हरेक वर्षा सेप्टेम्बर १० अर्थात् भाद्र २४ गते आजका दिनलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाइने गरिन्छ । यस वर्षा पनि विश्व स्वास्थ्य सङ्गठनले “आशा जगाऔँ जीवन बचाऔँ “ भन्ने नारा सहित विश्व भरिनै मनाई रहेको छ । आत्महत्या कायरता होइन मनोरोग हो उपचार सम्भव छ त्यसैले खुलेर कुरा गरौँ । आत्महत्या भनेको आफ्नो जीवन आफैले थाहा पाएर नै ज्यान लिने व्यवहार हो । सामान्य बुझाइमा आफ्नो श्वास –प्रश्वास रोकी वा बन्दा गरी गरिने हत्यालाई आत्महत्या भनिन्छ । मनोबैज्ञानिकहरुको भनाई अनुसार आत्महत्या मानसिक समस्याको एक जटिल परिणाम हो । केही व्यक्तिहरूले आफ्नो समस्याहरूको समाधान नहुँदा या गर्न नसक्दा आफ्नो उद्देश्य वा आकांक्ष पूरा गर्न नसक्दा क्षणिकको रिसको आवेगमा आएर आत्महत्या गरेको पाइन्छ । मानिसहरू मानसिक तनाव तथा पीडाहरू थेग्न नसकी भित्री मन देखि नै बाच्नु भन्दा मर्नु नै सहज ठानेर वा बाचेर धर्तीको बोझ मात्र भयो भन्ने महसुस गरेर आत्महत्या गर्ने गर्छन् । आत्महत्यालाई त्यसको प्रकृति अनुसार आत्महत्या र आत्महत्या प्रयास भनी दुई प्रकारको मानिन्छ । आत्महत्या प्रयासको संख्या आत्महत्या भन्दा बढी हुने गर्दछ । प्रायः एक आत्महत्या हुँदा २०/३० जनाले आत्महत्या प्रयास हुने गरेको पाईएको छ । नेपालमा प्रत्येक वर्ष आत्महत्याका घट्नहरु दिनप्रतिदिन बढ्दै गइरहेको पाइन्छ । आत्महत्याको सोच तथा प्रयासलाई तत्कालै उपचार गर्नु पर्ने अत्यन्त संवेदनशील विपदको रूपमा हेरिन्छ । अहिलेको अवस्थालाई हेर्ने हो भने विशेष गरी युवा वर्गहरुमा सँगै अहिले बालबालिकाहरूमा पनि आत्महत्या गर्ने वा अधिकतम रूपमा प्रयास गर्ने संख्या अन्य उमेरको संख्या भन्दा ज्यादै बढी हुने गरेको पाइन्छ । आत्महत्याले व्यक्तिको निधन मात्र नभई परिवार,समुदायमा समेत ठुलो असर पार्दछ । नेपाल विश्वमा आत्महत्याको जोखिममा सातौँ स्थानमा र महिलाहरूमा तेस्रो स्थानमा पर्दछ । आत्महत्या गरेर जति व्यक्तिहरूको मृत्यु भइरहेको हुन्छ । त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने गर्दछ । प्रायः महिलाहरू पुरुषहरूको अनुपातमा बढी आत्महत्याको प्रयास गर्दछन् ।
नेपालमा प्रत्येक वर्षा आत्महत्याका थुप्रै घट्नहरु दिन प्रतिदिन तीव्र गतिमा वृद्धि हुँदै जानुको केही प्रमुख कारणको रूपमा लिन सकिन्छ जस्तैः सामाजिक, मानसिक र आर्थिक तत्त्वलाई लिएको छ । नेपालको सन्दर्भमा आत्महत्याको विभिन्न माध्यमहरू मध्ये केही उल्लेख गर्न सकिन्छ । शरीरमा आगो लगाएर, डोरिले झुन्डिएर, विष सेवन गरेर, धारिलो हात हतियार प्रयोग, पानीमा डुबेर, खोलामा हाम फालेर, निसास्सिएर, सवारी साधन दुर्घटना गराएर, गोली हानेर र अत्यधिक मात्रामा मदिरा पान सेवन गरेर समेत आत्महत्या गर्ने गरेको पाइन्छ । विश्वमा बर्सेनि आत्महत्याको कारण सरदर ८ लाख व्यक्तिहरूको मृत्यु भएको पाइन्छ । हरेक सेकेन्डमा १ जनाले प्रयास गरी रहेको र ४० सेकेन्डमा विश्वमा कतै कुनै व्यक्तिले सफल रूपमा आत्महत्या गर्दछन् । (विश्व स्वास्थ्य सङ्गठन )आत्महत्याको उमेर अनुसारको तथ्यङ्ग हेर्ने हो भने १५–४४वर्षा उमेर समूहका ५५% र ४५ वा सो भन्दा माथि उमेर समूहका ४५ प्रतिशत रहेको छ आत्महत्याको प्रयास वा आत्महत्या गरी ज्यान गुमाउने करिब ८५ प्रतिशत व्यक्तिहरूमा काहीँ न काहीँ मानसिक समस्या रहेको पाइन्छ । सामान्य स्वास्थ्य भएका व्यक्तिहरूको तुलनामा मानसिक समस्या भएका व्यक्तिहरूमा आत्महत्याको जोखिम ३ देखि १२ गुण बढी रहेको हुन्छ ।
विशेष गरी केही अध्ययनले आत्महत्याको कारण जटिल किसिमको मानसिक तनाव, अत्यधिक रक्सी सेवन र लागूपदार्थको दुरुपयोगलाई लिन सकिन्छ । केही तथ्याङ्कहरुले मानसिक समस्या आर्थिक, अध्ययन, र ब्यापार प्रेममा असफलतालाई आत्महत्याको प्रमुख कारणहरू भन्ने गरेको छ । जसले आत्महत्याको कोसिस गर्ने र आत्महत्या गर्ने गर्छन् उनीहरूमा ९५% मानिसहरूमा कुनै न कुनै किसिमको मानसिक समस्याबाट पीडित भएका हुन्छन् । आत्महत्याको सोच बनाएका व्यक्तिले केही न केही पूर्व योजना बनाई योजनाबद्ध तरिकाले आत्महत्या गर्छन् । भने ५% व्यक्तिले मात्र आत्महत्या गर्ने भनी समय समयमा धाक धम्की दिई रहेको हुन्छ । मानिसले सामाजिक, आर्थिक, सांस्कृतिक तथा मनोबैज्ञानिक कारणले पनि आत्महत्या गर्न सक्छन् । मानिसको जीवनमा देखिन्थे गम्भीर पीडादायक शारीरिक रोग जस्तै: क्यान्सर लाग्नु, श्रीमान् श्रीमतीबिच सम्बन्ध विच्छेद हुनु, मिर्गौलाको रोग लाग्नु, विगतको दिनहरूमा परिवारको अन्य सदस्यहरूले पनि आत्महत्या गरेको, कमजोर आर्थिक अवस्था, बेरोजगारी, बाल्यकालको विपत्ति, मानसिक समस्याहरू र मनोवैज्ञानिक तत्त्वहरू, दीर्घ रोग, सामाजिक, ब्याक्तिगत वा मनोसामाजिक समस्याहरू, आवेगपन, रक्सी र अन्य लागूपदार्थ दुरुपयोग, कुनै कामको निरन्तरताको असफलता, आफ्नो समाजबाट अलग्गाएको, कष्टदायक वैवाहिक जीवन, अवैध गर्भधारण, विभिन्न व्यवसायमा क्षति पुग्नु, विवाह गर्दा माइती पक्षले दाइजो नदिनु,सामाजिक अपमान बहिस्कार नै आत्महत्याको कारक तत्त्व हुन सक्छन् ।
विशेषतः आत्महत्या गर्ने व्यक्तिहरूले आत्महत्या तथा आत्म हानिका विभिन्न व्यवहारिक सङ्केतहरू गरेको पाइन्छ । जस्तै: आशा विहीन, सहयोग विहीन महसुस गर्ने, आफूले सोचेको जस्तै कुनै काम भएन भने झट्ट रिसाउने, मृत्युबारे कुरा गर्ने, लागूपदार्थको अत्यधिक सेवन गर्ने, एक्कासी धेरै खुसी हुने या धेरै दुःखी हुने, आत्महत्या गर्ने माध्यमहरू खोजी गर्ने, मूल्यहीन सोचहरू प्रकट गर्ने, सामाजिक सञ्जाल मार्फत आफ्नो अन्तिम इच्छाहरू सम्प्रेषण गर्ने, टोलाएर एक्लै बस्न मन गर्ने, साथीभाईहरुसँग घुलमिल हुन नचाहन्ने, एकान्तमा बस्न रुचाउने, सरसफाइमा खासै ध्यान नदिने, यौन चाहनामा कमी आउने, गर्ने रुचि घट्ने चिन्तित देखिन्थे, निन्द्रामा डर नलाग्ने सपना देख्ने, अचानक अत्यधिक तौल घट्ने र बढ्ने, खाना खान मन नलाग्ने, जस्ता नैरास्यता झल्काउने लक्षणहरू देखिन्थे गर्दछन् ।
विश्वमा दैनिक कति मानिसहरूले आत्महत्या गर्छन् भन्ने तथ्य सार्वजनिक भएको छ । जस अनुसार १ दिनमा लगभग १६ देखि २० जनाले मृत्यु आत्महत्याको कारणले भइरहेको छ । रामेछाप जिल्ला पनि कहाँ अछुतो छ र आत्महत्या गर्नेमा आत्महत्याको कस्तो अवस्था छ भनेर हेरौँ । जिल्ला प्रहरी कार्यालय रामेछापको तथ्यङ्ग अनुसार आर्थिक वर्षा २०७५/०७६ मा ४२ जना,२०७६/०७७ मा ५०, २०७७/०७८ मा ६५ जना, २०७८/०७९ मा ४५ जना र यही आर्थिक वर्ष २०७९/०८० मा ५१ जनाले आत्महत्या गरेका छन् । जस मध्ये स्थानीय तहहरूमा हेर्दा दोरम्बाशैलुङ्ग गाउँपालिका ६ जना, मन्थली नगरपालिकामा १३ जना, खाँडादेबि गाउँपालिकामा ६ जना गोकुलगङ्ग गाउँपालिकामा ३ जना, सुनापती गाउँपालिकामा २ जना र रामेछाप नगरपालिकामा ७ जनाले आत्महत्या गरेका छन् । रामेछापमा सबै भन्दा बढी मन्थली नगरपालिका भित्रबाट १२ जनाले र सुनापती गाउँपालिकाबाट २ जना व्यक्तिहरूले आत्महत्या गर्नेको संख्या रहेको छ । उमेरको अनुपातमामा बिस्लेश्नन गरेर हेर्दा १८ वर्षा भन्दा तलाको ९ जना, १९ देखि २५ वर्षा बीचको ३जना, २६–४० को १५ जना, ४१– ५० को ४ जना त्यस्तै गरी ५१– ६५ बीचको उमेरको १६ जना र ६६ वर्षा भन्दा माथिका उमेरका ४ जना सहित ५१ जना व्यक्तिहरूले आत्महत्या गरेको देखिन्छ ।
आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि के गर्न सकिन्छ त …?
आत्महत्यालाई निरुत्साहन गर्न आ–आफ्नो भुमिका निर्वाह गर्ने, मानसिक रूपमा स्वास्थ्य रहन स्वहेरचाहको अभ्यास गर्ने, उपलब्ध सेवाबारे जानकारी र पहुँच राख्ने, आफ्ना मनमा भएका भावनाहरू परिवार र साथीहरूसँग खुलेर कुरा गर्ने, आफ्नो काममा रमाएर व्यस्त रहने, तनाव थप्ने कामहरूलाई बेवास्ता गर्ने, मानसिक समस्या सिर्जना भएमा तत्काल मनोसामाजिक परामर्शकर्ताबाट परामर्श लिने, योग अभ्यास तथा ध्यान गर्ने, पर्याप्त मात्रामा निन्द्रा पूरा गर्ने, सँगै समुदाय स्तरमा विभिन्न किसिमको जनचेतना मुलुक कार्यक्रमहरू सञ्चालन गर्ने, स्थानीय सरकारले मनोबिमर्शकर्ता, सामाजिक कार्यकर्ता, स्थानीय व्यक्तिहरू, स्वास्थ्य कार्यकर्ता, नेपाल प्रहरी, सञ्चार माध्यमहरूलाई परिचालन गरी मानसिक स्वास्थ्यको बारेमा मनोशिक्षाको बारेमा जानकारी गराउनु पर्ने देखिन्छ । किन कि हाम्रो समाजमा मानसिक रोग भनेको नराम्रो रोग हो भनेर समाजले घृणा गर्छ भनेर लुकाएर राख्ने गरिन्छ भने केहिले आफू आर्थिक रूपमा कमजोर भएको कारणले पनि उपचार गर्न सम्म पाउन सकेको हुँदैनन् । अर्को कुरा समाजले मानसिक रोग थाहा भएको अवस्थामा नराम्रो दृष्टिकोणले हेर्ने र नराम्रो व्यवहार गर्ने सोचको कारणले मानिसहरू आत्महत्या र मानसिक स्वास्थ्यको बारेमा खुलेर बोलेको फाइँदैन । जुन व्यक्तिले आत्महत्याको प्रयास गरी रहेको हुन्छ, उसले काहीँ न काहीँ कुनै समयमा आफूलाई आत्महत्या गर्न मन लागेको बारे अपत्यारिलो तरिकाले कुरा व्यक्त गरेका हुन सक्छ । चाहे साथीहरूसँग भेटघाट गरी कुराकानी गर्दा या त सामाजिक सञ्जालको माध्यम प्रयोग गरी गर्न सक्छ । त्यसैले उनीहरूलाई आफ्नो समस्याको बारेमा खुलेर गोपनीयताका साथ कुराकानी गर्न पाउने वातावरणको भरपुर रूपमा सृजना गर्नु पर्छ । जसले गर्दा सम्बन्धित व्यक्तिले मेरो नि समस्याहरू सुन्ने व्यक्ति रहेछ भनेर महसुस गर्नेछ । आफूलाई आउने नियमित उक्त आत्महत्याको नराम्रो बिचारलाई परित्याग गरी सहज रूपमा जिउन सकिने छ । भविष्यप्रति आशा जगाउने खालका कुराहरूको अनुभूति दिलाउने, उनीहरूलाई आफ्ना भावनाहरू व्यक्त गर्न समय दिने, सेवाग्राहीसँग कुराकानी गर्दा उसको भावनाप्रति संवेदनशील हुनु जरुरी छ । उसका भावनाहरू व्यक्त गर्न प्रोत्साहन गर्ने, मानव जीवनको महत्त्वको बारेमा कुराकानी गर्ने, आत्महत्या उदासीनताको कारणले हुने भएकोले आफ्नो क्षमता भन्दा माथिको कुरा नगर्ने, मनमा धेरै नराम्रो कुराहरू नखेल्ने, तनाव नलिने, आफू जे छ त्यसमा खुसी रहने, मनमा अनावश्यक बिचारहरू व्यक्त गरेर बस्नु राम्रो भने होइन ।
आत्महत्या एक नमो रोग हो । यसलाई न्यूनीकरण गर्न सकिन्छ । हाम्रो समाजमा मानसिक रोग गरिबिको कारणले लाग्छ भन्ने परम्परा रहेको छ । सामाजिक र आर्थिक पूर्ण रूपमा सम्पन्न हुनेलाई पनि मानसिक रोग लागेको ठुलो सङ्ख्यामा रहेको पाइन्छ । नेपालमा हाल बढेको आत्महत्या गरिब सङ्ग सम्बन्धित देखिँदैन । यो नितान्त हाम्रो समाजमा रहेको सामाजिक मनोविज्ञानसँग सम्बन्धित छ । अबका दिनहरूमा सम्बन्धित सरोकारवालाहरूले समाज रूपान्तरण गर्ने हो भने मानसिक स्वास्थ्यको क्षेत्रमा गम्भीरता पूर्वक सोचेर स्थानीय सरकारले मानसिक स्वास्थ्य कार्यविधि निर्माण गरी कार्यान्वयन गर्न जरुरत देखिन्छ । यस सङ्गै ग्रामीण समुदायमा मनोसामाजिक समस्याको बारेमा जनचेतना मुलुक कार्यक्रमहरू सञ्चालन गर्न सकिएन भने अबका वर्षाहरूमा आत्महत्याको केशले यो भन्दा विकराल रूप लिन सकिन्छ । हाल रहेको ग्रामीण भेगमा मानसिक क्षेत्रमा जनशक्तिको मुख्य अभाव हो जस्तो लाग्छ । यस्ता खालका समस्याहरूलाई निराकरण गर्ने हो भने अहिले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिहरूलाई र युवा जनशक्तिलाई मनोसामाजिक परामर्शकर्ताको तालीम उपलब्ध गराई थप मानसिक स्वास्थ्यको बारेमा तालिम प्रदान गरी परिचालन गर्नु पर्ने देखिन्छ । यसरी परिचालन गरिएमा आत्महत्या न्यूनीकरणमा केही सफलता प्राप्त गर्न सकिने छ । यति मात्र होइन आत्महत्याको जोखिम भएका व्यक्तिसँग आत्मीय व्यवहार गर्ने, बिरामीमा समुन्नत जीवनको आशा जगाउने, बिरामीको मनको कुरा सुनी दिने, मनोसामाजिक परामर्शकर्ता वा मनोचिकित्सकसँग परामर्शमा लान सहयोग गर्ने, मिडियाले आत्महत्या घट्नाको समाचारहरू प्रचारप्रसार नगर्ने, विषादी, डोरी र हातहतियारहरू मानसिक समस्या भएका व्यक्तिको पहुँच भन्दा टाढा राख्ने, यो सङ्गै समुदाय स्तरमा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सकिएमा आत्महत्या गर्ने सङ्ख्यामा न्यूनीकरण गर्न सफलता प्राप्त गर्न सकिने छ ।
लेखकः नोर्बु योन्जन- मनोसामाजिक परामर्शकर्ता (हाल दोरम्बा शैलुङ्ग गाउँपालिका अन्तरगत सामी कार्यक्रममा कार्यरत)
प्रहार खबर साप्ताहिकमा २०८० भदौ २४ गते आइतबार प्रकाशित
आफ्नो प्रतिकृया दिनुहोस्