१. विषय प्रवेश
नेपाल भौगोलिक वनाबटका आधारमा एक विविध हावापानी भएको एशियाली मुलुक हो । समुन्द्र सतहदेखि करिव ५९ मी.( झापाको किचनावारी) देखि विश्वको सर्वाेच्त शिखर सगरमाथा ८८४८.८७ मी. सम्म फैलिएको यस भूमि नेपाल देश साँच्ची नै विशिष्ट गुणले भरिपूर्ण छ । विश्व मानचित्रमा यसले ०.१ प्रतिशत र एशिया महादेशको ०.३ प्रतिशत हिस्सा ओगटेको छ । दक्षिण एशियाको सवै भन्दा पुरानो र सार्वभौम राष््ट्र आकार क्षेत्रफलका आधारमा सानो भएता पनि भौगोलिक वनाबट र हावापानीका कारण यहाँ संसारभर पाइने धेरै वनस्पति तथा जिवजन्तुको उपस्थित रहेकोले धनी छ ।
यसै सन्दर्भमा, रामेछाप जिल्ला नेपाल राज्यको वागमती प्रदेशका १३ जिल्ला मध्ये एक हो । यसको क्षेत्रफल क्षेत्रफल १,५६४.३२ व. कि.मि. रहेको छ । यो जिल्लाको तल्लो भेग वर्षा कम हुने सुख्खा क्षेत्रका रुपमा परिचित छ । हालका वर्षमा वागमती प्रदेश सरकारले यस जिल्लालाई सुख्खा ग्रस्त क्षेत्रका रुपमा समेत घोषण गरिसकेको छ । विशेष गरी सुनकोशी नदी कोरीडोर क्षेत्रमा पर्ने हालको सुनापाती गाउँपालिकाको तल्लो भेग, खाँडोदेवी गाउँपालिकाको तल्लो भेग, मन्थली नगरपालिका अन्तर्गत रहेका अधिकांश क्षेत्र तथा रामेछाप नगरपलिकामा रहेका सुनकोशी तटिय क्षेत्रहरुमा कम वर्षा हुने क्षेत्रका रुपमा चिरपरिचित छन् । हालका वर्षहरुमा यहाँका भिरपाखाहरु झाडीदार वुट्यान, काँडादार वनस्पतिले भरिएका पाइन्छन् । विगतमा वेल, सतिवेल,अमला, खयर, सिसौ आदि प्रजातिहरुको वाहुल्यता भएका यी क्षेत्रहरुमा हालका वर्षहरुमा विश्वव्यापी रुपमा देखा परेको जलवायु परिवर्तनका असरबाट थप सुख्खाग्रस्त वन्दै गएका छन् । यसैगरी दिनानुदिन सुख्खा क्षेत्र वढ्दै जाने हो भने यस क्षेत्र मरुभूमिकरणको चपेटामा फँसी रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडो देवी गाउँपालिका र सुनापाती गाउँपालिका क्षेत्रमा पानीको अभाव हुन गइ मानव वस्ती नै स्थानान्तरण गर्नु पर्नै वा राज्यको ठूलो लगानीबाट सुनकोशी र तामाकोशीबाट पानीको व्यवस्था मिलाइ मानव विकासलाई निरन्तरता दिन पर्नै देखिन्छ । तर योे विधि दिगो विकासको आधार वन्न भने सक्ने देखिन्न ।
वातरण संरक्षण र विकास मानव जीवनका दुई पाटा भएका कारण यी दुई पक्षलाई सँगसँगै लैजानुको विकल्प रहँदैन । तर आजका दिनहरुमा प्रकृतिलाई दिगो रुपमा प्रयोग गरी आज र भोलिको सन्ततीको भविष्य सुरक्षा गर्नु चुनौतिपूर्ण वन्दैे गएको छ । मानवजन्य गतिविधि, औद्योगिकिकरण, वसोवास सराइ, आधुनिकीकरण, अव्यवस्थित सहरीकरण, अति पुँजीवादीकरण, उपभोक्तावादी आचरण र जीवन सैलीले विश्व वातावरण दिनानुदिन खस्कँदै गएको छ । विश्वव्यापी रुपमा भइ रहेको जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्र तथा समुन्द्र तटिय देशहरु वढी जोखिममा परिरहेका छन । हालैको अध्ययनले नेपाललाई जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमका दृष्टीले ९ औं स्थानमा रहेको वताइएको छ । यसबाट हामी कति जोखिमपूर्ण अवस्थामा रहेका छौं भन्ने सहजै आँकलन गर्न सक्दछौं । वेलैमा सचेतता अपनाइएन भने हामीसँग गम्भीर चुनौतिको सामना गर्नुको विकल्प नै देखिन्न ।
जलवायु परिवर्तनका कारण मूलत उच्च हिमाली राष्ट्र र समुन्द्री किनारामा रहेका मानव वस्तीहरुलाइ वढी खतरा हुने भएकाले हिमाल वचाउन भए पनि हामी तदरुकताका साथ प्रकृतिको संरक्षण गरी दिगो वस्ती संरक्षणमा लागि हाल्न पर्नै टड्कारो आवश्यकता वनेको छ । यसका लागि मरुभुमिकरण हुँदै गएका क्षेत्रमा उपयोगी जातका विरुवाहरु छनौट गरी वृक्षारोपण गरी हराभरा वनाइ पानी मूल लगायत सिमसार क्षेत्रको संरक्षणमा ढिलाइ गर्न नहुने भइसकेको छ । जलवायु परिवर्तका प्रतिकूल असल कम गर्नै सवै भन्दा सस्तो वैज्ञानिक विधि र प्रविधि भनेको वृक्षारोण गरी यसलाई हुर्काइ संरक्षण गर्नु नै हो भनि वैज्ञानिकहरुले पुष्ट्याइ गरिसकेकाले यसमा वढी वहस गर्न लाग्नु भन्दा धेरै भन्दा धेरै क्षेत्रमा वृक्षरोपण गरी धर्तिलाई हरावरा वनाइ प्रकृति मैत्री जीवन यापन तिर लाग्न पर्नै भएको छ । यसबाट नै दिगो विकासलाई टेवा दिन सकिन्छ । प्रकृतिको दिगो व्यवस्थापनबाट मानव जीवनलाई सरल र सहज वनाउने कार्यका लागि हावापानी सुँहाउदो, माटो सुहाँउदो प्रजातिका विरुवाको विस्तारमा लाग्न जरुरी भएको छ ।
हामी अहिले सामुदायिक वन विकासको नामबाट विश्वभर चिनिएका छौं । सामुदायिक वन व्यवसथापनमा नेतृत्वको अत्यन्त महत्वपूर्ण भूमिका रही आएको छ । हालका दिनहरुमा निशुःल्क सेवाका कमि हुँदै जाँदा कतिपय सामुदायिक वनले गतिलो नेतृत्व प्राप्त गर्न नसकेको र सो बाट सामुदयिक वन क्षेत्रले समेत अदोगति लिने आभासहरु भइरहेका छन । गाँउ वस्ती छाडेर परदेशतिर रोजगारका लागि भौतारिने र केही साल पछि पश्चाताप गरी पुरानै गाउँ फर्कने युवायुवतीको पनि आजकल वढोत्तरी भइरहेको छ, जुन स्थानीय विकासका लागि सकारात्मक पक्ष हो । गाँउघरमा जताजतै छरिएर रहेका खाली र नाँगा पाखाहरुमा झाडीदार प्रजातिहरु फैलिएका छन, ती नाँगा पाखाहरुमा अवका दिनहरुमा वृक्षारोपण गरी वातावरण संरक्षणका साथ साथै जिविकोपार्जनलाई समेत टेवा दिनेगरी आर्थिक उन्नति तर्फको मार्ग कोर्न सांस्कृतिक, आर्थिक तथा वातावरणीय दृष्टीले महत्वपूर्ण मानिएका प्रजातिहरु छनौट गरी वृक्षारोपण तर्फ लागि हाल्नुको विकल्प देखिएको छैन । देश भित्र्रै दिगो आय आर्जनको आधार वनाउन सकिने वन विकास, उद्यम आदिलाई छाडेर यस देशका युवाहरु कतिन्जेल विदेशका गर्मी मरुभूमिमा भेडा वाख्रा चराइ राख्ने हो ? वा धनी मानिएका राष्ट्रहरुमा होटेलमा भाँडा माझ्ने ? यहाँको खेतवारी कतिन्जेल वाँझो राख्ने ? यी तमाम समस्याबाट मुक्ति पाउने एक मात्र उपाय भनेको आफ्नै धर्तीैमा विरुवा रोपी फूल फूलाउन पसीना चुहाउनलाई रोज्नु नै एक मात्र विकल्प हो ।
अव, यहाँ रामेछाप जिल्लाको सुख्खा क्षेत्रमा हराभरा गरी दिगो आय आर्जनका लागि उपयुक्त हुन सक्ने प्रजातिहरुको वारेमा व्याख्या गर्न प्रयास गरिएको छ । माथि उल्लेख गरिएका सुख्खा ग्रस्त क्षेत्रहरुमा विशेषगरी निम्न प्रजातिहरुको वृक्षारोपण गर्न सकिने देखिन्छ, जुन सांस्कृतिक, आर्थिक तथा वातावरणीय दृष्टीले महत्वपूर्ण मानिएका प्रजातिहरु हुन् ।
क) श्रीखण्ड , ख) वेल, ग) अमला, घ) रक्तचन्दन, ङ) निम, च ) खयर , छ) सिसौ, ज) कैसिया ।
उपर्युक्तमा उल्लेख गरिएका महत्वपूर्ण प्रजातिहरु विषेशतः सुख्खा ग्रस्त वा भनौ कम वर्षा भएका स्थानमा समेत हुर्कन सक्ने तथा सो प्रजातिहरुको खेतीबाट छोटो समय (वढीमा १५,२० वर्ष) आय आर्जन लिन सकिने, वजार मूल्य भएका र वजारीकरण समेत राम्रो र सहज भएकाले खेती विस्तारका लागि सिफारिस गरिएको हो । तर समय सिमितता र विषयवस्तु लामो हुन जाने भएकाले यस अंकमा माथि उल्लेखित सवै प्रजातिहरको वारेमा व्याख्या गर्न सम्भव नहुने भएकाले धार्मिक, आर्थिक र साँस्कृतिक महत्वले सम्पन्न तपाइ हामी सवै विच चिरपरिचित श्रीखण्ड प्रजातिको वारेमा मात्र छोटो जानकारी राख्ने प्रयास गरिएको छ ।
२. श्रीखण्डको सामान्य परिचयः
सामान्यत यो प्रजातिको रुख ६, ७ मिटर सम्म अग्लो हुने सदावहार र मध्यमखालको वनस्पति हो । तर भारतको कर्नाटक राज्यको वनमा १८, २० मीटर सम्म वढेको पाइएको छ । यसको व्यास ५० देखि १०० से.मी. (करीव ५ फीट सम्मको गोलाइ) सम्म भएको पाइएको छ र यसलाइ सेतो चन्दनको नामले पनि चिनिन्छ ।
श्रीखण्ड सानो अवस्थामा हल्का परजिवी (कझष् उबचबकष्तष्अ) प्रकृतिको हुन्छ । यसले सुरुमा हुर्कन अरु जातिको सहायता लिन्छ, जसलाइ होस्ट प्लान्ट भनिन्छ । होस्ट प्लान्टको रूपमा अमला, किँमवु’, केरा, निम, केसीयाका साथै अन्य विरुवालाई होस्ट प्लान्टको रुपमा लगाउन सकिन्छ । केरालाई होस्ट प्लान्टको रूपमा लगाउदा दुवै तिरबाट आम्दानी लिन सकिन्छ । हुर्की सकेपछि आफै वाँच्न सक्कछ । यो जातको काठ संसारको १० अति महँगा काठहरु मध्येमा पर्दछ । यसबाट उत्पादन हुने सुगन्धीत तेल, अत्तरका कारण यसको धार्मिक तथा आर्थिक महत्व यति धेरै भएको हो । यसको काठ वाहिरी भागको सेतो र छिप्पिएपछि खैरो पहेँलो चुरो हुन्छ, जसबाट तेल निकालिन्छ । सवै भन्दा धेरै तेल जराको भागबाट उत्पादन हुन्छ । यस रुखबाट आय तथा उत्पादन लिन वृक्षारोपण क्षेत्रको माटोको गुणस्तर, वर्षा, सिचाइ, मलखाद आदिका आधारमा १५ देखि २० वर्ष सम्म लाग्छ । वैज्ञानिक वर्गिकरणका आधारमा यसलाइ निम्नानुसार राखिएको छ ।
Kingdom: Plantae Clade :Tracheophytes
Order :Santalales Family : Santalaceae
Genus :Santalum Species : album
३. उत्पत्ति र फैलावबटः
यो प्रजाति नेपाली रैथाने होइन तर पनि सयौँ हजारौ वर्ष देिख हामीले धामिैक मन्दिर वरपर देखी आएका छौं । मूख्यतः श्रीखण्ड जात भारत, अष्ट्रेलिया, श्रीलंका, इन्डोनेशिया, चिन, थाइलेण्ड लगायत प्यासिफीक टापुहरुमा फैलिएका पाइन्छ । हिन्दु धर्मालम्वीहरको शास्त्रमा यसलाई पवित्र काठको रुपमा विगत् ५००० वर्ष अघिबाट प्रयोग भइ आएको उल्लेख भएको पाइन्छ ।
४.श्रीखण्डवारे भएका धार्मिक किम्वदन्ती मान्यताहरु
जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भन्ने उखान नेपाली समाजको लागि कुनै नौलो उखान होइन, तथापी नेपालमा श्रीखण्डको प्रयाप्तता भने कम छ । नेपाली समाजमा तुलसीको कुरा गर्ने हो भने तुलसी प्रत्येकको घरमा पाइन्छ । त्यस्तै गरी पीपल, कुश, शालिग्राम साथै चाहिने श्रीखण्ड अर्को वस्तु हो तथापी श्रीखण्ड सबभन्दा कम पाइन्छ । माथिकै उखानबाट पनि श्रीखण्ड महत्त्वपूर्ण वस्तु हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।
श्रीखन्डलाइ नेपाली वा हिन्दी भाषामा चन्दन भनिन्छ । विश्वका १० महगां काठहरू मध्ये श्रीखण्ड पनि एक हो । श्रीखण्ड धार्मिक दृष्टिकोणले जति महत्त्वपूर्ण छ । ब्यवसायिक हिसावले पनि त्यो भन्दा कुनै मानेमा कम छैन । पुजाआजा, जपध्यान, मर्दा पर्दा सबै कार्यमा धर्मसस्कृति अनुसार अति आवश्यक वस्तुको रूपमा ब्याख्या गरिएको छ । हिन्दु धर्म अनुसार भन्ने हो भने धर्मशाश्त्रले तीनवटा चन्दनको नाम लिइएको छ । १, श्वेतचन्दन २, पीतचन्दन, ३, रक्त चन्दन । यी तीन मध्ये सबभन्दा बढी श्वेतचन्दन अर्थात श्रीखण्डलाई मानेको छ ।
५. श्रीखण्डको खेती विस्तारः
क. हावापानी र वर्षाः
यसको खेति समुन्द्री सतहको ७०० मी. देखि ११०० मी. सम्मको उचाइमा राम्ररी गर्न सकिन्छ भने ३०० मी. देखि २१०० मी.सम्मको उचाइमा समेत हुर्कीएको पाइएको छ । यसका लागि वार्षिक वर्षा ६०० देखी १९०० मिलिमिटर सम्म भएमा राम्रो मानिएको छ ।
ख. माटोको गुण र अवस्थाः
यस प्रजातिले सुख्खा सहन सक्छ तर पानी जमेको वा जम्ने प्रकारको माटो सहँदैन । तसर्थ, सुख्खा ग्रस्त क्षेत्र वा कम वर्षा भए पनि यसको खेति विस्तार रामेछाप जिल्लामा गर्न सकिन्छ । माटोमा हल्का अक्लकालाइन ( ६.५ देखि ७.५ एज् ) भएकोमा श्रीखण्डाको लागि राम्रो मानिएको छ । खुल्ला र घाम लाग्ने, चिसो भन्दा तातो हावापानी सहने भएकाले सुख्खा र ग्रावेल मिश्रित गेग्रानयुक्त माटो, रातो प्रकारको माटो श्रीखण्डका लागि उपयुक्त मानिन्छ ।
ग. वृक्षारोपण, गोडमेल र सिचाइः
यसको खेतीका लागि वैशाख जेठमा कम्ती १.५ फीट गहिरो खाडल खनी ढुंगा हटाइ मसिनो माटो ३ भाग, १ भाग पाकेको गोठगोवरको धुलो मल मिलाएर १ महिनाजति हावापानीसँग खुल्ला राख्नु पर्छ, । असारको आधामा पानी परेपछि १.५ फीट अग्लो स्वास्थ्य विरुवा रोप्नुपर्छ । रोपेको पहिलो वर्षा दूई पटक गोडमेल गर्नु पर्छ । पहिलो पटक भाद्र आधिमा र दोश्रो पटक असोजको अन्तिममा । यसरी गोड्दा आएका पातपतिंगर छादनको रुपमा विरुवाको काण्ड वरपर राखी झारपात आउनबाट जोगाउन र माटो सुक्नबाट वचाउन पर्दछ । सिचाइको हकमा सुख्खा भए सुरुवा २ दिन विराइ र पछि सात दिनको अन्तरालमा दिँदा हुन्छ । वृक्षारोपण गरी हुर्कीएपछि अर्को सालबाट अवस्था हेरी १५ दिनमा एक पटक दिए पुग्छ, किननी यो सुख्खा सहने प्रजाति हो । वृक्षारोपण गरेको ४,५ वर्षबाट फूल्न थाल्छ र विउ उत्पादन हुन थाल्छ । विउको उम्रन सक्ने क्षमता एक वर्षसम्म हुने भएकाले पानी आएपछि जमिनमा उम्रन थाल्छ । यसको वीउ जुरेली चराले खाइ विभिन्न स्थानमा पुर्याउने भएकाले एक पटक वृक्षारोपण भइ हुर्की सकेपछि वरपर सहजै फैलने भएकोले प्राकृतिक रुपमा पनि राम्रोसँग पुनरुत्पादन भइ फैलन समय लाग्दैन ।
घ. वाली संरक्षणः
यस प्रजातिमा खासै रोग लागेको पाइएको छैन । कुनै रोग लागेको अवस्थामा जैविक विधि अपनाउने गरिएको पाइन्छ । यसका लागि धतुराका पात, निम, गौ मुत्र आदि प्रयोगलाई उत्तम मानीएको छ । पातको रसलाइ रोग लागेको वा ओइलाएको भागमा छर्कदा राम्रो हुन्छ । शुरुका वर्षहरुमा कोसेवाली जस्तै केराउ, गहत लगाउदा वारी पाखा सफा हुन जाने र रोग व्याधि नलाग्ने तथा थप आम्दानी हुन गइ जिविकोपार्जनमा सहयोगी हुन गएको पाइएको छ । होस्ट प्लान्टका रुपमा निम, अमला, केरा लगाउँदा शूरुमा संरक्षणमा टेवा र आय आर्जन राम्रो भइ दोहोरो फाइदा हुन्छ ।
ङ. वाली उत्पादन र आय आर्जनः
श्रीखण्डको वाली चक्र सामान्यतया १५ देखि २० वर्षको मानि खेति गरिएको पाइन्छ । १ हेक्टर जमिनमा ३ मी. को दुरीमा लगाउँदा करिव ११०० विरुवा रोपण हुन्छ । १५ वर्षपछि ५० प्रतिशत मात्र वाचि हुर्कीएमा एक वोटमा औसतमा २० किलोगा्रम चुरो काठ उत्पादन हुन्छ । जसको वजार भाउ हालको मूल्यमा (काठमाडौं) निम्नानुसार अनुमान गर्न सकिन्छ ।
यसबाट स्पष्ट हुन्छ कि करीव २० रोपनी सुख्खा जमिनमा १५ वर्षमा रु. ५.५ करोड नेपाली आम्दानी हुन्छ । यसमा वढीमा आधा लगानी भएमा पनि रु. २.७५ करोड नेट फाइदा हुन जाने देखिन्छ । आजको मूल्य र १५ वर्ष पछिको मूल्य अहिलेको वजार अवस्थामा दोव्वर हुने पक्का जस्तै हुन्छ । तसर्थ, रामेछापको सुख्खा ग्रस्त क्षेत्रको वन, पाखा, निजीपाखा आदिलाइ मेहनतबाट सुनमा परिणत मात्र हुँदैन, यहाँका भिरपाखाहरु ह्रितमय भइ वातावरणमा उल्लेखनिय उन्नति हुनेमा दुई मत हुन सक्दैन । ढिला नगरी रामेछापका युवा रामेछाप मै भन्ने नाराका साथ यहाँका युवा र सामुदायिक वनहरु श्रीखण्डको खेती गरी आत्मनिर्भर समाजको विकास गरौं र सन्तुलीत वातावरण श्रृजना गरौं भनि अगाडि वढ्न सकिने उपयुक्त अवस्था देखिन्छ ।
यसका अतिरिक्त श्रीखण्ड हुर्कने विभिन्न उमेरमा काँटछाट तथा स्याउला संकलनबाट समेत साना तिनो आम्दानी हुन्छ । यसको साना दाउरा समेत मृत्युशैया जलाउने समयमा पवित्र हुने हुँदा सो प्रयोजनका लागि पशुपति क्षेत्रमा प्रति के.जी. रु. ५००।० देखी १०००।० सम्म सजिलै विक्रि हुने गरेको पाइन्छ । देश भित्र ओसार पसार तथा विक्रि वितरणमा कुनै कानुनी समस्या छैन । यसका लागि जिल्ला स्थित डिभिजन वन कार्यालयहरुले सहजीकरण गर्दछन् ।
६. रामेछाप जिल्लाको भौगोलिक अवस्थिति र श्रीखण्ड खेती विस्तार सम्भाव्यता :
रामेछाप जिल्लाको भौगोलिक उचाई समुन्द्र सतहबाट ३७९मी.(कोलोन्जोरघाट) देखि ६९५८ मी.(नुम्बुरचुली) हिमालसम्म फैलिएको छ । अन्य विवरण निम्नानुसार रहेको छ ।
क्षेत्रफलः १,५६४.३२ व. कि.मि.।
देशान्तरः ८५० ५०’ देखि ८६०३५’ पूर्व सम्म
अक्षांसः २७०२८’ देखि २७०५०’ उत्तर सम्म
हावापानी
अल्पाईन (१०० सेन्टिग्रेटदेखि कम) : ४.८ %
ठण्डा शितोष्ण हावापानी (१५०–२०० से.): १३.८ %
उष्ण अर्धशितोष्ण हावापानी (१५०–२०० से.): ५१.४ %
समशितोष्ण हावापानी (२००–४०० से.): २८.७%
अन्य: १.२ %
भौगोलिक वनावटभौगोलिक वनावट
उच्च हिमाली: २.२ %
उच्च पहाडी: १४.५ %
उपरोक्त विवरणबाट समग्रमा हावापानीका दृष्टिमा रामेछाप जिल्लामा गर्मी र सुख्खा जमिन, झाडीदार वुट्यानयुक्त नाँगा पाखाहरु प्रसस्त मात्रामा रहेको जिल्लाका रुपमा देख्न सकिन्छ । माथि उल्लेख भएको तथ्यांक अनुसार उष्ण र सम शितोष्ण क्षेत्र जहाँ १५ देखी ४० डिग्रि सेन्टीग्रेड तापक्रम रहन्छ, सो प्रकृतिको जमिनको क्षेत्रफल करीव ८० प्रतिशत रहेको र जिल्लाको तल्लो भूभागहरु अधिकांश सुख्खा र कम वर्षा हुने भूभाग भएकाले श्रीखण्ड विस्तारका लागि रामेछाप जिल्लालाई एउटा गतिलो अवसरका रुपमा लिन सकिने आधार वनेको छ । नयाँ कार्यको शूरुवात आफैमा चुनौति पूर्ण हुने भएता पनि रामेछाप र श्रीखण्डा खेती विस्तार स्थानीय जनताको जिविकोपार्जन, वातावरण संरक्षण तथा सुख्खा डाँडा हरियाली वनाउने कार्यका लागि एउटा कोशे ढुंगा वन्न सक्ने पनि प्रचुर सम्भावाना रहेको छ । यसको एउटा सफल उदाहरण खाँडोदेवी २ मा जय प्रकाश प्रधानले गरेको सफल प्रयासलाई लिन सकिन्छ । निजले विगत १५ वर्ष अघि लगाइ हुर्काएको श्रीखण्ड र रक्त चन्दनको निजी वनलाई एउटा पाठशालाको रुपमा लिइ यस जिल्लामा श्रीखण्डलाई निर्वाध रुपमा विस्तार र विकास गरी सुख्खा ग्रस्त रामेछाप जिल्लालाई श्रीखण्डको माध्ययमबाट हरियाली वनाइ वातावरण संरक्षण र अर्थतन्त्रको आधार निर्माणको श्रोतका रुपमा अगाडि वढाइ देश विकासमा टेवा दिन सकिनेमा एक मत हुन सकिन्छ ।
लेखकः ओमसागर भण्डारी, डिभिजनल वन अधिकृत, रामेछाप
आफ्नो प्रतिकृया दिनुहोस्