इतिहासको ऐतिहासिक विश्लेषण बिना वर्तमानका पाइला र भविष्यका गन्तव्य निर्धारण गर्न सकिन्न । नेपाली काँग्रेसको स्थापनाकालमा जस्तो मनोविज्ञानमा देश र जनता गुज्रिएका थिए, त्यो भन्दा खास भिन्नता अहिले छैन । सामन्ती संस्कार र चरित्रहरूमा खास परिवर्तन आएको छैन । समाज र व्यक्तिको संस्कार र चरित्रमा जबसम्म सकारात्मक परिवर्तन आउने छैन तबसम्म समाज र देशले सर्वागिण प्रगतिको बाटो पहिल्याउन सक्दैन ।
नेपाली काँग्रेसको जन्ममा नै लोकतन्त्र यसको प्राण थियो । लोकतन्त्रले मात्र राष्ट्रियतालाई सुदृढीकरण गर्न सक्छ भन्ने विश्वास थियो । लोकतन्त्रका माध्यमबाट समतामूलक समाज निर्माण गर्ने यसको परिकल्पना थियो ।
राणाशासनसंगको स्वतन्त्रताको लडाइसँगै नेपाली काँग्रेस भित्र आन्तरिक कलह, विरोधी शक्तिहरूको जन्म, स्वदेश र विदेशमा भएको देखिन्छ । त्यस्तै राजाको दिल्ली प्रवास र भारतको सामरिक आकाक्षासंगै राजनीतिक परिवर्तनहरूमा भारत लगायत अन्य छिमेकीहरूको चासो र संलग्नता रहेको कुरा लुकाएर लुक्दैन । देशको हरेक सकारात्मक राजनीतिक परिवर्तनसँगै लोकतन्त्रका विरोधी शक्तिहरूको जन्म, पृथकतावादी समूहहरूको जन्म, देशलाइ खण्डीकरण गर्ने जातीय र क्षेत्रीय नाराहरू, धर्मका नाममा समाज विखण्डनका प्रयाससँगै नया राजनीतिक एजेण्डाहरु देशहीत भन्दा पनि अस्थिरता निम्त्याउने हिसाबले स्वतःस्फूर्त या प्रायोजित रूपमा सञ्चालित भएको देखिन्छ ।
वी.पी कोइराला जस्ता तीक्ष्ण सुझबुझ र गतिशील नेता तथा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराइ, सुवर्ण शम्शेर जवरा जस्ता त्यागीहरुको नैतिकताका बलमा नेपाली काँग्रेसले कठिन परिस्थितिहरूमा पनि आफूलाई सार्थक ढंगले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा राजनीतिक पहिचान र हस्तक्षेप गर्न सक्ने क्षमता राख्दथ्यो । सगरमाथाका प्रश्नमा माओत्से तुंगसंग कडा वादविवाद र जवाहरलाल नेहरुले भारतको सुरक्षा सिमाना हिमालय हो भन्दा संसदमा माफी माग्न लगाउन सक्ने आँट भएका राजनेता वी.पी कोइराला थिए ।
नेपाली काँग्रेसको २०१६ सालको सातौँ महाधिवेशनमा वी.पीले भन्नुभयो, “पार्टीका सदस्यहरूले सानो तिनो भावना, स्वार्थ, द्वेष लगायत घातक प्रवृत्तिबाट आफूलाई चोखो राख्नुपर्दछ । यो कार्य अत्यन्त कठिन छ भन्ने मलाइ थाहा छ, तर कठिन कार्य सम्पन्न गर्न सक्ने क्षमता हामी सबैमा भए मात्र हामी इतिहासको हतियार बन्न सक्छौँ भन्ने सत्यलाई हामीले बिर्सन हुँदैन । प्रत्येक सदस्यमा उच्च नैतिकता स्थापित रहनुपर्दछ । नेपाली काँग्रेसका सदस्यहरूले आफ्नो आचरण र नैतिकताको बलले जनताको माझमा आफूलाई नेता प्रमाणित गर्न सक्नुपर्दछ ।….. आफ्नो अधिकारको प्रयोग गरेर शासन व्यवस्थामा पनि प्रभाव पार्न सकिँदैन, आफ्नो नैतिकताको बलले मात्र प्रभाव पार्न सकिन्छ । अनुशासन, इमान्दारिता, सादगी, निःस्वार्थता त्यस्ता गुण हुन, जसमा असीमित शक्ति छ । यी गुनहरूलाई नअगाली इतिहासको क्रान्तिकारी संस्थाको सदस्य हुन पाइँदैन । हाम्रो देशका सामुन्ने एउटा उज्ज्वल भविष्य छ । आजको स्वार्थले त्यो उज्ज्वल भविष्यलाई हामीले नधमिल्याउन् । हामीहरूले अनुशासन, इमानदारिता, सादगी निःस्वार्थता यी चार गुणलाई गाल्नुपर्दछ । स्थानीय भावना र गुटबन्दी यी दुई दुर्गुणलाई त्याग्नु पर्दछ । ”
त्यस्तै २०४७ सालमा गणेशमान सिंहले किस्तीमा राखेर आएको प्रधानमन्त्री पदलाई लत्त्याएर किसुनजीलाई प्रधानमन्त्री पद छोडिदिएको इतिहास आज पनि ताजै छ । यस्ता नेताहरूले अगुवाइ गरेर ३० वर्ष सम्म जेल,नेल, निर्वासन, सर्वस्व हरण, मृत्यु, सहादत भोग्दा पनि एक रत्ती पछि नहट्ने दलका सदस्यहरू आज किन दिग्भ्रमित छन् ? नेपाली काँग्रेस रूपान्तरण अभियानले यसको जवाफ खोज्नु पर्ने जरुरत छ ।
आज इतिहास फर्केर हेर्दा आफैले आफैलाई मूल्याङ्कन गरौँ । हामी कहाँ छौ? वी.पीको नाम हजार पल्ट लिन्छौ तर वी.पीले जे नहोस् भन्ने चाहेका थिए । त्यो भइरहेको छ । हाम्रो नैतिकता र इमानदारिताको धरातल खस्कँदा खस्कँदा आज इतिहासले हामीलाई आफ्ना स्वार्थका लागि साना साना समूह र झुन्डमा हिडने व्यक्तिको पहिचानमा पुर्याएको छ । समाज, देश र जनताको स्वार्थ कता बिलाए ?
नेपाली काँग्रेसको साखमा ह्रास बहुसङ्ख्यक सदस्यहरूको व्यक्तिगत कारणबाट त आएकै छ । अझ त्यो भन्दा गम्भीर यसले आफ्नो आदर्श , सिद्धान्त र पहिचानको धरातल गुमाएर रनभुल्लमा हुनका कारणले आफ्नो स्थापित परिचयलाई धुमिलमा पारेको छ । यो आदर्शबाट विचलन पनि केही नेताहरूको चरम व्यक्तिगत महत्त्वाकाङ्क्षा कारणले भएको देखिन्छ ।
त्यसैले अव नेपाली काँग्रेस रूपान्तरणको अभियान निम्न सुधारका प्रयासबाट गन्तव्यतिर लाग्नुपर्दछ ।
१. वी.पी कोइरालाले भन्नु भए जस्तै नेपाली काँग्रेसका सदस्यहरू २००३ देखि २०४५ सम्मको आफ्नो इतिहासमा रहेको आचरणमा फर्कनु पर्दछ । २०४५ सम्म ती प्राप्त स्मरणीय नेताहरूको जीवनशैलीले नै सदस्यहरूलाई व्यवहारमा सादगी र नैतिकवान् हुन प्रेरणा दिन्थ्यो । हरेक सदस्यहरूको एक अर्काप्रति आत्मीयता थियो । देश, लोकतन्त्र र जनताको भलाइ नै पहिलो प्राथमिकता थियो । कुनै बेला नेपाली काँग्रेसको ब्रान्ड नै सादा जीवन उच्च बिचारको थियो । यसरी हेर्दा नेता तथा सदस्यहरूको चरित्र, दृष्टिकोण, चालचलन, व्यवहारमा नै सर्वप्रथम रूपान्तरणको खाँचो छ । २०४६ पछि जानेर नजानेर गरिएका कुकर्महरू प्रति हरेक सदस्यहरूले आत्मालोचना गर्नुपर्दछ । देश, समाज र जनताको धन दौलत आदि हिनामिना गरिएको छ भने त्यसलाई ससम्मान फर्काउनु पर्दछ । राष्ट्रको ढुकुटी बढाउन सहयोग गर्नुपर्दछ । हरेक सदस्यहरू नेपाली काँग्रेसको साहित्यहरुसंग पूर्ण परिचित हुनुपर्दछ । नेपाली काँग्रेसका दृष्टिकोण र बिचारहरूको गहन अध्ययन, विश्लेषण गर्ने र सुधारका सुझाव दिने क्षमता राख्नु पर्दछ । वी.पीले भन्नु भए जस्तै नेता र नेतृत्वले गरेका गलत क्रियाकलापहरूको विरोध गर्ने र सच्याउने तिर अग्रसर हुनुपर्दछ । स्वार्थी भएर नेताको दास हुनबाट मुक्त हुनुपर्दछ । आफ्नो क्षमता र औकात अनुसारका पदहरूमा दाबी गर्नुपर्दछ । आफ्ना कारणले सङैका साथीहरु माथि अन्याय भइरहेको छकी सधैँ ख्याल राख्नु पर्दछ । म भन्दा हामीको संस्कृतिको विकास गर्नुपर्दछ । अधिकार खोज्ने मात्र होइन,कर्तव्यको पालनामा अग्रसर रहनु पर्दछ । आफू भन्दा अघिका अग्रज साथीहरूको सम्मान र पछिका साथीहरूलाई माया दिनु पर्दछ । दल र लाभका पदहरू सीमित हुन्छन्, सबैलाई भाग पुग्दैन । नपाउनासाथ संस्थालाई नै घात हुने काम गर्नु हुँदैन । एउटा आदर्शका लागि जीवन समर्पित गरेर बाँच्न पाउनु नै आफूलाई धन्य सम्झनु पर्दछ ।
२. नेपाली राष्ट्रिय काँग्रेसको २००३ को पहिलो घोषणा पत्रमा राजाको बैधानिककत्वमा लोकतान्त्रिक व्यवस्थाको स्थापना र संविधान सभाको निर्वाचनबाट शासन सञ्चालनको विधि बनाउनका लागि आन्दोलन गर्ने कुरा उल्लेख थियो । विसं २०१२ मा प्रजातान्त्रिक समाजवादलाई अङ्गीकार गरायो । वि सं २०१५ को संविधान अपुरो थियो तर संवैधानिक राजतन्त्र सहितको दुई सदनात्माक व्यवस्थाको प्रारूप थियो । व्यक्तिगत महात्वाकांक्षाहरु चुलिँदा देश र जनताले सास्ती भोग्नु परेको परिणाम थियो, २०१७ को राजाका कदम । किनभने त्यसै संविधान भित्र कानुनहरूको निर्माण गरेर अख्तियारको दुरुपयोग गर्नेहरूलाई दण्ड सजाय गर्न सकिन्थ्यो तर राजाले छोटो बाटो रोजे । ३० वर्षको चरम यातना, धरपकड, मृत्यु दण्ड, देश निकाला, सर्वस्वहरण सबैका बाबजुद पनि लोकतन्त्रको दियो निभ्न पाएन । राजाबाट चरम यातना भोग्नु परे पनि नेपाली काँग्रेसले राजतन्त्र नेपालको अखण्डताका लागि आवश्यकता महसुस गरिरह्यो । वी.पी कोइरालाले जीवन रहुन्जेल प्रजातन्त्र राजासंग खोसेर लिने , राष्ट्रियता जोगाउन राजासँग मिलेर काम गर्ने र प्रजातन्त्रको माध्यमबाट स्वतन्त्र र समतामूलक समाजको स्थापना गर्ने लक्ष्यलाई स्पष्टसँग बताइरहनु भयो । बि.सं २०४६ को परिवर्तनले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई दरो रूपमा स्थापित गर्न खोजिएता पनि अस्थिरताको बिज बि.सं २०५१ काँग्रेस आफैले र २०५२ मा माओवादीले रोपे । यी सबै विषयमा ढुलमुले नीति राखेर बिचमा रहेर नाफा लिने एमालेको रवैया बन्यो। त्यस्तै २०६३ ले अर्को बिज रोप्यो, जनताले अनुमोदन गरेका छन् भन्ने नाममा धर्म निरपेक्षता, गणतन्त्र र संघियता । जो पूर्ण सत्य थिएन ।
सर्बप्रथम यो तथ्यलाइ ऐतिहासिकताको आधारमा केलाऔँ । जानेर नजानेर २००७ देखि २०६३ सम्मको परिवर्तनमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू र स्थानीय स्तरमा लोकतन्त्र विरोधी शक्तिहरूको निर्माण गरेर प्रजातन्त्रको आन्दोलनलाई कमजोर पार्ने हर्कतहरु भइरहे । दिल्ली सम्झौता भारतको सक्रियतामा नेपाली काँग्रेसको सक्रिय सहभागिता बिना भएको थियो । तर पनि संविधान सभाबाट संविधान लेखेर देश चलाउने सहमति राजाले गरेका थिए । २००६ मा कम्युनिस्ट संस्थाको जन्म भयो । जनवादी गणतन्त्रका लक्ष्यका साथ । प्रजातन्त्रलाई यसले कति सहयोग गर्यो होला ? इतिहासकारहरुले बिश्लेषण गरुन् । तर ८ वर्ष सम्म संविधानसभाको चुनाव नगराएर राजा आफैले संविधान दिएर बहुदलीय चुनाव गराए । दुई तिहाइ बहुमत साथ वी.पी कोइरालाको सरकार बन्यो तर राजा आफैले पुन संविधान निलम्बन गराए । प्रजातन्त्र अपहरण गरे । कम्युनिस्ट पार्टीले स्वागत गर्यो । दिपावली गरयो । यो राजनीतिक बेइमानी थियो ।
यसका विरुद्धका आन्दोलनमा हरेक हन्डर खपेर प्रजातन्त्रको दियो नेपाली काँग्रेसले निभ्न दिएन । जेल हालिएको वी.पी,गणेशमान, किसुनजीलाइ विभिन्न प्रलोभन देखाएर कुनै तानासाहका लागि सहमत गराउन खोजियो । बरु निर्वासन रोजे । किसुनजीले जेल नै रोजे । नेपाली काङ्ग्रेसलाई निर्वासन सहज भएन । इन्दिरा गान्धीले वी.पी मार्फत भारतको लक्ष्य पुरा गर्न दबाब दिए । तर भारतमा सिक्किम बिलय गराएपछि र अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेपछि नेपालको राष्ट्रियता खतरामा भएको बिश्लेषण सहित वी.पी देश फर्कनु भयो । सातवटा राजद्रोहको मुद्धा थियो, एकमा हार्दा मृत्युदण्ड थियो , नेपाली कांग्रेस अराष्ट्रिय तत्व घोषित थियो । रेडबुक बजारमा प्रशस्त पढन पाइन्थ्यो । नेपाली कांग्रेस विरुद्ध दरबार र कम्युनिस्ट एक थिए । वी.पी र काङ्ग्रेसलाई भारतीय दलालको बिल्ला लगाइएको थियो । नेपालको इतिहासको यो विडम्बना थियो, जसले भारतसँग सम्झौता गर्न चाहेन, उ दलाल घोषित गरियो । वी.पीले मुद्धा जित्नु भो । प्रजातन्त्रको लडाइ लडिरहनु भो । गणेशमान सिंहको नेतृत्वमा कम्युनिस्ट सहितले २०४६ मा बहुदल ल्याएता पनि भारतको पनि संलग्नता देखियो ।
२०४७ सालको संविधानले राजा सहितको संसदीय ब्यबस्थालाइ संस्थागत गर्न कोसिस गर्यो । तर नेपाली कांग्रेस आफैले साना तिना मतभेद सहित व्यक्तिगत महात्वाकांक्षाका लागि अस्थिरता निम्त्यायो । रुग्ण उद्योगहरूलाई बौराएर विकास गर्नु पर्ने अवस्थामा सजिलो बाटो प्राइभेटाइजेशन रोजियो । २०५२ मा लोकतन्त्र र राष्ट्रियता कमजोर पार्न जनवादी गणतन्त्र, व्यक्ति हत्या, सम्पत्ति लुटपाट, जातीय विखण्डन, जानेर नजानेर प्रायोजित भयो । क्रान्तिकारीहरू यसैका आश्रयमा बाँचे । जसले आश्रय दियो उसैको छत्रछायामा १२ बुँदेमा ल्याएर यो पटाक्षेप भयो । यो पनि व्यक्तिगत महात्वाकांक्षाहरुको उत्कर्ष रहेछ भन्ने कुरा आज प्रमाणित भयो । देशलाइ अस्थिरतातिर धकेल्न अनेक नाटक मन्चन भए, मधेश आन्दोलनका नाममा सयौँ समूहहरूको निर्माण भए तर कसैका लागि । पहाडिया र मधेसी बिच द्वेष फैलाइयो । धर्मनिरपेक्षता आयो, अर्कैका लागि । होलीवाइन खुवाइयो । सङ्घीयता नामको व्यवस्थाले हजारौँ नेता जन्माएर, गलत आयोजना र सम्झौताहरूले देशलाइ आर्थिक रूपमा टाट पल्टाउने अवस्थामा पु¥यायो । गणतन्त्रका नाममा एक राजा महँगो भयो भनेर फालेका अहिले सयौँ राजा मात्र होइन हजारौँ राजकुमार र महारानीहरूको ताण्डव नृत्य देश भोग्दै छ । भ्रष्टाचार, दुराचार, अनियमितता, घुशखोरी र बेथितिको चरम अवस्था आज भोग्दै छ । लाखौँ युवाहरूलाई विदेश पठाएर उनको रगत पसिनामा मोज गर्दैछौ । व्यापार घाटा चरम चुलीमा छ, विदेशी ऋणले थला पारेको छ । सदनमा निम्न स्तरको गाली गलौच बाहेक रचनात्मक कुरा थोरै सुन्न पाइन्छ। त्यसो हो भने नेपाली कांग्रेसको रुपान्तरणको अभियानले के कुरालाइ लक्षित गर्नेत ?
१. नेपाली कांग्रेस अहिले कुन आदर्शमा अडिएको छ, अहिले भन्न गाह्रो छ । यसरी स्पष्ट आदर्श दिन नसक्दाको अवस्थामा नेपाली कांग्रेस गुज्रिएको छ । संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रलाई २०६३ मै तिलान्जली दिएको देखिन्छ । यो अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा भएको छ । संघिय जनवादी गणतन्त्र माओबादीको अडान भएता पनि कांग्रेस मिसिएपछि जनवादी हटेर लोकतान्त्रिक थपिएको होकि भन्ने बुझिन्छ । धार्मिक स्वतन्त्रता आफ्नो एजेण्डा हुदा हुदै नेपाली कांग्रेसलाइ धर्मनिरपेक्षता मान्न कसले बाध्य बनायो? त्यसैले आजको बेथितिको सुरुवात यहीबाट भएको छ । त्यसो हो भने के कांग्रेस यी सबै अवस्थालाइ चिर्न सेरेमोनियल राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र या संसदीय ब्यबस्था या प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र बिशेषज्ञताका आधारमा स्वतन्त्र मन्त्रीपरिषदको एजेण्डामा जानेछ?जहा सांसद मन्त्री हुने छैनन् । यसबाट धेरै आर्थिक र राजनीतिक बेथिती हटाउन सकिनेछ ।
२. शक्ति प्राप्त गर्ने नाममा कुनै पनि सिद्धान्त नमिल्ने समुह या दलहरुसंगको साठगाँठ बहुदलिय प्रजातन्त्रको लागि घातक सिद्ध हुने कुरा प्रमाणित भएको छ । त्यसैले आफनो बुतामा सरकार बनाउन कोशिष गरिनु पर्दछ नभए प्रतिपक्षमा बस्न उत्तम हुन्छ । आफ्नो सरकार भए पनि प्रतिपक्षमा रहे पनि २००७ पछिका सम्पुर्ण भ्रष्टाचार र अनियमिताको छानविन गर्नुपर्छ । सबै सार्वजनिक पदमा हुनेहरुको सम्पत्ति छानविन गरि अनियमित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । आफ्ना मान्छे परेपनि नछोडने आँट हुनुपर्छ ।
३. एउटै दलको सरकार बन्न नसक्ने अवस्था अहिलेको संबिधानको चुनाव प्रणालीले उप्जाएको हो । अन्य देशलाइ हेर्दा यति धेरै सासंदको आवश्यकता छैन । २ लाख जनसंख्या बराबर एक सांसद हुने गरि १५० सांसद र बिशेषज्ञताको आधारमा १५ जना मन्त्री भए नेपाललाइ पुग्छ । दललाइ या मानिसलाइ जसलाइ भोट दिने ब्यबस्था गरेपनि सांसद १५० रहनु पर्दछ । दललाइ भोट हाल्ने प्रक्रिया भए चुनावको खर्च घटथ्योकि? चुनावमा जितेका स्थानहरुमा सम्बन्धित दलले नीति बनाउन बिशेषज्ञहरुलाइ मनोनित गर्नेकी? प्रदेश र जिल्ला समन्वय समितिका खारेजी हुनुपर्छ । सांसदको सचिवालयले नै चुनाव क्षेत्र भरिको आवश्यकता र समस्याहरुको लेखाजोखा गर्ने र स्थानिय सरकारहरुको समन्वय गर्ने जिम्मा लिनु पर्दछ । नीति निर्माणमा सहयोग गर्ने र बिकास निर्माणका योजना, मुल्यांकन गर्ने कार्य त्यही सचिवालय मार्फत गरिनुपर्दछ । महालेखा र अख्तियारलाइ हरेक बिकासका युनिट सम्म बिस्तार गरिनु पर्दछ । नगरपालिका र गाउँपालिका महासंघहरुलाइ स्वयंसेवी ढंगले बिकास निर्माणको योजना बनाउन ,अनुगमन र मुल्यांकन गर्न सहयोग गर्न सक्ने अधिकार दिनु पर्दछ । नागरिक समाजका तर्फबाट हरेक आयोजनाको मुल्यांकन स्वंसेवी ढंगले गर्ने बन्दोबस्त गर्नुपर्दछ ।
४ निश्चित अवधि राखेर देशका हरेक क्षेत्र जस्तै स्वास्थ्य, शिक्षा, रोजगारी, आर्थिक तथा सामाजिक विकासमा सूचकहरूलाई कति, कहिलेसम्म , कसरी, काहासम्म पुर्याउने भन्नेको लेखोट स्पष्ट हुनुपर्दछ र त्यस अनुसारका रणनीतिहरू तय गरिनुपर्दछ ।
यी केही विषयहरू र अन्य यसमा नपरेका विषयहरूमा गम्भीर छलफल बिश्लेषण, विशेषज्ञहरूका राय समेत राखेर नेपाली काँग्रेसले आफ्नो रूपान्तरणको गन्तव्य तय गर्नुपर्दछ । नत्र केही अधिकार या लाभका पदमा बस्न पाउनेहरू र नपाउनेहरूको बिचको व्दन्व्द मात्र प्रमाणित हुन गए संस्थाले पुन घाटा बेहोर्ने सम्भावना रहन्छ ।
(लेखक नेपाली कांग्रेस, रामेछापका पूर्व महासमिति सदस्य तथा नेपाल प्रेस युनियन, रामेछापका सदस्य हुनुहुन्छ ।)
skarma_2005@yahoo.com
आफ्नो प्रतिकृया दिनुहोस्