हजारौ रोपनी जग्गा बगरमा परिणत, दर्जनौ घरपरिवार विस्थापित, कतिले ज्यान गुमाए तर, सरकारसँग छैन नियन्त्रण गर्ने दीगो आधार
रामेछाप– जिल्लाकै सबै भन्दा ठूलो पहिरको रुपमा रहेको घ्याप्चेको सुख्खा पहिरो खस्न थालेको करिव ७ दशक पुग्न लागेको छ । विक्रम संवत २०११ सालमा सात दशक यताकै सबै भन्दा (स्थानीको भनाई अनुसार) धेरै वर्षा भएको कारण जमिन फाटेर झर्न सुरु गरेको घ्याप्चेको सुख्खा पहिरो अहिले पनि हिउँदा याम र वर्षायाममा निरन्तर खसीरहेको छ । यहि सुख्खा पहिरको कारण लिखुतामाकोशी गाउँपालिकाको वडा नं ३ को समेत जमिन कटन भइसकेको छ । घ्याप्चेकै शिरमा मुहान भएको रणजोर खोलाले सुख्खा पहिरोबाट झरेको ढुंगा–माटो बगाएर ल्याउँदा मन्थली नगरपालिकाको वडा नं १, ३, ४ र ५ का सयौँ रोपनी खेतीयोग्य जमिन पुरिएर बगरमा परिणत भएको छ । पहिरो झरेपछि रणजोर खोलामा आउने बाढीले मन्थलीका ४ ओटा वडामा (१, ३, ४ र ५) रहेका दर्जनौ बस्तीहरु विस्थापित भएका छन् भने सात दशकको समयमा तीन जना मानिसको ज्यान गइरसकेको तथ्यांक छ । यो बीचमा पहिरो नियन्त्रणको लागि केहि अध्ययनहरु भएर करोडौ खर्चेर केही काम गर्न सुरु गरिएको भएपनि त्यसको परिणाम अहिले केही पनि देखिदैन् । रणजोरको शिरमा पहिरो निरन्तर गइरहन्छ, पानी परेको बेला ढुंगा–माटो सहितको लेदो खोलो आउँदा रणजोर खोला आसपास बस्ने स्थानीयहरु घर छोडेर हिड्न बाध्य भइरहेका छन् ।
चुनाव ताका सबै राजनीतिक दलको रणजोर नियन्त्रण गर्ने मुख्य नारा बन्ने गरेपनि स्थानीय तहदेखि केन्द्रमा निर्वाचित भएर सरकार संचालनमा समेत पुगेका जनप्रतिनिधिहरुले अहिले सम्म पहिरो नियन्त्रणको लागि दीगो योजना बनाएका छैनन् । जसको कारण अहिले पहिरो पीडित आम नागरिकले देशमा सरकार भएर पनि आफूहरुका लागि सरकार नभएको महसुस गर्न थालेका छन् ।
साँढे ६ हजार रोपनी जग्गामा क्षति
सात दशकको अवधिमा घ्याप्चेको पहिरोले रणजोर खोलाको शिर देखि तामाकोशी नदीको किनार सम्म आइपुग्दा करिव साँढे ६ हजार रोपनी जग्गामा क्षति पुर्याएको छ । जसमा घ्याप्चेको पहिरो झर्ने लिखुतामाकोशी गाउँपालिकाको वडा नं ३, मन्थली नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा हाल सम्म करिव एक हजार दुई सय रोपनी जमिनमा सुख्खा पहिरो झरिरहेको छ भने घ्याप्चेको पहिरोबाट झरेको ढुंगा–माटो वर्षायाममा रणजोर खोलाले बगाएर ल्याउँदा मन्थली नगरपालिकाको वडा नं. १, ३, ४ र ५ को खोला किनार आसपास भएका निजी तथा सार्वजनिक गरी पाँच हजार ३ सय रोपनी जमिनमा क्षति पुगेको छ । २०११ साल देखि सुख्खा रुपमा झर्न थालेको पहिलरो झर्ने क्रम अहिले सम्म नरोकिएको मन्थली–३ का आकाश भट्टराइले बताए । सात दशकदेखि निरन्तर झरीरहेको पहिरो नियन्त्रणको लागि सरकारले कुनै पनि दीगो योजना नबनाएको कारण रणजोर खोला आसपास रहेका हजारौ रोपनी जग्गा बगरमा परिणत हुनुको साथै कल्पना नै नगरेको मानविय क्षति हुने निश्चित रहेको भट्टराइको भनाई रहेको छ ।
पहिरोको कारण सबै भन्दा बढी जमिन मन्थली नगरपालिकाको वडा नं ४ सालुमा क्षति पुर्याएको वडाध्यक्ष विरेन्द्र बज्राचार्यले बताए । उनका अनुसार पहिरो सुरु भएको ठाउँ देखि रणजोर खोला किनार सम्ममा करिव २ हजार रोपनी जमिन बगरमा परिणत भएको छ । अहिले सम्म पहिरो रोकथामको दीगो आधार नहुँदा आउदा वर्षहरुमा हजारौ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत हुने निश्चित रहेको मन्थली–४ का स्थानीय लक्ष्मण कुमार घिमिरेले बताए ।
त्यस्तै मन्थली–३ कठजोरमा पनि घ्याप्चेबाट पहिरो खसेकै कारण रणजोर खोलामा आउने बाढीले १३ सय रोपनी भन्दा बढी जमिनमा क्षति पुर्याइसकेको छ । विगत देखि ढुंगा–माटोले भरिएको लेदो सहितको बाढी आउने क्रम अहिले पनि निरन्तर रहेकाले भविष्यमा त्यो भन्दा बढी जमिनमा क्षति पुग्न सक्ने वडाध्यक्ष केसब रोक्का बताउँछन् । मन्थली–५ सुनारपानीमा पनि खोलाले बगाएर ल्याएको ढुंगा–माटोले एक हजार रोपनी भन्दा बढी जमिन उब्जाउन नहुने गरी पुरीसकेको र त्यो अहिले पनि निरन्तर रहेको वडाध्यक्ष राम बहादुर कार्कीले बताए । रणजोर खोलामा बर्सेनी आइरहेको बाढी भविष्यमा झन बढ्न सक्ने भएकाले हजारौ रोपनी जमिन क्षति हुने उच्च जोखिममा रहेको मन्थली–५ का पहिरो पीडित सुमन्त कुमार कार्कीले बताए ।
अन्य वडाको तुलनामा मन्थली–१ को रणजोर खोला किनारको जमिनमा कम क्षति गरेको भएपनि करिव ९ सय रोपनी जमिनमा ढुंगा–माटो थुप्रेर खोलाको सतह नै सुरुको अवस्था भन्दा ४ मिटरको हाराहारीमा माथी उठेको छ । जसले गर्दा निजी र सार्वजनिक गरी करिव ९ सय रोपनी जमिनमा अहिले घ्याप्चेबाट आएको माटोले भरिएको छ । जिल्लाकै सदरमुकाम समेत रहेको वडा नं १ मन्थलीमा खोतीयोग्य जमिन र बस्ती बसाउन योग्य जमिन खोलाले पुर्दै लगेपछि सदरमुकाम पनि उच्च जोखिममा रहेको स्थानीय कुमार श्रेष्ठले बताए ।
पहिरोले ४० घर विस्थापित
घ्याप्चेको पहिरो झर्न थालेपछि घ्याप्चेकै शिर मुहान रहेको रणजोर खोलामा ढुंगा–माटोको लेदो सहित आएको रणजोर खोलाले हाल सम्म मन्थली नगरपालिका भित्रका ४० घर परिवारलाई विस्थापित पारेको छ । वर्षेनी आउने खोलाले जमिनसँगै घरमा क्षति पुर्याउन थालेपछि खोला किनार आसपास बस्ने स्थानीयहरुले क्षति पुर्याएको घर छोडेर परिवारसहित अर्को ठाउँमा बसाई सारेका छन् ।
पहिरोको कारण सबै भन्दा बढी क्षति पुगेको मन्थली–४ सालुमा ३४ घर विस्थापित भइसकेका छन् । उनिहरु मध्ये २० घरपरिवार विभिन्न समयमा घर छोडेर अर्को ठाउँमा गएको र १४ घरपरिवारलाई २०७२ को भूकम्प पछि पुर्नस्थापना गरेर अर्को ठाउँमा सारिएको छ । हाल सम्म ३४ घरपरिवार विस्थापित भइसकेकाले अझै सालुको गैराथोकमा करिव २ सय घर जोखिममा तत्काल सुरक्षित ठाउँमा नसारे अरबौको क्षति हुने अवस्था रहेको सालुका स्थानीय राजन घिमिरेले बताए ।
२०६० सालमा रणजोर खोलामा बाढी आउँदा आफ्नो घर भएको जमिन चिरा–चिरा परेर फुट्न थालेपछि घर छोडेर हिड्नु परेको मन्थली–३ कठजोरका रमेश घिमिरेले बताए । घिमिरेले भने– ‘२०६० सालमा घ्याप्चेबाट खसेको पहिरो रणजोर खोलाले बगाएर ल्याउँदा हामी बसेको गाउँ नै चिरा–चिरा परेर खोलासँगै बग्ने अवस्थामा पुगेपछि त्यो ठाउँ छोडेर एक किलोमिटर टाढा अर्को जग्गामा घर बनाएर बसेका छौँ । अहिले घरको नामनिसान छैन् ।’ कठजोरको अर्चलेमा सुमन नेपाली, सन्त बहादुर नेपाली, धन बहादुर नेपाली, तिलक बहादुर घिमिरे र सुवास घिमिरे सहितको घर नै खोलाले बगाएसँगै आफ्नो नाममा भएको जमिन पनि खोलामा आएको गेगारनले पुर्दा उनिहरु भूमिहिन नै हुन पुगे । आफ्नो नाममा भएको घर सहित सबै जमिन रणजोर खोलामा आएको बाढीले बगाएपछि स्थानीयको सहयोगमा केही आना जग्गा किनेर उनिहरु बसीरहेका छन् ।
अहिले घर बनाएर बसेको ठाउँमा समेत भविष्यमा खोला आउन सक्ने भएकाले आफूहरु सुरक्षित नभएको दुखेसो पोख्दै आफूहरुको जिम्मा राज्यले लिनु पर्ने भूमिहिन बनेका पहिरो पीडितको माग रहेको छ । कठजोरमा १ सय ३ घर पहिरोको जोखिममा रहेका छन् ।
त्यस्तै रणजोर खोलाको जोखिममा परेको मन्थली–५ सुनारपानीमा पनि केही घर विस्थापित बनाएको छ । पुर्ण रुपमा बसोबास गर्ने घरपरिवार विस्थापित नभएपनि खोला किनारमा जग्गा भएका स्थानीयहरुले खेतीपाती गर्नको लागि अस्थाई रुपमा बनाएका घरटहरा पहिरोले बगाएर लगेको स्थानीय सुमन्त कुमार कार्कीले बताए । अस्थाई रुपमा बनाइएका घरटहरा खोलाले बगाएर लगेपछि बाँकी रहेको खेतमा खेतीपाती गर्नको लागि अहिले समस्या हुने गरेको उनको भनाई रहेको छ । घ्याप्चेको पहिरो नियमित गइरहे र रणजोर खोलाले ढुंगा–माटो बगाएर ल्याइरहने हो भने सुनारपानीका ३० घर भन्दा बढी घरहरु जोखिममा रहेको स्थानीयको भनाई रहेको छ ।
मन्थली–१ मा पहिरो झर्न थालेदेखि हाल सम्म मानिस बसोबास गर्ने घरलाई पूर्ण रुपमा क्षति नगरेपनि सानी मदौ देखि तामाकोशी नदी सम्मको आसपासमा करिव ६० घर जोखिममा रहेका छन् । सधैँभरी झरीरहने घ्याप्चेको पहिरोलाई वर्षादको समयमा रणजोर खोलाले बगाएर ल्याउँदा एक पक्की पुल समेत जोखिममा रहेको छ । वर्षादको समयमा रणजोर खोलामा आएको बाढीका कारण पक्की पुलमुनी रहेको खेतमा वर्षेनी बाढी पस्ने गरेको भएपनि दुई वर्ष देखि छड्के पारेर भरेको ग्याविनका कारण खोला खेतमा नपसेको स्थानीय कुमार श्रेष्ठको दावी रहेको छ ।
लिखुतामाकोशी तिर पनि पहिरो खस्ने जोखिम
२०११ साल देखि मन्थली तर्फ मात्रै निरन्तर झरीरहेको पहिरो निकट भविष्यमा नै लिखुतामाकोशी गाउँपालिकाको वडा नं ३ पट्टीको भागमा पनि झर्न सक्ने संकेत देखिएको छ । २०६१ सालमा भएको ठूलो वर्षामा घ्याप्चेको शिरबाट खसेको पहिरो सहितको लेदो माटो काङ्गबा–फलाटे–जरिङ्गे खोला हुँदै लिखु सम्म पुगेको लिखुतामाकोशी गाउँपालिकाको वडा नं ३ का वडाध्यक्ष यम बहादुर महतले बताए । अहिले पनि मन्थली तिर पहिरो झरीरहेको काङ्गबाको शिरमा जमिन फुटेर धाँजा–धाजा परेको र २०६१ सालको जस्तो पानी पर्ने हो भने यताको क्षेत्रमा समेत असर पार्ने वडाध्यक्ष महतको तर्क रहेको छ । घ्याप्चेको शिरमा झरीरहेको सुख्खा पहिरो लिखुतामाकोशी तर्फ पनि झर्यो सयौँ रोपनी खेतीयोग्य जमिन नष्ट गर्नुको साथै मानविय क्षति समेत गराउने उनले बताए ।
३ जनाको ज्यान गयो
घ्याप्चेको पहिरो जानु पुर्व जुनसुकै बेला पनि सहजै तर्न सकिने रणजोर खोलामा घ्याप्चेको पहिरोबाट बगेर आउने ढुंगा–माटो सहितको खोलाले २०४५ साल देखि २०५४ साल सम्ममा ३ जनको ज्यान लिइसकेको छ । २०४५ सालमा आफ्नो ठुलीआमालाई बाढीले बगाएको तितो अनुभव सुनाउँदै मन्थली–३ कठजोरका आकाश भट्टराइले भने– ‘२०४५ सालमा रणजोर खोलामा आएको बाढीले मेरो ठुलीआमा र आमालाई बगएर केही तर पुर्यायो । कसो–कसो आमा बाच्न सफल हुनु भएपनि ठुलीआमालाई खोलाले ज्यान लिएरै छाड्यो । त्यो कालो दिनलाई म कहिल्यै पनि विर्सन सक्दिन । त्यति मात्रै हैन, २०५१ सालमा एक जना र २०५४ सालमा १ जना गरी हाल सम्म घ्याप्चेबाट झरेको पहिरो कै कारण ३ जनाले ज्यान गुमाउनु पर्यो । रणजोरको शिर घ्याप्चेको पहिरो खस्ने क्षेत्रफल विगतको भन्दा अहिले बढ्दै गएकाले भविष्यमा सयौँ मानिसको ज्यान जाने जोखिम उतिकै छ । पहिरोलाई नियन्त्रण गर्न सकेनौ भने हामीले नसोचेको मानविय क्षति अवश्य बेहोर्नु पर्छ ।’
नेताहरुको लागि सेल्फि खिचाउने ठाउँ बन्यो घ्याप्चे पहिरो
विक्रम संवत् २०११ साल देखि हाल सम्म निरन्तर झरी रहेको घ्याप्चेको पहिरो नियन्त्रणको लागि नारामा सिमित देखिएका राजनीतिक दलका नेताले अहिले सम्म यसलाई दीगो रुपमा समधान गर्ने कुनै योजना नबनाएको कारण पहिरो नियन्त्रणमा आउन नसकेको स्थानीयको आरोप रहेको छ । सत्तामा पुग्नको लागि गाउँमा भोट माग्न आउने राजनीतिक दलका नेताहरुले चुनाव ताका प्राविधिकहरु नै ल्याएर पुरै अध्ययन गरेजसरी पहिरो जानुको कारण देखि नियन्त्रण गर्ने विभिन्न आधारहरु प्रस्तु गर्ने गरेपनि चुनाव जितेर सत्तामा पुगेपछि यो हामीबाट समधान हुन सक्दैन अन्तराष्ट्रिय स्तरको अध्ययन गरेर समधान खोज्नु पर्ने धारणा राख्ने गरेको मन्थली–३ का आकाश भट्टराइले बताए । केही वर्ष देखि पहिरो झरेको हल्ला चल्न साथ केही नेताहरु अनुगमनको लागि भन्दै पहिरो देखिने गरी सेल्फी खिच्न त्यहाँ पुग्ने गरेको तर त्यसको परिणाम केही पनि नभएको भट्टराइले भनाई रहेको छ । अहिले झण्डै साँढे ६ हजार रोपनी जग्गा ढाकेर झरी रहेको पहिरोले भविष्यमा पचासौ हजार रोपनी जग्गा ध्वस्त पार्नुको साथै सयौँ बस्ती पुर्ने सम्भावना रहेकाले पहिरोसँगै रणजोर खोलामा आउने बाढी रोक्न तीनै तहका सरकार लाग्नु पर्ने उनको माग रहेको छ ।
हामीबाट यो समधान हुन सक्दैनः स्थानीय सरकार
नेपालकै ठूला पहिरो भित्र पर्ने घ्याप्चे पहिरो नियन्त्रणको लागि स्थानीय सरकारले मात्रै नसक्ने जनप्रतिनिधिहरुले बताउने गरेका छन् । रणजोर खोला आसपास रहेका खेतीयोग्य जमिनलाई तार जाली मार्फत केही समय सुरक्षा गर्न सकिने भएपनि घ्याप्चेमा खस्दै गरेको पहिरो नियन्त्रणमा स्थानीय सरकारले नसक्ने नगर प्रमुख रमेश कुमार बस्नेतले बताए ।
प्रहार खबर साप्ताहिकमा साउन ३१ गते आइतबार प्रकाशित
आफ्नो प्रतिकृया दिनुहोस्