रामेछाप– रामेछाप नगरपालिकाको चालु आर्थिक वर्षको दुई चौमासिकको खर्च ५० दशमलव ४२ प्रतिशत भएको छ । नगरपालिकाले विहिबार सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत नगरले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म गरेको खर्चको विवरण प्रस्तुत गर्दै हाल सम्म समग्रमा ५० दशमलव ४२ प्रतिशत भएको बताएको हो ।
चालु आर्थिक वर्ष ०७९÷८० को दोस्रो चौमासिक सम्मको खर्च विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले चालु तर्फ ४७ करोड १६ लाख ८ हजार ४ सय ४१ र पुँजीगत तर्फ ३१ करोड १२ लाख ५५ हजार ५ सय ५८ गरी जम्मा ७८ करोड २८ लाख ६४ हजार रहेकोमा चालु तर्फ २७ करोड ७१ लाख २६ हजार ८ सय ६१ रुपैयाँ (५७.७६ प्रतिशत) खर्च हुँदा पूजीगत तर्फ ११ करोड ७६ लाख ११ हजार १ सय ८१ रुपैयाँ (३७.७९ प्रतिशत) खर्च भएको बताए । पौडेलका अनुसार चालु र पूँजीगत गरी जम्मा ५०.४२ प्रतिशत प्रगतिको प्रगति भएको छ ।
नगरपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिकको अवधि सम्म संचालित विकास योजना तथा कार्यक्रमहरुको प्रभावकारिता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइमा सहभागीले नगरबाट भएका विभिन्न योजना तथा सेवा प्रवाको बारेमा प्रश्न गरेपछि नगर प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बाल कुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, वडाध्यक्ष तथा विभिन्न शाखाका प्रमुखहरुले जवाफ दिएका थिएका थिए ।
यस्तो छ दुई चौमासिकमा भएका काम र खर्च विवरणः
सार्वजनिक सुनुवाई कार्यक्रम रामेछाप नगरपालिकाका जिम्मेवार जनप्रतिनिधि/कर्मचारी तथा नागरिकहरुको सहभागितामा संचालन गर्न लागिएको कार्यक्रम हो । नगरपालिकाको क्षेत्र भित्र संचालन गरिने हरेक गतिविधिहरुमा स्थानीय नागरिकहरुको सक्रिय सहभागिता आवश्यक हुन्छ । स्थानीय नागरिकहरुलाई सार्वजनिक सेवाको बारेमा सूचनाको ठुलो महत्व हुन्छ । तसर्थ नगरपालिकामा रहेको सूचनाले सार्वजनिक सेवा, वस्तु तथा विकास निर्माणमा नागरिकहरुको पँहुच बृद्धिको लागि महत्वपूर्ण भूमिका राख्दछ । सेवा प्रदायक निकाय तथा सेवाग्राहीहरुवीच विकास निर्माण तथा सार्वजनिक सेवाको वारेमा अपनत्वको भावना विकास गराई सार्वजनिक सेवामा सरिक गराउनु पर्ने आवश्यकता रहन्छ । स्थानीय तहमा संचालन हुने सार्वजनिक सेवा तथा वस्तुलाई सही प्रयोग गर्नुका साथै पारदर्शिता तथा जवाफदेहितालाई सुदृढ गर्न समेत सार्वजनिक सुनुवाई कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । नागरिकलाई सार्वजनिक निकायले गरेका गतिविधिहरुको वारेमा सूचना माग्ने, पाउने र अवलोकन गर्ने अधिकार सूचनाको हक सम्वन्धी ऐन, २०६४ र सूचनाको हक सम्वन्धी नियमावली, २०६५ ले गरेको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ तथा स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन कार्यविधि, २०७७ मा पनि सार्वजनिक निकायले आफूले संचालन गरेका हरेक गतिविधिहरुको वारेमा नागरिकहरुलाई सु-सूचित गराउन सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था रहेको छ । यिनै कानूनी प्रावधान समेतका आधारमा विगत वर्षहरु देखि नै रामेछाप नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिक अवधि सम्म यस रामेछाप नगरपालिकाबाट संचालन भए गरेका विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता एवं सेवा प्रवाहको अवस्थाका सम्बन्धमा आज आयोजित यस सार्वजनिक सुनुवाई कार्यक्रममा समग्र प्रगति विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु।
सेवा प्रवाहका लागि सांगठनिक सुधारतर्फ
स्वीकृत संगठन संरचना बमोजिम प्रदान गरिने सेवाको प्रकृति, कार्यबोझ र सेवाग्राहीको चापलाई मध्यनजर गरी सेवाग्राहीमैत्री सेवा प्रवाह हुने गरी विभिन्न शाखा, उपशाखा र इकाइहरु गठन गरी उपलब्ध जनशक्तिको बाँडफाँड र कार्य जिम्मेवारी तोकी संचालनको व्यवस्था मिलाईएको छ ।
सेवाग्राहीको सुविधाको लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी, नागरिक सहायता कक्ष, कानूनी सहायता कक्ष, स्तनपान कक्ष एवम् नगर प्रहरी कक्षको समेत व्यवस्था मिलाईएको छ ।
प्रदान गरिने सेवाको किसिम, सेवा लिन आवश्यक पर्ने प्रमाणहरु, जिम्मेवार कर्मचारी, शुल्क, दस्तुर लो
भए सो को दर समेत खुल्ने गरी कार्यालयको मुल गेट नजिक नागरिक वडापत्र राखिएको र सेवा प्रवाह मापदण्ड समेत प्रकाशन गरिएको छ ।
सेवा प्रवाहलाई सरल र व्यवस्थित बनाउन आवश्यक कानून र कार्यविधि निर्माण गरी लागू गरिएको छ।
प्रदेश सुशासन केन्द्रसँग समन्वय गरी जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी गराईएको छ ।
वडा कार्यालयहरुबाट समेत कम्प्युटर विलिङ्ग सिष्टमबाट राजस्व संकलन गरी अभिलेख अद्यावधिक र व्यवस्थित गरिएको, व्यक्तिगत घटना दर्ता अनलाईन मार्फत गर्ने र सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरणको व्यवस्था मिलाईएको छ ।
निर्णय गर्नु पर्ने विषयमा तत्काल निर्णय गरी छिटो छरितो सेवा प्रवाह गर्ने गरिएको छ । प्रत्येक महिना कम्तिमा १ पटक र आवश्यकताका आधारमा जुनसुकै समयमा पनि नगर कार्यपालिकाको वैठक राख्ने गरिएको छ । स्थानीय तहको दोस्रो निर्वाचन पश्चात नगर कार्यपालिकाको गठन भएदेखि हालसम्म दुई पटक नगरसभा र १३ वटा नगरकार्यपालिकाको बैठक सम्पन्न भएका छन् ।
निरन्तर रुपमा सेवाग्राहीको पिर मर्का सुन्ने, जनसम्पर्क गर्ने, गुनासो पेटीकाको व्यवस्थाका साथै शाखा- उपशाखाहरुमा निरन्तर अनुगमन सहजीकरण र समय समयमा सेवाग्राहीको सन्तुष्टी मापन गरी प्राप्त सुझाव र पृष्ठपोषण बमोजिम सेवा प्रवाहमा सुधार ल्याउने प्रयास गरिएको छ ।
रामेछाप नगरपालिकाको कार्यसम्पादन नियमावली, २०७४ वमोजिम कार्यपालिकाले सम्पादन गरेका कार्य वा निर्णयहरु सार्वजनिक जानकारीमा ल्याउन तथा कार्यपालिकाको तर्फबाट जारी गर्नु पर्ने सार्वजनिक महत्वका सूचना वक्तव्य विज्ञप्ती आदी सार्वजनिक गर्ने लगायतका काममा रामेछाप नगरपालिकाको प्रवक्ता भई कार्य गर्न वडा नं. ७ का वडा अध्यक्ष श्री समिर कार्कीलाई तोकिएको छ ।
पूर्वाधार विकास तर्फ
चालु आर्थिक वर्षमा क्रमागत योजनाहरु निर्माण गर्ने क्रममा वडा कार्यालय भवन निर्माण वडा नं. ३, ७ र ९ ठेक्का प्रक्रिया मार्फत कार्य भई रहेका र सम्पन्नको चरणमा रहेका छन् ।
संघीय सरकार र नगरपालिकाको साझेदारीतामा समपुरक कोष मार्फत नगरपालिकाको वडा नं. ७ सुकाजोरमा करिब रु. ५ करोडको लागतमा कबर्ड हल निर्माण गर्ने कार्य भई रहेको छ ।
प्रदेश सरकार र नगरपालिकाको साझेदारीतामा समपुरक कोष मार्फत रामेछाप नगरपालिकाको वडा नं. ५ र ६ को चाम्वोट च्यास्कु कोलोन्जोरघाट सडक स्तरोन्नती, र वडा नं. ८ को भेटेनरी वादी विर्ता सडक स्तरोन्नती कार्य भई रहेको र सम्पन्नको चरणमा रहेको छ ।
प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम विशेष अनुदान तर्फको वडा नं. ७ मा कालीकुवा डिपवोरिङ्ग सिंचाई योजना र वडा नं. ६ मा लाम्पाते लिफ्ट खानेपानी योजनाको निर्माण कार्य ठेक्का मार्फत संचालन भई रहेको र सम्पन्नको चरणमा रहेको छ ।
प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम शर्शत अनुदान तर्फ वडा नं. ८ मा भ्याकुरे कालीआप धारापानी सडक र फुश्रेमाटा चनौटे आरुबोटे देवीथान टुनिवोटे सडक निर्माण कार्य ठेक्का मार्फत संचालन भई रहेको र सम्पन्नको चरणमा रहेको छ ।
संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम शर्शत अनुदान तर्फ वडा नं. ८ मा गणेशचोक शारदा संस्कृत मावि कोलडाँडा सडक स्तरोन्नती कार्य भई रहेको छ ।
संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम समपूरक अनुदान तर्फको वडा नं. ६ मा भालुखोप गणेशटार देउराली सडक, साउने बोलुङ्ग बोलुङ्ग बरबोट सडक, गाईटार ओख्रेनी सडक, वडा नं. ८ मा सोलमारी
डुम्रीखर्क सल्ले सडक र वडा नं. ५ मा रामपुर धराब्दी सडकको निर्माण कार्य ठेक्का मार्फत संचालन भई रहेको र सम्पन्नको चरणमा रहेको छ ।
संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम विशेष अनुदान तर्फ वडा नं. ५ रामपुर सुनकोशी लिफ्ट सिंचाई योजना र वडा नं. ३ थाक्लेवेशी लिफ्ट खानेपानी योजना र वडा नं. ८ मा ल्याण्ड फिल्ड साइट निर्माण कार्य ठेक्का मार्फत संचालन भई रहेको र सम्पन्नको चरणमा रहेको छ ।
संघीय कार्यक्रम अन्तर्गत वडा नं. ७ मा औधोगिक ग्राम निर्माण कार्य ठेक्का मार्फत संचालन भई रहेको छ ।
सडक बोर्ड नेपाल र नगर साझेदारीमा वडा नं. ७ मा हस्पिटल चोक विर्ता सडक मर्मत कार्य उपझोक्ता समिति मार्फत संचालन भई अन्तिम चरणमा रहेको छ । नगरस्तरीय योजना अन्तर्गत देउराली गोठगाँउ देवालीचौर चण्डेश्वरी सडक स्तरोन्नती वडा नं १, २, चण्डिडाँडा बाँकीमेरी साँघुटार सडक स्तरोन्नती वडा नं. ३. गोठेडाँडा मगर चिलाउने कुशवशेरी सडक स्तरोन्नती वडा नं. ४, रामपुर रिठ्ठाबोट सिलिङ्गे मन्सुलीघाट सडक विस्तार तथा स्तरोन्नती वडा नं. ५, केवलेश्वर खानेपानी योजना वडा नंद गिजनटार सिंचाइ योजना वडा नं ४, लिखु तटबन्ध निर्माण साँघुटार वडा नं. ३, देउराली राताटार हर्दिनी सडक स्तरोन्नती वडा नं. ९, गोठगाँउ खानेपानी योजना वडा नं १ आरू खर्के लिफ्ट खानेपानी योजना वडा नं. ६, खुर्पाती डाँडाटोल खानेपानी निर्माण वडा नं. १, गोगने खानेपानी निर्माण वडा नं. १ आदि आयोजनाहरू उपभोक्ता समितिसँग सम्झौता भइ निर्माणा कार्य संचालन भइ रहेका छन् ।
उपभोक्ता समिति मार्फत संचालित वडा स्तरीय योजनाहरुको उपभोक्ता समितिसँग सम्झौता भई निर्माण कार्य भई रहेको छ । उपभोक्ता समिति मार्फत संचालित विभिन्न ५० वटा योजनाहरु सम्पन्न भई भुक्तानी समेत भई सकेको छ ।
राजश्व, उद्योग तथा सहकारी तर्फ
२०७९ साल चैत्र मसान्तसम्म ७५० वटा ब्यवसाय ईजाजत दर्ता भएका छन । सो मध्ये १५ वटा ब्यवसाय ईजाजत खारेज भएको अवस्था छ भने ७३५ वटा व्यवसाय ईजाजत सञ्चालनमा रहेका छन् । पाच लाखसम्म पूँजी भएका २५३ वटा प्राईभेट फर्म र १ वटा साझेदारी फर्म दर्ता भै संचालनमा रहेको
छ ।
२०७९ साल चैत्र मसान्तसम्म ७ वटा टोल विकास संस्था दर्ता भै संचालनमा रहेका छन् । त्यस्तै रामेछाप नगरपालिका कार्य क्षेत्र भएका ७१ वटा सहकारी संस्थाहरु रहेका छन । निस्कृय सहकारी संस्थाको विवरण संकलनको कार्य भैरहेको छ । हाल सम्म ३६ वटा सहकारी संस्थाहरुले ब्यवसाय ईजाजत लिई संचालनमा रहेका छन्। २०७९ साल भाद्र महिनामा २७ वटा सहकारी संस्था र चैत्र महिनामा १९ वटा सहकारी संस्थाहरुलाई ३ दिने सूचना ब्यवस्थापन अनलाईन प्रविष्टी अध्यावधिक तालिम संचालन गरिएको छ । जसबाट सहकारी संस्थाहरुले आफ्ना गतिविधिहरु अनलाईन प्रणाली मार्फत सुरुवात गरेको अवस्था छ ।
वडा कार्यालयहरुमा कार्यरत वडा सचिव तथा सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न सवै वडाका वडा सचिव र सहायक कर्मचारीहरुलाई दिने सम्पति कर तथा नगदी सप्टवेयर लगायत जिन्सी, आर्थिक प्रशासन र घटना दर्ता सम्वन्धी तालिम संचालन गरिएको छ ।
लघु उद्यमी/ युवा तथा आदीवासी /जनजाती/ लोपोन्मुख र दलितहरुका लागि प्रविधि हस्तान्तरण कार्य अन्तिम चरणमा रहेको छ ।
२०७९ साल चैत्र महिनासम्म रामेछाप नगरपालिकाको वडा नं. १ बाट रु. १ लाख ८२ हजार २ सय ३, वडा नं. २ बाट रु. २ लाख १३ हजार ८ सय ७, वडा नं. ३ बाट रु. ३ लाख १७ हजार २ सय ९८, वडा नं. ४ बाट रु. ३ लाख ६८ हजार ३ सय ३८, वडा नं. ५ बाट रु. २ लाख ८३ हजार ५
सय ९५, वडा नं.६ बाट रु. १ लाख ८७ हजार ८ सय ९३, वडा नं. ७ बाट रु.४ लाख ५२ हजार चार सय ६४, वडा नं.८ बाट रु.२ लाख ५५ हजार ७ सय ४१, वडा नं. ९ बाट रु.२ लाख १६ हजार ७ सय ५ र रामेछाप नगरपालिकाको राजश्व शाखाबाट रु. २९ लाख २२ हजार ५ सय ९८ गरी जम्मा रु ५४ लाख ६ सय ४३ राजश्व संकलन भएको छ । ९ वटा वडाहरु मध्ये सवैभन्दा वढी वडा नं. ७ बाट रु. ४ लाख ५२ हजार ४ सय ६४ राजश्व संकलन भएको छ ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चालू आ.ब.०७९/८० मा प्रथम चरणको सामाजिक परिचालन तथा उद्यमशिलता विकास तालिम संचालन गरिएको छ । दोस्रो चरणमा सेवा प्रदायक संस्था ग्रामिण विजनेश प्रमोशन प्रा. लि रामेछापबाट वडा नं. १ गोठगाउमा वेसार प्रशोधन, हाते होजियारी र बाँसको हस्तकलाको तालिम सम्पन्न भएको छ भने वडा नं. ९ टाहार र ल्याङल्याङमा बाँसको हस्तकला र हाउस वायरिङ तालिम सम्पन्न भएको छ । त्यस्तै स्तरोन्नती कार्यक्रम अन्तर्गत वडा नं.४ को हिमगंगामा हाते होजियारी र बाँसको हस्तकला तालिम संचालनमा रहेको छ ।
समग्रमा चालु आर्थिक वर्षमा राजश्व उद्योग तथा सहकारी तर्फ रु. ५ लाख ५० हजार वजेट विनियोजन भएकोमा रु. ४ लाख ७० हजार खर्च भई ८०.४५ प्रतिशत प्रगति हासिल भएको देखिन्छ भने गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम तर्फ स्वीकृत रु. ३० लाख वजेट मध्ये ११ लाख ७३ हजार ५ सय ५० खर्च भै ३९.१२ प्रतिशत प्रगति हाशिल भएको छ ।
स्वास्थ्य तर्फ
५ देखि ११ बर्ष सम्मका ९१ प्रतिशत बालबालिकाहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप पहिलो तथा दोस्रो मात्रा लगाइएको छ ।
महिला सँग उपमेयर कार्यक्रम अन्तर्गत १६५ जना सुत्केरी महिलाहरूलाई हाइजिन किट तथा पौष्टिक आहार सहितको सुत्केरी कोसेली वितरण भएको छ ।
ज्येष्ठ नागरिक सँग मेयर कार्यक्रम अन्तर्गत ८५ वर्ष माथिका २९० जना जेष्ठ नागरिकहरुलाई न्यानो सिरक तथा पानी तताउने केट्ली वितरण गरी सम्मान गरिएको छ ।
निशुल्क एम्वुलेन्स सेवा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाहरुमा प्रशुति सेवा लिन आएका ५२ जना महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध भएको छ ।
सबै वडाका ६० वर्ष माथिका दलित तथा ६५ बर्ष माथिका नागरिकहरु मध्ये २८५ जनाको निःशुल्क स्वास्थ्य विमा गरिएको छ ।
सामुदायिक विद्यालयहरुमा कार्यरत २२ जना शिक्षकहरुका लागि १ दिने प्राथमिक आँखा उपचार सेवा तालिम सञ्चालन गरिएको छ ।
क्यान्सर, मृगौला तथा स्पाइनल इन्जुरी भएका ३५ जना दिर्घ रोगीहरुलाई मासिक रु ५ हजारका दरले माघ महिना सम्मको दीर्घरोगी उपचार खर्च वितरण भएको छ ।
विपन्न नागरिक औषधि उपचार सिफारिस समितिबाट २३ जना दीर्घ रोगीहरु (क्यान्सर १२, मृगौला डाइलाइसिस ३, स्पाईनल इन्जुरी ४, तथा हेड इन्जुरी २, मुटुरोग २) लाई निःशुल्क उपचारका लागि सम्बन्धित अस्पतालमा सिफारिस गरि पठाइएको छ ।
नगरपालिका अन्तर्गत रहेका सवै स्वास्थ्यकर्मीहरु तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई बृहत पोषण प्याकेजको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ ।
सबै स्वास्थ्य संस्थाहरुका लागि निःशुल्क वितरण गरीने औषधिहरु विद्युतीय वोलपत्र विधि मार्फत खरिद गरी सम्बन्धित स्वास्थ्य संस्थाहरु सम्म औषधी व्यवस्थापन गरिएको छ ।
नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा कुल ८४६ जना सेवाग्राहीहरुले स्वास्थ्य उपचार सेवा प्राप्त गरेको अवस्था छ ।
समग्रमा स्वास्थ्य तर्फ विनियोजित कुल वजेट रु. ५ करोड ३२ लाख रहेकोमा हाल सम्म रु. ३ करोड ३८ लाख ४३ हजार १ सय ८८ खर्च भई ६३.६१ प्रतिशत वित्तिय प्रगति हासिल भएको देखिन्छ ।
पशु विकास तर्फ
औषधी खरिदमा रु.१५ लाख वजेट विनियोजन भएकोमा ४९,२०१ पशुपन्छी उपचार, १,४६५ पशु बन्ध्याकरण, १३२ नमुना परीक्षण भएको छ जसमा रु.१० लाख वजेट खर्च भएको छ । जोनोटिक तथा महामारी रोग नियन्त्रण( रेविज/पि.पि.आर/ खोरेत/ स्वाईन फिवर) खोप कार्यक्रमका लागि रु. ९ लाख वजेट विनियोजन भएकोमा २१,५०० बाखामा पि.पि.आर, १८,७१२ गाई/भैसी/बाखामा खोरेत, २१०० बंगुरमा स्वाईन फिवर, ८३९ कुकुरमा रेविज र ९००० कुखुरामा रानीखेत खोप लगाईएको छ । यी कार्यक्रमहरुको लागि रु.९ लाख खर्च भएको छ ।
प्रयोगशाला उपकरण तथा Reagent खरिदमा २ लाख बजेट विनियोजन भएकोमा CMT, Reagent, Drenching gun, Bolus gun, Notching Machine, Dog Case खरिद गरी रु.२ लाख खर्च भएको छ । दुहुना गाई/भैंसी स्याहार तथा पोषण सुधार कार्यक्रममा १० लाख बजेट विनियोजन भएकोमा ९४६ दुहुना गाई/भैंसीलाई प्रति गाई/भैंसी १ हजारको दरले जम्मा रु.९ लाख ४६ हजार खर्च भएको छ। एक वडा एक पशु प्राविधिक कार्यक्रम अन्तर्गत नगरका वडा नं. १ देखी ६ सम्म पशु सेवा केन्द्र सञ्चालन गरी पशु सेवा प्राविधिकहरुलाई सम्वन्धित कार्यमा परिचालन गरिएको छ बाँकी वडाहरुमा समेत पशु प्राविधिक पुर्याउने प्रक्रियामा रहेको छ।
समग्रमा पशुपन्छी तथा मत्स्य विकास तर्फ चालु आर्थिक वर्षमा स्वीकृत कुल वजेट रु. ५६ लाख ५० हजार रहेकोमा दोस्रो चौमासिक अवधि सम्म रु.३० लाख ४६ हजार खर्च भई ६०.२८ प्रतिशत प्रगति भएको देखिन्छ ।
शिक्षा युवा तथा खेलकुद तर्फ
नगरपालिका अन्तर्गत सञ्चालित माध्यमिक र आधारभुत तहको विभिन्न परीक्षाहरुको नतिजा विश्लेषण गर्न र आगामि शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु संग शैक्षिक समीक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
विभिन्न विद्यालयहरुमा भएको शिक्षक र विद्यार्थीहरुको अनुपातलाई पुनः हेरफेर गरी विद्यालयमा शिक्षक विद्यार्थी अनुपात तथा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको लागि विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा विभिन्न शिक्षकहरुलाई काज सरुवा गरिएको छ । यसै गरी शिक्षक सेवा आयोगबाट नँया नियुक्ति भई यस नगरपालिकामा सिफरिस भएका प्रा. वि. तृतीय श्रेणिका ९ जना शिक्षकहरुलाई विभिन्न विद्यालयका रिक्त दरवन्दीमा पदस्थापन गरिएको छ ।
नगर स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । साथै जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा रामेछाप नगरपालिका समग्रमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ।
आधारभुत तह (कक्षा ८) उत्तिर्ण परीक्षा व्यवस्थित ढंगबाट सञ्चालन गरी नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न भएको छ ।
विभिन्न विद्यालयहरुमा विद्यालयको माग र विद्यार्थी संख्याको आधारमा पुस्तकालय, विज्ञान प्रयोगशाला र ICT प्रयोगशालाको कार्यक्रमहरु वितरण गरिएको छ ।
समग्रमा चालु आर्थिक वर्षमा शिक्षा, युवा तथा खेलकुद तर्फ जम्मा रु. २३ करोड ३० लाख १६ हजार वजेट विनियोजन भएकोमा चैत्र मसान्तसम्म जम्मा रु. १६ करोड १९ लाख ६९ हजार ८ सय ७६ । – ख भई ६९.५२ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ ।
कृषि विकास तर्फ
आ.व. २०७९/०८० को नगर स्तरीय स्वीकृत कार्यक्रम वजेटवाट कृषि यान्त्रीकरणमा रु १० लाख वजेट विनियोजन भएको छ । उक्त वजेटवाट ५०% अनुदानमा कृषि यान्त्रीकरण ( हाते ट्रयाक्टर ११, ट्र्याक्टर फाली सेट २८, ट्र्याक्टर फाली पिस ८४०, ट्र्याक्टर कुटे सेट ९ सेट, र धान झार्ने थ्रेसर ११ वटा) खरिद गर्नका लागि टेण्डर आह्वान भई सम्झौता प्रकृयामा रहेको र यान्त्रीक उपकरणहरु प्राप्त भएपछि मागमा छनौट भएका किसानहरुलाई वितरण गरिने छ ।
कृषकहरुले उत्पादन गरेको तकारी तथा फलफुल सहुलियत दरमा बजार केन्द्र सम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न रु. ३० लाख वजेट विनियोजन भएकोमा उक्त एम्बुलेन्स खरिद गर्न टेण्डर आह्वान भई सम्झौताको प्रकृयामा रहेको र एम्बुलेन्स प्राप्त भए पश्चात नगरपालिकाबाट स्वीकृत कार्यविधिका आधारमा एम्वुलेन्स सञ्चालन गरिनेछ ।
माटो परिक्षण शिविर संचालन कार्यक्रमका लागि रु ४ लाख ५० हजार वजेट विनियोजन भएकोमा उक्त कार्यक्रमबाट ९ वटै वडामा माटो परीक्षण शिविर संचालन भएको र सो शिविरमा ५६२ वटा माटो नमुना परिक्षण भएको र परिक्षणवाट देखिएको नतिजाका आधारमा कृषकहरुलाई माटोको लागि आवश्यक पर्ने खाद्यतत्वको प्रयोग गर्न सिफारिस गरिएको छ ।
किसान परिचयपत्र वितरण कार्यक्रमका लागि रु. ३ लाख वजेट विनियोजन भएकोमा यस वर्ष वडा नं १ देखि ७ सम्मका कृषकहरुको तथ्यांक संकलन गरी परिचयपत्र वितरणको कार्यक्रम गरिनेछ । तथ्याङ्क संकलनको कार्य भैरहेको र यस कार्यमा किसान सूचीकरण सहजकर्ता परिचालन गरिएको छ ।
कपास खेतीका लागि वीउ खरिद गर्न रु ५० हजार वजेट विनियोजन भएकोमा १२५ के.जी वीउ खरिद गरी ९ वटै वडाका तल्लो वेशी भेगका क्षेत्रहरुमा वीउ वितरण गरि सकिएको छ ।
जुनार औषा किरा नियन्त्रणका लागि रु ५ लाख र मकै बालीको फौजी किरा नियन्त्रणका लागि रु १३ लाख वजेट विनियोजन भएकोमा ५० प्रतिशत अनुदानमा विषादी वितरण हुने गरी कृषकहरुबाट माग संकलन गर्ने कार्य भै रहेको छ ।
संघिय शसर्त अनुदान कार्यक्रम तर्फ खाद्यान्नवाली (धान र मकै) को उन्नत वीउ वितरणका लागि रु ८ लाख वजेट विनियोजन भएकोमा उक्त वजेटवाट ७२२० केजी मकैको वीउ खरिद गरी ९ वटै वडाहरुमा वितरण गरिसकिएको र धानको वीउ खरिद गर्ने प्रकृयामा रहेको छ ।
महिला तथा वालवालिका तर्फ
सामाजिक रुपान्तरणको अभियान अन्तर्गत रामेछाप नगरपालिकालाई २०८१ साल चैत्र मसान्त सम्म वालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने निर्णय वमोजिम चालु आर्थिक वर्षका लागि नगरपालिकाबाट रु.३० लाख र प्रदेश सरकारको ससर्त अनुदानबाट रु १ लाख ५० हजार गरी रु ३१ लाख ५० हजार वजेट विनियोजन भएको र सो वमोजिम वालमैत्रीका निर्धारित सूचक अनुसारका विभिन्न क्रियाकलापहरु चरणवद्ध रुपमा अघि वढीरहेको अवस्था छ । यस कार्यक्रममा हालसम्म रु २९ लाख ३७ हजार ३ सय ३ रुपैया खर्च भएको छ ।
दिवसीय कार्यक्रम अन्तरगत रु. ५ लाख वजेट विनियोजन भएकोमा बालदिवस, लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियान र अन्तराष्ट्रिय महिला श्रमिक दिवसमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रमहरुमा जम्मा रकम रु. ५ लाख ९ हजार ५ सय खर्च भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ
प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ आ.व २०७९,०८० मा रोजगारी सृजनाका लागी केन्द्रबाट विनियोजित बजेट रकम रु ४७ लाख ९७ हजार मध्ये २०७९ चैत्र मसान्त सम्म १६ लाख ८१ हजार २ सय ५६ खर्च भएको छ । यसबाट सडक सोलिंग, नाला निर्माण, सुख्खा ड्राईवाल निर्माण, चौतारा निर्माण साथै वडा नं. ५ र ६ मा वडाको साझेदारीमा पक्की नाला निर्माण, मेसोनरी वाल निर्माण तथा सिढी निर्माणका कार्यहरु सम्पन्न भएका छन् ।
चालु आ.व ०७९/८० को फागुण १ गते देखी ३० गते सम्म सवै वडा बाट बेरोजगार व्यक्तिहरुको निवेदन संकलन गरी दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।
पञ्जीकरण सेवा इकाई तर्फ
नगरपालिका भित्रका सवै वडा कार्यालयहरुमा व्यक्तिगत घटना दर्ता अनलाईन प्रणालीबाट सञ्चालन गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता तर्फ चालु आर्थिक वर्ष ०७९/८० मा रु.१८ करोड ८२ लाख ६२ हजार प्राप्त भएकोमा जेष्ठ नागरिक २४६० जना, जेष्ठ नागरिक दलित १३९ जना, जेष्ठ नागरिक एकल महिला २६८ विधवा ३५४ जना, क वर्गका अपाङ्ग २५० जना, ख वर्गका अपाङ्ग १३६ जना, दलित बालवालिका २७७ जना, लोपोन्मुख जाति १०५० जना गरि जम्मा ४९३४ जना लाभग्राहीको तेस्रो त्रैमासिक सम्मको रकम बैंक खातामा जम्मा गरिएको छ । चौथो त्रैमासिक अवधिका लागि नपुग हुने सामाजिक सुरक्षा भत्ता वापतको रकम रु. १ करोड ६१ लाख २४ हजार ४० सम्वन्धित निकाय समक्ष माग गरिएको छ ।
सूचना प्रविधि तर्फ
नेपाल दुर सञ्चार प्राधिकरणसंगको समन्वयमा रामेछाप नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्वास्थ्य संस्थाहरुमा अप्टिकल फाईबर सहितको इन्टरनेट विस्तार कार्य अन्तिम चरणमा पुगेको अवस्था रहेको छ ।
कानून न्याय तथा मानवअधिकार प्रवर्द्धन तर्फः
रामेछाप जिल्ला अदालतसँगको समन्वयमा अन्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रम आयोजना गरिएको र यस कार्यक्रमबाट रामेछाप जिल्ला भित्रका सवै स्थानीय तहका न्यायीक समितिहरुले एउटै ढाँचामा निवेदन हेर्ने एवं निरुपण र मेलमिलापका प्रकृयाहरु अवलम्बन गर्ने कार्यको सुरुवात भएको
छ ।
९ वटा वडाका २३ जना मेलमिलापकर्ताहरुलाई आधारभूत मेलमिलाप सम्बन्धी (४८ घण्टे) तालिम कार्यक्रम सम्पन्न गरिएको छ ।
चालु आ.व. मा न्यायिक समितिमा दर्ता हुन आएका विभिन्न प्रकृतिका ४८ थान मुद्धा मध्ये ४६ थान मुद्धा मिलापत्र भएका छन् ।
चालु आ.व. मा कानून, न्याय तथा मानव अधिकार प्रवर्द्धन तर्फ विनियोजित जम्मा बजेट रु १३ लाख मध्ये हाल सम्म रु. ७ लाख ९२ हजार २ सय ८० खर्च भएको छ ।
विपन्न नागरिक सहायता तर्फ
रामेछाप नगरपालिकाको आर्थिक ऐन २०७९ बमोजिम उद्दार राहत तथा पुनःस्थापना खर्च शिर्षकमा विनियोजित रकम रु. ३० लाख मध्ये रामेछाप नगरपालिकाको विपन्न नागरीक सहायता कार्यविधिले तोकेको परिधि भित्र रही हाल सम्म १७३ जना नागरीकहरुलाई रु.२६ लाख ६३ हजार रकम राहात तथा पुनःस्थापना खर्च वापत उपलब्ध गराईएको छ ।
स्थानीय भूउपयोग परिषद् सचिवालय
भूउपयोग ऐन,२०७६ को दफा २० बमोजिम स्थानीय भूउपयोग परिषद्को कार्यमा सहयोग पुयाउन भूउपयोग कार्यान्वयन समितिको गठन भई भू उपयोग क्षेत्रका सम्वन्धमा जानकारी गराउने तथा राय सुझाव संकलन गर्ने उदेश्यले भू उपयोग कार्यान्वयन समितिबाट सवै वडाहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
वडाहरुमा भएको अन्तरक्रिया कार्यक्रमबाट प्राप्त राय सल्लाह सुझाव बमोजिम भूउपयोग कार्यान्वयन समितिको सिफारीसमा स्थानीय भूउपयोग परिषद्ले रामेछाप नगरपालिकाको भूउपयोग क्षेत्र वर्गिकरणका लागि कार्य प्रारम्भ गर्ने क्रममा रहेको छ ।
राष्ट्रिय भूमी आयोग रामेछाप नगरपालिका सेवा केन्द्र तर्फ
भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहजीकरण गर्न नगर तथा वडा स्तरीय सहजीकरण समितिको गठन गरिएको छ ।
भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्यविधि बमोजिमको अनुसूची ३ र ४ को लगत संकलन निवेदन फारमको बारेमा वडा अध्यक्ष, वडा सचिव तथा सहायक कम्प्युटर अपरेटरहरुलाई अभिमुखीकरण कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय भूमी आयोगबाट प्रकाशित सूचना बमोजिम यस नगरपालिका अन्तरगतका वडा कार्यालयहरुबाट भूमिहिन दलित, भूमिहिन सुकुम्बासी ५ जना र अव्यवस्थित बसोबासी १०३४ जना गरि कुल १०३९ जनाको निवेदनको लगत संकलन कार्य गरी राष्ट्रिय भूमि आयोगको सफेट्वयेरमा लगत प्रविष्टिको कार्य भई रहेको छ ।
समग्रमा रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष ०७९/८० मा चालु तर्फ रु.४७ करोड १६ लाख ८ हजार ४ सय ४१ र पुँजीगत तर्फ रु.३१ करोड १२ लाख ५५ हजार ५ सय ५८ गरी जम्मा रु.७८ करोड २८ लाख ६४ हजार रहेकोमा चालु तर्फ २७ करोड ७१ लाख २६ हजार ८ सय ६१ (५७.७६ प्रतिशत) खर्च भएको देखिन्छ भने पूजीगत तर्फ ११ करोड ७६ लाख ११ हजार १ सय ८१
(३७.७९ प्रतिशत) खर्च भएको देखिन्छ । चालु र पूँजीगत गरी जम्मा ५०.४२ प्रतिशत प्रगति हासिल भएको देखिन्छ।
अन्त्यमा,
रामेछाप नगरपालिकाले सञ्चालन गर्ने समग्र विकास निर्माणका कार्य लगायत सेवा प्रवाहको अवस्थामा अझ वढि प्रभावकारीता ल्याउन आगामी दिनमा सुधार गर्नु पर्ने विषयहरुमा आम नगरवासी नागरिकहरुबाट अमुल्य एवं रचनात्मक सल्लाह सुझावको अपेक्षा सहित “शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार, समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार” भन्ने रामेछाप नगरपालिकाको ११ औं नगरसभाले लिएको संकल्पलाई यथार्थमा रुपान्तरण गर्ने अभियानमा समस्त नगरवासीहरु हातेमालो गर्दै एक साथ अघि बढौ र रामेछाप नगरपालिकालाई समृद्धितर्फ लैजान सकौ ।
आफ्नो प्रतिकृया दिनुहोस्