बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भएर जेठ ६ गते कार्यभार सम्हालेका जनप्रतिनिधिको सय दिन पूरा भएको छ । सय दिनलाई ‘हनिमुन पिरियड’ पनि भन्ने गर्छन् । यो सय दिनको ‘हनिमुन पिरियड’ मा स्थानीय जनप्रतिनिधि आफूले मात्रै हनिमुन मनाएकी जनताको काम पनि सुरु गरेत ? हामीले सय दिनको सेरोफेरोमा रहेर रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतलाई सोधेका छौँ । सय दिनमा के–के काम गर्नुभयो र आगामी पाँच वर्षको लागि कस्तो खाका तयार पार्नु भयो ? प्रस्तुत छ गाउँपालिका अध्यक्ष केशव महतसँग गरिएको कुराकानीको सम्पादित कुराकानीः
तपाई निर्वाचित भएको सय दिन पूरा भइसकेको छ, यो सय दिन कसरी बिताउनुभयो ?
मुलुकमा संघीयता आएसँगै स्थापना भएका स्थानीय तहबाट सेवा लिन थालेको पाँच वर्ष पूरा भएको भएपनि सेवा दिने ठाउँमा म पुगेको बल्ल सय दिन भएको छ । यो सय दिनको करिब ६० दिन जति त हामी अन्यौलमै रहयौँ । त्यो ६० दिनमा हामीले स्थानीय तह के हो, स्थानीय तहले जनतालाई दिने सेवा के–के हुन् ? शासन शैली कस्तो छ ? भनेर बुझ्ने र अघिल्लो सरकारहरुले गरेका कामहरु भन्दा हामी फरक गर्न सक्छौँ कि सक्दैनाउ भनेर समिक्षा गर्यौँ । समिक्षासँगै विद्यमान ऐन कानुनले गरेको व्यवस्था, त्यसलाई पालना गर्नु पर्ने हाम्रो जिम्मेवारी र आमनागरिकलाई सेवा प्रवहा गर्दा ऐन कानुको अधिनमा रहेर कसरी सेवा प्रवाह गर्न सकिन्छ भनेर विभिन्न तालिम, सेमिनर र गोष्टीहरुबाट बुझ्ने प्रयास गर्यौँ । जुन कामको लागि राज्यको विभिन्न निकाय र विभिन्न संघसंस्थाको हामीलाई साथ रहयो ।
कार्यभार सम्हालेको केही हप्ता भित्रै अघिल्लो सरकारले विनियोजन गरेका योजनाहरु सम्पन्न गरेर रकम भुक्तानी दिने अवस्थामा थिए । ति योजनाहरु भुक्तानी दिन योग्य छन् कि छैनन् भनेर गाउँपालिकाले अनुगमन समिति बनाएर अनुगमन गरे पश्चात मात्रै उपयुक्त योजनाहको भुक्तानी दिने काम गर्यौँ । त्यस्तै सम्झौता नभएका केही योजनाहरु सम्झौता गर्यौँ । जुन योजना पालिकावासीको लागि अत्यान्तै आवश्यक थिए । जस्तै हिलाम्मे अवस्थामा रहेको धोवी बजार क्षेत्रलाई तत्काल ब्यवस्थापन गर्ने, चरम खानेपानीको समस्याबाट ग्रसित रहेका बजारबासीलाई एक घर एक धारा निर्माण गरी खानेपानीको सहज पहुँच पुर्याउने, बाढीपहिरोबाट क्षति भएका सडकलाई मर्मत गर्ने लगायतका कामलाई तत्काल सम्पन्न गर्न कानुन बनाएर अगाडि बढ्यौँ । त्यस्तै कानुन बनाएर शिक्षालाई तत्काल सुधार गर्ने, न्यायिक समिति गठन गरेर स्थानीय न्यायिक समितिबाट केही बिबादहरु मिलाउने, हलेदे–कटहरे हुँदै धोवी जाने पाँच किलोमिटर सडकलाई पुर्वाधार विकास कार्यक्रमबाट स्टमेट गराएर प्रदेश सरकारमा पठाउने काम लगायतका धेरै कामहरु गर्यौँ ।
जस्तो यहाँले सय दिनमा गरेका काम मध्ये विगतका कामहरुलाई पनि हेर्ने काम गर्ययौँ भन्नुभयो । कानुन अभावमा नागरिकले मात्रै हैन, जनप्रतिनिधिले पनि दुःख झेल्नु परेको थियो । के कानुन नै बनेका रहेनछ अहिले सम्म ?
तपाइले भने जस्तै धेरै कानुन बनेका छैनन् । बनेका केही कानुन पनि अहिले सम्म कार्यन्वयनमा आएका छैनन् । धेरै अगाडि बनेका कानुन भएकाले संसोधन गरेर कार्यन्वयनमा ल्याउनु पर्ने जिम्मेवारी पनि हामीलाई नै आएको छ । कानुन अभावकै कारण लिखुतामाकोशी गाउँपालिकाका आम नागरिकले विगत पाँच वर्ष देखि दुःख पाइरहेका छन् । हामीले यो एक सय दिनको अवधिमा बन्न बाँकी कानुनको संख्या यकिन गरेका छौँ । अब आवश्यक सबै कानुन बनाउँदै नागरिकका समस्यालाई कानुनमा टेकेर गाउँपालिकामा सुशासन कायम गर्ने गरी काम अगाडि बनाउने योजना पनि बनाए छौँ ।
सय दिनको अवधि चाहि काम बुझ्ने, भएका कामलाई निरन्तरता दिने, विगतको समिक्षा गर्ने र भविष्यको योजना बनाउने समय पनि भन्छन, तपाइले आगामी पाँच वर्षे योजनाको कस्तो खाका तयार गर्नुभएको छ ?
विगतलाई फर्केर हेर्दा लिखुतामाकोशी गाउँपालिका मात्रै हैन धेरै जसो स्थानीय तहमा स्थानीय राजनीतिक दलहरुसँग सहकार्य र समन्वय नगरी जनप्रतिनिधिहरु अगाडि बढेको हामीले पायौँ । तर, हामीले त्यसलाई निरन्तरता दिएनौँ बरु गाउँपालिकाको समग्र विकासको लागि पालिका स्तरीय राजनीनितक दल, स्थानीय बुद्धीजिवीहरु, विज्ञहरुसँग बसेर पटक–पटक छलफल गरेका छौँ । जसले लिखुतामाकोशी गाउँपालिकाको समस्याहरू मात्रै पहिचान भएका छैनन् एउटा विकासको खाका पनि तयार भएको छ र हामीले आउँदो पाँच वर्षमा यिनै योजनालाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौँ ।
हामी महत्वकांक्षी भएर गर्न नसकिने र जनतालाई झुक्याउने खालका योजनाहरू ल्याउँदनौ भनेर बाचा गरेका छौँ । जनप्रतिनिधिको प्रचार गर्नको लागि प्रचार मुखी योजना पनि हामीले आउँदो पाँच वर्षमा नल्याउने प्रण गरेका छौँ । खासगरी हामीले अबको पाँच भित्र प्रत्येक वडाका केन्द्रहरुमा सहज रुपमा यातायात पुर्याउने प्रमुख लक्ष्य राखेका छौँ । गाउँपालिकाबाट प्रवाह हुने सामन्य भन्दा सामन्य योजनाहरुलाई स्पष्ट रुपमा कसरी कार्यन्वयन गर्न सकिन्छ, जनतालाई दिने सेवा र सुविधामा कसरी पारदर्शिता बनाउन सकिन्छ लगायतका कुराहरुलाई प्राथमिकतामा राखेर हामी काम गर्ने छौँ । यि बाहेक एउटा नागरिकलाई राज्यले दिने सम्पूर्ण सेवा सुविधालाई सहज रुपमा दिने प्रयास हाम्रो रहने छ ।
विगतलाई हेर्दा जनप्रतिनिधिको आन्तरिक विवाद वा विभिन्न कारणले कर्मचारीले आफ्नो जिम्मेवारी अनुसार काम गर्न पाएनन्, जसको कारण जनताले सेवा पनि पाएनन् दरबन्दीमा भएका कर्मचारी पनि आउन मानेन् । अहिले कसरी व्यवस्थापन गर्नुभएको छ ?
राज्यका जुनसुकै निकाय भएपनि स्थायी सरकार भनेकै कर्मचारी नै हो । कर्मचारी र जनप्रतिनिधिहरुको बीचमा अत्यन्तै अन्योन्याश्रित सम्बन्ध हुनु पर्छ । एकले अर्कालाई असाध्यै विश्वास गरेर अगाडि बढ्नु पर्छ । विगतका दिनहरुमा लिखुतामाकोशी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच जे भनेर बजारमा कुरा सुनियो मलाई पनि थाहा भएको कुरा त्यति हो । उहाँहरुको असामन्जस्यताले गर्दा लिखुतामाकोशी गाउँपालिका जसरी संचालन हुनुपर्दथ्यो त्यो भएन भन्ने आम मानिसहरुको जुन गुनासो छ मेरो पनि त्यहि गुनासो हो । तर, यो पछिल्लो समयमा म निर्वाचित भएर आएपछि मैले पहिलो काम प्रमुख प्रशासकीय अधिकृतसँग सल्लाह गरेर नेपाल सरकारका ऐन–कानुनको अधिनमा रहेर कर्मचारी व्यवस्थापन गर्ने कामको सुरु गरीसकेको छु । यसरी व्यवस्थाप गरिएका कर्मचारीहरुलाई कसरी प्रोत्सहान गर्ने र आफ्नो कार्यक्षेत्रमा काम गर्दा कर्मचारीहरुलाई म सुरक्षित छु भन्ने महसुस गराउने योजना हामीले ल्याएका छौँ । सँगै कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्धलाई नजिक बनाएर लिखुतामाकोशीलाई थोरै भए पनि समृद्ध पालिका बनाउने सोचका साथ हामी अगाडि बढेका छौँ ।
देशकै एउटा समस्याको रुपमा रहेको नीति तथा कार्यक्रम र बजेट समयमै ल्याउने तर, कार्यन्वयन चाहि असार अन्तिममा मात्रै हुने पद्धतीलाई टुटाउने कुनै योजना पनि अगाडि सार्नु भएको छ कि ? पुरानै शैलीमा काम गर्ने सोच बनाउनु भएको छ ?
तपाइले भने जस्तै असार मसान्तमा मात्रै काम सम्पन्न गरेर भुक्तानी लिने काम मुलककै समस्याको रुपमा छ । यसलाई लिखुतामाकोशी गाउँपालिकाले मात्रै सुधारेर लान्छु भनेर दावा गर्न मैले सायद सक्दिन होला । तर, पहिलाको जस्तै असारमा मात्रै काम सक्ने र भुक्तानी दिने जुन प्रवृत्ति छ यसलाई कम गर्ने प्रयास गर्ने छु म । त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर हामीले छलफलहरु गरीरहेका छौँ । त्यो कम गर्ने प्रयासको लागि हामीले एउटा निश्चित रकमको योजनालाई उपभोक्ता समिति मार्फत गराउने र एउटा निश्चित रकमको योजनालाई बोलपत्र र दरभाउपत्र मार्फत गरेर सकेसम्म चौमासिक रुपमा बजेट खर्च गर्दै जाने योजना छ । असारे भुक्तानीको प्रवृत्तिलाई समाप्त नै पार्छु त भन्दिन तर, हरेक वर्ष कम्तिमा पाँच देखि दश प्रतिशतका दरले कम गर्दै लगेर मेरो अन्तिम कार्यकालमा ७५ प्रतिशत सम्म यो प्रवृत्ति घटाउछु भन्ने योजना चाहि मैले बनाएको छु ।
अध्यक्ष ज्यू तपाइले यो सय दिनमा धेरै कामको सुरुवात र आगामी पाँच वर्षमा गरिने मुख्य मुख्य योजनाहरु अगाडि नै बताइ सक्नु भएको छ । अब सुशासनमैत्री गाउँपालिका बनाउनको लागि कस्ले के भूमिका गरिदिए हुन्थ्यो भन्नु हुन्छ ?
सुशासन कायम गर्नको लागि चाहि राजनीनिककर्मी, जनप्रतिनिधि र कर्मचारीहरु इमन्दार हुनुपर्यो, पारदर्शी हुनुपर्यो, जबाफदेही हुनुपर्यो र आम नागरिकलाई दिने सेवा दिदाँ ढाँट्न भएन् । जे दिन सकिन्छ त्यो मात्रै भन्नु पर्यो वा गर्न सकिने काम मात्रै गर्छु भन्नु पर्यो । माथि उल्लेखित केही कुरा मात्रै गर्न सकेको खण्डमा पनि लिखुतामाकोशी गाउँपालिकामा सुशासनको केही सुरुवात हुन्छ । सुशासन कायम गर्नको लागि एउटा गाउँपालिका अध्यक्ष मात्रै लागेर पटक्कै हुँदैन् । हामीले एउटा गाउँपालिकालाई सुशासनमैत्री बनाउनको लागि लिखुतामाकोशीका सबै जनप्रतिनिधिहरू, सबै राजनीतिक दलका नेताहरू, नागरिक समाजका साथीहरू, शिक्षकहरु, बुद्धिजीवी र आम नागरिकहरु आ–आफ्नो ठाउँबाट लाग्नु पर्यो । विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरुले आफ्नो जिम्मेवारीलाई पूरा गर्नु पर्यो । जस्तो कि शिक्षकले विद्यार्थीलाई राम्रोसँग पढाउनु पर्यो, स्वास्थ्यकर्मीले विरामीलाई समयमै सेवा दिनुपर्यो, सामाजिक अभियान्तले निष्पक्ष भएर सामाजिक सेवा गर्नु पर्यो र राजनीतिककर्मीले राजनीनितक पूर्वाग्रह नराखी विकास निर्माणमा जनताको साथमा रहनुपर्यो ।
अध्यक्ष ज्यू हामी अन्तिममा छौँ, लिखुतामाकोशीवासीलाई केही भन्नु छ ?
म निर्वाचित भएर आएको करिव साँढे तीन महिना भयो । योे अवधिमा लिखुतामाकोशी गाउँपालिकालाई विकासमा अगाडि बढाउने क्रममा साथ सहयोग दिनुहुने सम्पूर्ण जनप्रतिनिधि साथीहरू, सबै राजनीनितक दलका नेताहरू, शिक्षकहरू, बुद्धिजीवीहरू, लिखुतामाकोशी गाउँपालिकाका सम्पूर्ण राष्ट्रसेवाक कर्मचारी साथीहरू लगायत लिखुतामाकोशीलाई समृद्ध बनाउनु पर्छ भनेर लिखुतामाकोशी भन्दा बाहिर बसेत पनि यहाँको चिन्ता गरेर सुझाव दिनुहुने सम्पूर्ण मित्रहरु र आम नागरिकहरूले जसरी साथ दिइरहनुभएको छ यो साथ आगामी पाँच वर्ष सम्म रहने अपेक्षा राख्दै यहाँहरुको सेवामा म सधैं तल्लिन रहने बाचा गर्दछु । धन्यबाद !
आफ्नो प्रतिकृया दिनुहोस्