै हो । हाल सम्म नागरिकता नपाएकी दापुटीका लागि सहारा बन्यो गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविर । सदरमुकाम पुगेर लिनु पर्ने नागरिकता आफ्नै वडा कार्यालयमा बनेपछि दापुटीले खुसी व्यक्त गर्दै भनिन्– ‘उमेरले त झन्डै तीन बीसा हुन लागेँ । यो बेला सम्म नागरिकताको त्यति धेरै काम नै परेन, त्यही भएर पनि नागरिकता नबनाएको हो । तर, अहिले शिविर लिएर आउने सरहरूले भन्नु हुँदा त नागरिकताको काम त धेरै पो रहेछ । हाम्रै गाउँका भोटले जितेका सरकारका मान्छे र प्रशासनका सरहरूले आफ्नै घरको छेउमा आएर नागरिकता दिनुभयो धेरै खुसी लाग्यो । उहाँहरूलाई मेरो आर्सीवाद छ ।’
‘शिविरले सेवा मात्रै दिएको छैन, स्थानीयको लाखौँ पैसा र समयको बचत पनि गराएको छ’– उपाध्यक्ष सुनुवार
पालिकाबाट प्रवाह हुने सेवालाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले आयोजना गरेको एकीकृत घुम्ती शिविरले वर्षौँ देखि प्रशासनिक सेवाबाट वञ्चितमा रहेका नागरिकलाई निकै ठुलो राहत मिलेको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बताइन् । उपाध्यक्ष सुनुवारले भनिन–‘गाउँमा विभिन्न सेवाबाट वञ्चित भएर धेरै नागरिकहरु बस्नुभएको रहेछ । शिविरबाट उहाँहरूलाई ठुलो राहत मिलेको छ । ५८ वर्ष पुग्दा पनि नागरिकता नलिएका स्थानीयहरू पनि गाउँमा हुनुहुँदो रहेछ, उहाँहरू जस्ता धेरैलाई राहत पुगेको छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि शिविर निकै उपयोगी भएको मैले महसुस गरेकी छु । किनकि उहाँहरू एउटा परिचयपत्र बनाउन पालिकाको केन्द्र सम्म आउनु पर्दथ्यो त्यो निकै कठिन कुरा हो, अपाङ्गता परिचय पत्र नभएकै कारण उहाँहरूले राज्यबाट पाउनु पर्ने विभिन्न साहयताबाट पनि वञ्चितमा पर्नु भएको थियो अब त्यसको पनि अन्त्य भएको छ ।’
जेष्ठ नागरिक परिचय पत्र बनाउने, योजना सम्झौता गर्ने, नयाँ व्यवसाय दर्ता गर्ने, व्यवसाय नवीकरण गर्ने, व्यवसायको इजाजत लिने र राष्ट्रिय परिचय पत्र बनाउने जस्ता सेवा गाउँमै पुगेपछि स्थानीयको समयको बचत सँगै उनीहरूको व्यक्तिगत खर्च जोगिएको उपाध्यक्ष सुनुवारले बताइन् । उपाध्यक्ष सुनुवारले भनिन, ‘संख्यामा हिसाब गर्ने हो भने झन्डै एक हजारले सेवा लिएका छन् । उनीहरूले लिएका सेवा लिन पालिकाको केन्द्र र सदरमुकाम मन्थली पुग्दा औसतमा प्रति व्यक्तिलाई २ हजारको हाराहारीमा खर्च लाग्थ्यो । त्यो एकमुस्टमा हिसाब गर्दा २० लाख बराबर खर्च हुने रहेछ, त्यो खर्च शिविरले जोगाएको छ । त्यति मात्रै हैन, वर्षौँ देखि सेवाबाट वञ्चितमा रहेका नागरिकले गाउँमै सेवा पाएका छन् । यो नै शिविरको ठुलो उपलब्धि हो ।’
शिविरमा गाउँ गएको बेला जनप्रतिनिधिले गर्नु पर्ने काम र स्थानीयका समस्याका बारेमा समेत छलफल भएको उपाध्यक्ष सुनुवारले बताइन् । छलफलका क्रममा धेरै जसो स्थानीयले जनप्रतिनिधिहरू गाउँका कुना–कुनामा पुगेर नागरिकका अपेक्षा संकलन गरेर आगामी कार्यक्रम बनाउन सुझाव दिएको उनले बताइन् । छलफलका क्रममा आएका सुझावलाई आफ्नो तर्फबाट पूरा गर्न आफू तयार रहेको उपाध्यक्ष सुनुवारले बताइन् ।
नागरिकता जारी गर्ने र राष्ट्रिय परिचय पत्र सङ्कलनलाई गाउँमै पुर्याउने जिल्ला प्रशासन कार्यालय रामेछापलाई धन्यवाद दिँदै उपाध्यक्ष सुनुवारले आगामी दिनमा पनि गाउँपालिकाबाट प्रवाह हुने सेवा र प्रशासनबाट प्रवाह हुने सेवालाई संयुक्त रूपमा शिविर मार्फत गर्नु पर्नेमा जोड दिइन् ।
उपाध्यक्ष सुनुवारको नेतृत्वमा रहेको शिविरले ७ वटै वडामा पुगेर सेवा प्रवाह गरेको थियो । एक वडामा एक दिन सेवा प्रवाह गरिएको गाउँपालिकाले बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्