नेपालको हालको परिप्रेक्ष्यमा दिगो स्वास्थ्य कार्यक्रमहरु र अस्पतालहरु चलाउन सक्नु भनेको ठुलो उपलब्धीका रुपमा मान्नुपर्दछ । अझ रामेछाप जिल्ला जस्तो दुर्गम स्थानमा यो ज्यादै कठिन काम हो । स्वास्थ्य सेवामा लिइने शुल्कहरु साधारणतया कम आयस्तरका जनताहरु भएको ठाउँमा न्युन नै हुनुपर्दछ । अझ बिपन्न र असहायहरुलाइ कित स्वास्थ्य बिमा कार्यक्रमले या सरकारका अन्य कार्यक्रमहरुले सेवा दिने संस्थालेनै ब्यबस्था गर्नु पर्ने हुन्छ ।
प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुले ग्रामिण दुर स्थानमा भएका महिला, बालबालिका, बिद्यार्थीहरु, बृध्दबृध्दाहरुलाई समुदायमा भेट्न जानु ज्यादै जरुरी हुनजान्छ । जसलाइ सजिलै अस्पतालको पसलमा आउन गाह्रो छ । रोग गाउँको कुनाकन्दरामा बस्दछन् । सेवा कुनै बजार या शहरमा केन्द्रित रहन्छन् । स्वास्थ्य संस्थाहरुका लागि तथा सेवा प्रदायकहरुका लागि चाहिने जति काम पुगेको हुन्न तर लगानी भइरहेको हुन्छ । उता रोगी बिकट गाउँका घरहरुमा रोग पालेर बसेका हुन्छन् । त्यसैले पनि गाउँ र बजारका स्वास्थ्य संस्थाहरु दुर्गम गाउँमा पटक–पटक पुग्न जरुरी हुन्छ । रोग भन्दा अस्पताल हिड्नु उत्तम हुन्छ ।
यही समस्याहरुलाइ मध्य नजरमा राखेर झण्डै २२ बर्ष अघि देखि ग्रामिण भेगमा कहिलकाही दुई दिन हिडेर पनि निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना गरिन्थ्यो । यस्ता शिविरहरु सामान्य योजनाबाट संचालित हुन्थे । धेरै जसो शिविरहरु गाउँका क्लबहरुले खाने बस्ने र प्रचार प्रसारको प्रबन्ध गर्दथे । हामी स्वयंसेवक स्वास्थ्यकर्मीहरु लिएर जान्थ्यौं। औषधीहरु औषधी कम्पनीहरुबाट या समुदायले निःशुल्क बन्दोबस्त गर्दथे । अर्काथरि शिविरहरु एनजीओ तथा आईएनजिओहरुले खर्च ब्यबस्था गर्दथे । स्वास्थ्यकर्मीहरुले पारिश्रमिक पनि प्राप्त गर्दथे । यस्तै केही बर्ष निःशुल्क स्वास्थ्य जाँच गरेर औषधीको शुल्क लिएर पनि कुना कन्दरामा भरिया लगाएर यस्ता शिविरहरु गरिए । तर दिगोपना सधै यसको मर्ममा रहन्थ्यो ।
यस्तै मेरो नेतृत्वमा बि.सं २०६० मा रामेछापमा लायन्स क्लबको स्थापना भएपछि सो क्लवको आयोजनामा रामेछाप जिल्लाका ग्रामिण भेगमा स्वास्थ्य शिविरहरुको आयोजना गरिएका थिए । यसमा पनि स्वास्थ्यकर्मीहरु स्वयंसेवी हुन्थे । क्लबले सम्पूर्ण अन्य ब्यबस्था गर्दथ्यो । यी स्वास्थ्य शिविरहरुको मुख्य उदेश्य उपचार भन्दा पनि ग्रामिण जनताहरुमा लक्षणका आधारमा हुनसक्ने सम्भावित रोगहरुको निदानका लागि कहाँ कसरी जानुपर्छ ? सम्भावित रोगहरुको जोखिम केहो ? यसबाट कसरी जोगिन सकिन्छ जस्ता कुराहरुको परामर्श र जागरण गर्न सकिन्थ्यो र कडा भन्दा कडा रोगहरुलाइ चाँडै पत्ता लगाउन सकिन्थ्यो । मन्थलीमा गर्न सकिने निदान र उपचार यही गर्ने, खासगरी पाठेघर झर्ने महिलाहरुको निःशुल्क अपरेशन, माइनर सर्जरीहरु जस्तै हाइडोसिल हर्निया, पाइल्स, शरिरका गाँठागुठी आदि मन्थलीमा सेवा दिइन्छ । मोतियाबिन्दुको निःशुल्क अपरेशन मन्थली र गाउँ गाउँमा समेत गरियो र गरिन्छ । त्यस्तै गाउँ गाउँमा मन्थलीमा भएको भिडियो एक्सरे, इसिजी, रगतमा सुगर जाँच, र भिआइए प्रबिधिबाट पाठेघरको मुखको क्यान्सरको सम्भावना पत्ता लगाउने समेत निःशुल्क रुपमा गरिन्छ ।
पछिल्लो समयमा अन्य बिशेषज्ञ सेवा जस्तै पेटरोग र इण्डोष्कोपी र इण्डोष्कोपिक बायोप्सी, मुटुरोग बिशेषज्ञ, इको र टिएमटि, स्त्रीरोग बिशेषज्ञ, भिआइए र प्याप स्मेयर जाँच, अर्थोओडेन्टिक सहित दाँत रोग बिशेषज्ञ, मृगौला रोग र युरोफ्लोमेट्री, हेमोडायलाइसिस, श्वासप्रश्वास रोग बिशेषज्ञ र स्पाइरोमेट्री, मानसिक रोग परामर्श सहित मानसिक रोग बिशेषज्ञ मन्थलीमानै ब्यबस्था गर्ने जमर्को पनि गरिएको छ ।
लक्षणका आधारमा बिरामीले महसुस गर्न नसकेको तर स्वास्थ्यकर्मीले पत्ता लगाउन सकिने धेरै जटिल रोगहरुको उत्खनन ती संचालित गाउँ र अस्पतालका शिविरहरुबाट हुन्छन् । खासगरी महिलाहरुको पाठेघर झर्ने रोग पत्ता लगाएर मन्थलीमा निःशुल्क अपरेशन गरेर महिलाहरुलाई नयाँ जीवन प्रदान गर्न र मोतियाबिन्दुको अपरेशन गरेर अन्धोपन घटाउन यस्ता शिविरहरुको धेरै महत्व थियो र छ ।
यसपछि दिगो सामुदायिक स्वास्थ्यका कार्यक्रमहरु चलाउन बि.सं २०६६ साल देखि जर्मन रोटरी भोलन्टियर डाक्टर्सहरुको संस्थाले सरसामान र प्राबिधिक सहयोगहरु उपलब्ध गराउदै आयो । यस्तै रुरल एसिस्टेण्ट नेपाल, युके, हेक्सन नेपाल, युके, द लिटिल थिंग्स, पल्मोनरी हाइपरटेन्सन ,नेपाल, रोटरी क्लव काभ्रे बनेपा, धुलिखेल, जाउलाखेलको सहयोगमा स्वयंसेवी कार्यक्रम, सामग्रीहरु र प्राबिधिक सहयोगहरुले धेरै टेवा पुर्याएको छ । यस अन्तर्गत निम्न कार्यहरु हुन्छन् ः
१. ग्रामिण बस्तीमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गर्ने यसको सबैभन्दा लोकप्रिय र दिगो कायक्रम हो । यसमा समुदायले शिविरका लागि माग गर्दछन् । स्थानको ब्यबस्था गर्दछन् । कुनै समुदायले खाना र बस्ने बन्दोबस्त गर्दछन् र शिविरको प्रचार प्रसार गर्दछन् । यातायातका लागि जर्मन रोटरी भोलन्टियर्स डाक्टरले जीपको बन्दोबस्त गरेको छ । उनीहरु पनि सेवा प्रदान गर्न जान्छन् । रुरल एसिष्टेण्ट नेपालका स्वयंसेवीहरुले यसमा लाग्ने तेल खर्च, जीपको मर्मत, स्वास्थ्यकर्मीको न्युनतम पारिश्रमिक लगायतका कुराहरु जुटाउदछन् । स्वयंसेवीहरुले गेष्टहाउसको शुल्क बुझाउदछन् र आफु पनि स्वयंसेवा गर्दछन् । यसरी गरिएका स्वास्थ्य शिविरहरुका उदाहरणका लागि बि.सं २०६९ देखि र खासगरि बि.सं २०७२ को भूकम्पपछि ३ बर्षमा भूकम्पका कारणले देखिएका स्वास्थ्य समस्याहरु घटाउन र राहत सामग्री बितरण गर्न २०७५ सम्म जम्मा ७० बटा स्वास्थ्य शिविरहरु भएछन् । यी शिविरहरु सिन्धुली, ओखल्ढुंगा, दोलखा जिल्लाहरुमा पनि सन्चालन गरिएका थिए । जसमा रोटरी क्लव धुलिखेलले ३० शिविरहरुका लागि सहायता गरेको छ । यी समुदायका स्वास्थ्यहरु दिगो र कष्ट इफेक्टिभ भएका छन् । जसमा स्वयंसेवीहरुको लगानी पनि परेको छ । यसमा उनीहरुलाइ धेरै आत्मसन्तुष्टी हुने बताउदछन् । जो पैसाले किनिदैन । यसले नेपालको पर्यटन प्रबद्र्धनलाइ पनि टेवा पुगेको छ ।
यी शिविरहरुमा २० हजार ४ सय ८६ जना स्त्रीरोग, दाँत, आँखा, तथा अन्य रोगका बिरामीहरुको उपचार र परामर्श सेवा प्रदान गरिएछ । यसमा १ हजार ९४ जनाको भिडियो एक्सरे, ७४ जनाको इसिजी, ४५ जनाको ब्लड ग्लुकोज परिक्षण निःशुल्क रुपमा गरिएको छ । ६ सय ६२ जना बिद्यार्थीहरुलाई यौन स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । यो कार्यक्रमको रोचक पक्ष के छभने ५ बर्षमा गरिएका शिविरहरुमा प्रति बिरामी ५६ देखि ९५ रुपैयाँ खर्च भएछ । करिव २८ हजार रुपैयाँले एउटा शिविर सम्पन्न भएछ । यसरी हेर्दा यस्तै शिविरहरु प्रति शिविर डेढ देखि २ लाख सम्म खर्च भएको पनि उदाहरण भेटिएका छन् । त्यस्तै ती स्वयंसेवकहरुले करिव २० लाख बराबरको आर्थिक सहायता प्रत्यक्ष संस्थालाई दिएछन् । बिभिन्न बिषयका छात्रबृत्ति २५ जना गरिव र जेहन्दार बिद्यार्थीहरुलाई ब्यबस्था गरेछन् । यन्त्र उपकरण आदिको सहयोग प्रदान गरेछन् । यसरी यो स्वास्थ्य सेवा कार्यक्रम ग्रामिण दुर बस्तीमा दिगो र आर्जन सहितको नमूना कार्यक्रमका रुपमा दर्ज हुन पुगेको छ । यो मोडलको कार्यक्रमले ग्रामिण बस्तीको रोगहरुको उत्खननमा धेरै सहयोग गर्दछ ।
बि.सं २०७६ र ७७ मा १५ बटा जति शिविरहरु स्थानीय सरकारहरुको आयोजनामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर भिआइए, प्याप स्मेयर प्रबिधीबाट पनि गरिएको छ । यो खोटांग जिल्लाको खोटेहांग गाउँपालिका समेतमा सन्चालन गरिएको थियो । यसमा हाम्रो तर्फबाट न्यूनतम खर्च मात्र भएका छन्, कुल ५ हजार भन्दा बढी स्त्रीरोग, आखा, दाँतका रोगीहरुको उपचार र परामर्श भएका थिए । पछिल्लो बर्ष रामेछाप नगरपालिकामा भिआइएबाट शंकास्पद पाठेघरको मुखको क्यान्सर हुन सक्ने महिलाहरुको क्रायो प्रबिधिबाट निःशुल्क उपचार पनि गरिएको छ ।
२. बिद्यालयहरुमा बिद्यार्थीहरुको दाँत रोगको परिक्षण र निःशुल्क उपचार समुदाय स्वास्थ्य सेवाको हाम्रो अर्को मोडल हो । यसको मुख्य उदेश्य बिद्यार्थीहरुलाई आफ्नो जीवनको पछि सम्म दाँतको हेरचाह गर्न सिकाउने र दात बिग्रन अघि नै जाँच गर्न जाने बानी पार्नु हो । दाँत दुख्नु भनेको दाँत मर्नु हो । यसको उद्धेश्य दुख्नु अघिनै ६÷६ महिनामा जाँच गराउन सिकाउने हो । स्वयंसेवी चिकित्सक, हाम्रा चिकित्सक र स्वास्थ्यकर्मीहरु बिद्यालयमा नै गएर हरेक बिद्यार्थीको दाँत जाँच गर्दछन् । जसलाई उपचार चाहिन्छ उसको उपचार गरिन्छ । यसबाट झण्डै ५ हजार बिद्यार्थीहरु लाभान्वित भएका छन् । सो रकम रोटरी स्वयंसेवी डेन्टिस जो यो कामका लागि संलग्न छन्, उनको रोटरी क्लवले अस्पताललाई बुझाउछन् र अस्पतालको डेण्टल बिभागको दिगोपनालाइ सहयोग हुन्छ ।
३. सामुदायिक स्वास्थ्यको अर्को नमूना कार्यक्रम बिद्यार्थीहरुको बाथ मुटुको रोगको छनोट, परामर्श र रेफरको कार्यक्रम हो । नेपालमा सानो उमेरमा बाथज्वरो भएर पछि बाथ मुटुको रोग हुने बिरामीहरुको धेरै संख्या छ । बिद्यालयमानै त्यसलाई पत्ता लगाएर यसलाइ रोकथाम गर्न सकिन्छ र पछि मुटुको भल्भको अपरेशन गर्न नपर्ने गरि जोगाउन सकिन्छ । स्वयंसेवीहरु बिद्यालयमा गएर सबै बिद्यार्थीहरुको बाथज्वरो सम्वन्धी इतिहास बुझ्छन्, सोध्छन् । परिक्षण गर्दछन् । शंकास्पद बिद्यार्थीहरुलाई अस्पतालमा पठाउछन् र पुन रगत, इसिजी मुटुको भिडियो एक्सरेबाट जाँच गरिन्छ । यो कार्यक्रममा जाँच पडतालको शुल्क कित अभिभावकले या पल्मोनरी हाइपरटेन्सन नेपाल या रोटरी क्लवहरुले ब्यबस्था गर्दछन् । यसले बिद्यार्थीहरुलाई जीवनदान दिन सक्दछ । यसबाट झण्डै २ हजार बिद्यार्थीहरु लाभान्वित भएका छन् ।
४. समुदायका ३० बर्ष माथीका र बृध्दबृध्दाहरुको रक्तचाप, रगतमा सुगरको मात्रा, पिसावमा प्रोटिन जाँच गरेर सम्भावित मृगौला, मुटुरोग, पत्ता लगाउन गाउँ–गाउँमा जागरणको अभियान र जाँच गरिन्छ ।
५. गाउँमा गएका बेला त्यहाँका बिद्यार्थीहरुलाई स्वास्थ्य शिविरहरुमा स्वयंसेवी भइ काम गर्न सिकाउने, स्वास्थ्यका कामहरुमा संलग्न गराउने गर्नाले उनीहरुमा स्वास्थ्य बिषय पिढ्ने उत्प्रेरणा जागृत हुने, स्वयंसेवा गर्ने बानी बस्ने हुन्छ । यस्तै किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, तथा साना साना नानीहरुलाई ब्यक्तिगत सररसफाइका कुराहरु सिकाएर पानीका फिल्टरहरु बितरण गरेर आफैले शुध्द पानी पिउने बानीको बिकास पनि गराइएको छ ।
६. गाउँमा छानिएका बिरामीहरु र अस्पतालमा भेटिएका बिशेषज्ञलाइ देखाउनु पर्ने बिरामीहरुका लागि समय समयमा बिशेषज्ञहरुको सेवा प्रदान गर्नु पर्ने आवश्यकता यो सामुदायिक स्वास्थ्य कार्यक्रमले दिएको छ । दाताहरुलाई ती ग्रामिण बस्तीका जनताहरुको लागि सामग्रीहरु बन्दोबस्त गर्न पाउँदा धेरै खुशी लाग्दछ, । उनीहरुले आफ्नो आत्म सन्तुष्टीका लागि अस्पतालमा यन्त्र उपकरणहरु उपलब्ध गराएर ती जनताहरुको सेवा भएको देख्दा उनीहरु खुशी हुन्छन् । यी यन्त्र उपकरणबाट जाँच गर्दा बिरामीहरुलाई न्यूनतम शुल्क लिइन्छ । देउराली जनता फर्माक्युटिकल्स कम्पनीले केही सहायता गर्दछ । जसले गर्दा यो कार्यक्रम स्वनिर्भर रुपमा संचालित छ ।
७. ग्रामिण विपन्न जनता तथा बिद्यार्थीहरुलाई प्रत्यक्ष सेव गर्न पाउँदा बिदेशी संस्थाका स्वयंसेवीहरु ज्यादै खुशी हुन्छन् । यसरी विपन्न जनताहरुलाई सहायता गर्ने हाम्रो लगाव देखेर उनीहरु हामीलाई सहायता गर्न लालायित हुन्छन् । अस्पतालमा सुबिधाहरु थप्नका लागि आफै अग्रसर हुन्छन् र आर्थिक सहयोग जुटाएर अस्पताललाई किन्न गाह्रो पर्ने महंगा सामग्रीहरु उपहार ल्याउँदछन् । बिदेशी र स्वदेशी रोटरीका साथीहरुले रोटरी फाउन्डेशनका सहायताहरु जुटाइदिन्छन् ।
८. बिदेशी मेडिकल बिद्यार्थीहरुका लागि हामीले गाउँमा काम गर्ने तरिका सपना जस्तो महसुस हुदोरहेछ । उनीहरुको देशमा भएको बिकास र यहाँ हामीले न्यूनतम खर्च र उपकरणबाट बिरामीहरुको उपचार देख्दा नयाँ कुरा सिकेको अनुभव गर्दछन् । उनीहरु र हाम्रो बिचमा तुलना गर्दा आकाश जमिनको फरक पाउँदछन् । यो उनीहरुको विश्वविद्यालयले सिकाउन नसकेको कुरा हाम्रो ग्रामिण स्वास्थ्य विश्वविद्यालयले सिकाउँदछ ।
यसरी बिगत दश वर्षको जर्मन रोटरी भोलन्टियर डाक्टर्स, रुरल एसिष्टेण्ट नेपाल,युके, हेक्सन नेपाल युके, ल लिटिल थिंग्स युके, तिलगंगा आँखा अस्पताल, रोटरी क्लव, काभ्रे बनेपा, धुलिखेल, स्मार्ट केटी युएस, स्विस बिकास नियोग आरएच डिपी, बिभिन्न संघसंस्थाहरु, स्थानीय सरकारहरु, क्लवहरु, आदिसँगको कार्य अनुभवबाट समुदाय स्वास्थ्यका कार्यक्रमहरुले निम्न सिकाइ र नतिजा दिएको छ ।
- समुदायको स्वास्थ्य सेवालाइ दिगो बनाएको छ ।
- स्वयंसेवकहरुले संस्थाका लागि केही आर्थिक सहयोग दिएका छन् र यो सम्भव छ ।
- अस्पताललाइ किन्न र धान्न गाह्रो पर्ने महंगा सामानहरु ब्यबस्था गरिदिएर ती सामग्रीहरुबाट प्राप्त आम्दानीले अस्पताललाई दिगोपनातिर लगेको छ ।
- ग्रामिण जनताहरु घर आँगनमा सम्भव भएसम्मको सुबिधा पाएर र मन्थलीमा बिशेषज्ञ सेवा पाएर हर्षित छन् ।
निष्कर्षमा, बहुसख्यक समुदायका जनताहरुको स्वास्थ्य अबस्था सुधार गर्न स्वदेशी, बिदेशी, स्थानीय श्रोतहरुको परिचालन गरेर समुदायको स्वास्थ्य सेवामा काम गर्दा कार्यक्रमको दिगोपनाका साथै प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको दिगोपनालाई पनि सहायता गरेको छ । यो एउटा नमूना र अनुकरणिय कार्यक्रम हुनसक्छ । यसमा अझ राज्यको समेत संलग्नता हुने हो भने सुनमा सुगन्ध थपिनेछ ।
लेखकः जनरल फिजिसियन र स्वास्थ्य सेवा ब्यबस्थापन बिशेषज्ञ हुनुहुन्छ ।
आफ्नो प्रतिकृया दिनुहोस्