रामेछाप– रामेछापमा आत्महत्या गर्नेको संख्या पाँच वर्ष देखि स्थिर रहेको छ । गएको पाँच वर्षलाई हेर्दा वार्षिक औसत ५० जनाले आत्महत्या गर्ने गरेका छन् । गएका पाँच वर्षमा सबै भन्दा बढी आर्थिक वर्ष २०७७/०७८ मा ६५ जनाले र सबै भन्दा कम आर्थिक वर्ष २०७५/०७६ मा ४२ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गएका पाँच वर्षमा २ सय ५२ जनाले आत्महत्या गरेका छन् । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४२ जना, २०७६/०७७ मा ५० जना, २०७७/०७८ मा ६५ जना, २०७८/०७९ मा ४५ जना र २०७९/०८० मा ५१ जनाले आत्महत्या गरेका छन् । पाँच वर्ष देखि आत्महत्या गर्नेको संख्यामा केही तलमाथि भएको भए पनि पाँच वर्षको तथ्याङ्कलाई मूल्याङ्कन गर्दा आत्महत्याको संख्या स्थिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरी प्रमुख प्रहरी नायव उपरीक्ष होमबहादुर पराजुलीले बताए । गएको आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका मुद्दा मध्ये २७ प्रतिशत मुद्दा आत्महत्यासँग सम्बन्धित रहेको पराजुलीले बताए ।
आत्महत्या गर्नेको संख्या सबै भन्दा बढी मन्थली नगरपालिका भित्र
गएको आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार आत्महत्या गर्नेको संख्या सबै भन्दा बढी मन्थली नगरपालिकामा रहेको छ । मन्थली नगरपालिकामा १३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै सबै भन्दा कम आत्महत्या गर्नेको संख्या सुनापति गाउँपालिकामा रहेको छ । सुनापति गाउँपालिकामा गएको आर्थिक वर्षमा २ जनाले मात्रै आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा उमाकुण्ड गाउँपालिकामा ८ जनाले, खाँडादेवी गाउँपालिकामा ६ जनाले, गोकुलगंगा गाउँपालिकामा ३ जनाले, दोरम्बा शैलुङ्ग गाउँपालिकामा ६ जनाले, रामेछाप नगरपालिकामा ७ जनाले र लिखुतामाकोशी गाउँपालिकामा ६ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा ५१ वर्ष माथिका बढी
आत्महत्या गर्ने मानिसको संख्यालाई तुलना गर्दा ५१ वर्ष भन्दा माथिका उमेर समूहका मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको छ । गएको आर्थिक वर्षमा ५१ जना मध्य सबै भन्दा बढी ५१ वर्ष माथि उमेर समूहका १६ जनाले आत्महत्या गरेका छन् । भने सबै भन्दा कम १९ देखि २५ वर्ष उमेर समूहका ३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै २६ वर्ष देखि ४० वर्ष उमेर समूहका १५ जनाले आत्महत्या गरेका छन् भने १८ वर्ष भन्दा कम उमेर समूहका ९ जना मानिसले आत्महत्या गरेको तथ्याङ्क रामेछाप प्रहरीसँग रहेको छ ।
आत्महत्या गर्नेमा पुरुष बढी
आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कलाई हेर्दा रामेछाप जिल्लामा आत्महत्या गर्नेको संख्यामा महिला भन्दा बढी पुरुष रहेका छन् । गएको आर्थिक वर्षको तथ्याङ्क अनुसार ५१ जना मध्ये २७ जना पुरुष र १५ जना महिला रहेका छन् भने ६ बालिका र ३ बालक रहेका छन् ।
आत्महत्याका कारणहरुः प्रेममा असफलता देखि पारिवारिक कलह सम्म
आत्महत्या गर्नु पर्ने स्थितिमा पुग्नु पर्ने विभिन्न कारण मध्ये प्रेममा असफलता देखि पारिवारिक कलह सम्मका कारणहरू हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । रामेछापमा भएका आत्महत्याका घटनाको अनुसन्धानमा देखिएका विभिन्न कारण मध्ये प्रेममा असफलता, गरिबी, बेरोजगारी तथा आर्थिक समस्या, शिक्षामा असफलता, दाइजो प्रथाबाट पीडित, मानिसक सन्तुलन गुमाएको, विभिन्न दीर्घ रोगीको कारण शारीरिक पीडा, सम्बन्धमा आएको समस्या, विभिन्न अपराधबाट पीडित भएको, आफूले गरेको अपराधको सामना गर्न नसकेर, कुनै कामको लागि अनावश्यक दबाब, पारिवारिक कलह, सामाजिक अपमान तथा बहिष्कार, मादक पदार्थ र लागु औषधको अत्यधिक प्रयोग र आत्महत्याको विगतको पारिवारिक पृष्ठभूमि जस्ता कारणहरूले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए ।
आत्महत्या गर्नेले देखाउने लक्षण
आत्महत्या गर्ने मानिसहरूले आत्महत्या गर्नु भन्दा पहिला विभिन्न लक्षण देखाउने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख पराजुलीका अनुसार आत्महत्या गर्ने मानिसहरूले आत्महत्याको बारेमा कुरा गर्ने वा लेख्ने गरेको, आत्महत्या गर्ने साधन खरिद गर्ने वा साथमा राख्ने, साथीभाइ तथा आफन्तसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिदा माग्ने, सामाजिक सञ्जालमा आत्महत्या गर्ने बारे लेख्ने जस्ता कारणहरू रहेका छन् ।
आत्महत्याका घटना रोक्न सबै लाग्नु पर्छ– प्रहरी प्रमुख पराजुली
रामेछाप जिल्लाको गएको पाँच वर्षको आत्महत्या गर्नेको तथ्याङ्क स्थिर रहेको बताउँदै रामेछाप प्रहरी प्रमुख होमबहादुर पराजुलीले आत्महत्याको घटना न्यूनीकरण गर्न सबै लाग्नु पर्ने बताएका छन् । आत्महत्याका घटना रोक्नको लागि लक्षणको पहिचान गर्ने, लक्षणहरू देखिएको व्यक्तिलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्ने, आत्महत्या गर्ने साधन तथा माध्यमको पहुँचमा नियन्त्रण गर्ने, मनोविमर्शकर्ताको सहयोग लिने, आत्महत्या रोकथामको लागि अन्तरक्रिया तथा छलफल गर्ने, हिंसा र अपराधका पीडितहरूलाई परामर्श दिने, अनावश्यक गाली, झैझगडा तथा पारिवारिक कलह नगर्ने, बालबालिकामा नकारात्मक असर पर्ने दबाब, धम्की, यातना दिने कार्य नगर्ने, शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक आयामहरूमा सन्तुलन राख्न जस्ता कुरामा सबैले ध्यान दिनु पर्नेमा पराजुलीको जोड रहेको छ ।
प्रहार खबर साप्ताहिकमा २०८० भदौ २४ गते आइतबार प्रकाशित
आफ्नो प्रतिकृया दिनुहोस्