रामेछाप– देशमा संघीयता स्थापना भएपछि पहिलो पटक स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पूरा हुन लागेको छ । अर्थात पाँच वर्ष अघि २०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लागेको छ ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनु भन्दा दुई महिना अगाडि नै निर्वाचन गराउनु पर्ने कानूनी व्यवस्था अनुसार निर्वाचन आयोगले घोषणा गरेको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु २०७४ को निर्वाचनमा आफूले जितेको सहित अर्को पार्टीले जितको स्थानीय तहमा समेत जित निकाल्ने तयारीमा लागेका छन् ।
जनताको घरआगनको सरकार भनेर चिनिएको स्थानीय तहमा जसरी पनि आफ्नो पार्टीको नेतृत्व लिन यो चुनावमा राजनीतिक दलहरु एक्ला एक्लै भन्दा पनि विभिन्न पार्टीहरु बीच चुनावी तालमेल गरेर जाने तयारीमा रहेका छन् । त्यस्तो तालमेल महानगरपालिका देखि गाउँपालिकाको वडा सम्ममा गर्ने तयारीमा राजनीतिक दलहरु लागेका छन् ।
विषेश गरी अहिले सत्ता साझेदार दलहरु पाँच दलिय गठबन्धन बनाएर चुनावमा जाने तयारीमा लागेका छन् भने सत्ता बाहिर रहेका दलहरु पनि एक अर्कालाई सहयोग गरेर जाने तयारीमा जुटेका छन् ।
रामेछाप जिल्लामा पनि सत्ता साझेदार दलहरु बैशाख ३० गतेको निर्वाचनमा तालमेल गरेर जाने निर्णयमा पुगेका छन् । ८ स्थानीयत तह रहेको रामेछापमा गठबन्धनमा रहेका दलहरुले पालिका देखि वडा तह सम्म सिट बाँडफाडको लागि बैठक बसेर छलफल गरीरहेका छन् भने नेकपा एमाले सहित अन्य दलहरु अ–आफ्नो उम्मेद्वारहरु टुङ्ग्याउने तयारीमा जुटेका छन् ।
जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा २०७४ को निर्वाचनमा नगर प्रमुख, उपप्रमुख सहित पाँच ओटा वडा जितेको नेकपा एमाले आफ्नो विरासतलाई जोगाउन विभिन्न चुनावी रणनीति बनाएर लागेको छ । नेकपा एमाले पनि कमल थापाले नेतृत्व गरेको राप्रप नेपालसँग तालमेल गरेर चुनाव लड्ने निर्णयमा पुगेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला संविधान नै समाप्त पार्ने गरी दुई /दुई पटक संसद विघटन गर्ने पार्टी नेकपा एमालेलाई जसरी पनि सडकमा पु¥याउनु पर्छ भन्दै गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा सहित पाँच दल एमालेलाई पराजित गरेर मन्थली नगरपालिको प्रमुख, उपप्रमुख, वडाध्यक्ष देखि वडा सदस्य सम्म आफै लिने पक्षमा छन् । तर सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाहरु बाँडफाड गठबन्धन भित्र निकै समस्या हुने देखिन्छ ।
प्रमुख र उपप्रमुखमा यस्तो थियो २०७४ को मत परिणाम
२०७४ को निर्वाचनमा नेकपा एमाले प्रमुख, उपप्रमुख र पाँच ओटा वडा जितेको थियो । नेकपा एमालेबाट उम्मेद्वार भएका रमेश कुमार बस्नेतले ६ हजार ५ सय २९ मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद कार्कीले ५ हजार ३ सय ७९ मत लाएका थिए । माओवादीका उम्मेद्वार तारानारयण श्रेष्ठले ५ हजार ३ सय ११ मत ल्याएका थिए । एमालेबाट निर्वाचित रमेश कुमार बस्नेत अहिले एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा रहेका छन् ।
उपप्रमुखमा पनि नेकपा एमालेबाटै उम्मेद्वार रहेकी माया कुमारी कार्कीले ६ हजार ५ सय ७ मत ल्याएर जितेकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी गंगा अधिकारीले ५ हजार ३ सय ६२ मत ल्याएकी थिइन् । त्यस्तै माओवादी केन्द्रकी उम्मेद्वार रितादेवी घिमिरेले ४ हजार ९ सय ९४ मत ल्याएकी थिइन् भने राप्रपबाट उम्मेद्वार बनेकी रिता माझीले ८ सय ५४ मत ल्याएकी थिइन् ।
२०७४ को निर्वाचन मा १४ वटा वडाको अवस्था यस्तो थियो
१४ वटा वडा रहेको मन्थली नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ५, नेकपा माओवदी केन्द्रले ५, नेपाली काँग्रेसले ३ र राप्रपले १ वटा वडा जितेका थिए ।
वडा नं १ मा माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ, वडा नं २ मा नेपाली काँग्रेसका तरणी शंकर अधिकारी, वडा नं ३ मा नेपाली काँग्रेसका केशव रोका, वडा नं ४ मा माओवादी केन्द्रका विरेन्द्र कुमार बज्राचार्य, वडा नं ५ मा माओवादी केन्द्रका राम बहादुर कार्की, वडा नं ६ मा नेकपा एमालेका गोपाल माझी, वडा नं ७ मा नेकपा एमालेका सुदर्शन प्रसाई, वडा नं ८ मा नेकपा एमालेका राजकुमार श्रेष्ठ, वडा नं ९ मा नेपाली काँग्रेसका बुद्धि बहादुर पुलामीमगर, वडा नं १० मा नेकपा माओवादी केन्द्रबाका भरत बहादुर बोहरा, वडा नं ११ नेकपा माओवादी केन्द्रका भिम बहादुर मगर, वडा नं १२ मा नेकपा एमालेका कृष्णहरी अधिकारी, वडा नं १३ मा नेकपा एमालेका राजेन्द्र चौहन र वडा नं १४ मा राप्रपका भरत सिं वाइबा निर्वाचित भएका थिए । वडा नं १४ मा राप्रपले नेकपा माओवादी केन्द्रसँग तालमेल गरे जितेको थियो ।
एमालेले जितेको ४ वटा वडमा काँग्रेस दोस्रो, माओवादी तस्रो
गएको स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार नेकपा एमालेले जित हासिल गरेको ४ वटा वडामा काँग्रेस दोस्रो र माओवादी तेस्रो भएको थियो । त्यस्तै एमालेले जितेको एउटा वडामा माओवादी केन्द्र दोस्रो र नेपाली काँग्रेस तेस्रो भएको थियो । एमाले जितेको मन्थली नगरपालिकाको वडा नं ६, वडा नं ८, वडा नं १२ र वडा नं १३ मा काँग्रेस दोस्रो भएको थियो । त्यस्तै एमालेले नै जितेको वडा नं ७ मा भने माओवादी दोस्रो र काँग्रेस तेस्रो भएको थियो ।
केन्द्रीय गठबन्धनको निर्णय अनुसार सिट विभाजन भए नगर प्रमुख नेकपा एकीकृत समाजवादीले पाउने
केन्द्रीय गठबन्धनको निर्णय अनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेका जनप्रतिनिधिलाई यसै अनुसार मान्ने भन्ने बुँदा अनुसार मन्थली नगरपालिकाको प्रमुख नेकपा एकीकृत समाजवादीले पाउने छ । किन भने एमालेबाट निर्वाचित नगर प्रमुख एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी मै रहेका छन् । उपप्रमुख भने गठबन्धन भित्र पहिलो मत रहेको नेपाली काँग्रेसले पाउने आधार देखिन्छ ।
केन्द्रीय गठबन्धनको निर्णय अनुसार सिट बाँडफाड भयो भने काँग्रेसलाई फाइदा हुने संकेत
गठबन्धनको केन्द्रको निर्णय अनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा दलका उम्मेद्वारहरुले पालिका र वडामा प्राप्त मतको मत भार, गठबन्धनका दलहरुको संगठनत्माक अवस्था र जनसमर्थन समेतलाई आधार मानेर सिट बाँडफाड भयो भने २०७९ को स्थानीय तहको निर्वाचनमा मन्थलीका १४ वटा वडामा काँग्रेसलाई बढी फाइदा हुने संकेत देखिएको छ । एमालेले जितेका ४ वटा वडामा मतभारको हिसाब गर्दा काँग्रेस गठबन्धन भित्र पहिलो दल रहेकाले काँग्रेसले यस अघि जितेका ३ वडा सहित बढी मत भार भएका चार वटा वडा पायो भने काँग्रेस पहिलो हुने देखिन्छ । गठबन्धनको केन्द्रिय निर्णय अनुसार तालमेल भयो भने ३ वटा वडामा सिमित भएको काँग्रेसले ७ वटा जित्ने संकेत देखिन्छ ।
गठबन्धन भित्र दोस्रो अवस्थामा रहेको माओवादीलाई पनि अघिल्लो निर्वाचनमा जितेका ५ वटा वडा र गबन्धन भित्र बढी मतभार भएको एउटा वडामा जित्यो भने माओवादी केन्द्रले मन्थली नगरपालिकामा ६ वटा वडामा जित हासिल गर्ने देखिन्छ ।
तर केन्द्रीय गठबन्धनको निर्णय अनुसार एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई मुख्य शक्तीका रुपमा मानेर जाने भनेकाले एमालेले जितेका पाँच वटा वडा र अन्य वडामा पनि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले भाग खोज्ने हुँदा काँग्रेस र माओवादीले दावी गरेको केही वडा गुम्ने निश्चि छ ।
गठबन्धनमा रहेको पाँच दलले रामेछापमा पनि केन्द्रीय नीति अनुसार तालमेल गरेर बैशाख ३० को निर्वाचनमा जाने भन्ने निर्णय गरेको भएपनि त्यसपछि गठबन्धन भित्रका दलहरुले तालमेलका विश्वासिलो वातावरण बनाउन सकेका छैनन् ।
आफ्नो प्रतिकृया दिनुहोस्